राजाको सरकारको सय दिन पूरा
राजाको सरकारको सय दिन पूरा
२०६२ वैशाख २९ बिहीबार
त्यसो त ०४६ सालको आन्दोलनपछिका सबै सरकार पनि श्री ५ को सरकार नै थिए । तर अहिलेको सरकार शब्दमा मात्र हैन, अर्थमा पनि श्री ५ अर्थात् राजा कै सरकार हो । जनताको छोरोले पाउने सबैभन्दा उच्च पद अर्थात् प्रधानमन्त्री पद अहिले खाली छ । मन्त्रिपरिषद्को अध्यक्षता स्वयं राजाले गरेका छन् । राजाले सरकार चलाएको पनि हिजोको दिनबाट १०० दिन पूरा गरेछ । बाँकी
१०० दिनसम्मको अवधिलाई हनिमून पिरियड भन्ने चलन थियो पहिले । तर राजाको सरकारलाई के को हनिमून ! यो अवधिमा संकटकाल कायम रह्यो । पछिल्ला केही दिनमा संकटकाल हटाइएको घोषणा गरिए पनि व्यवहारमा त्यसो हुन सकेको छैन । वरिष्ठ केही नेताहरु रिहा भएका छन् । तर इमान्दार र दोस्रो पुस्ताका सयौं नेता अझै आस्थाका बन्दीका रुपमा जेलमै कोचिएका छन् । प्रेसमा बन्देज कायमै छ । पत्रपत्रिकामा सरकारी विज्ञापन कटौती भएका कारण सबै दैनिक पत्रिकाका आकार घटेका छन् । एफएमहरुमा समाचार प्रसारण गर्न दिइएको छैन । जसका कारण विज्ञापनको कमीले कयौं एफएम बन्द हुने स्थितिमा पुगेको छ । बीबीसी विश्व सेवाको समाचार समेत सेन्सर गर्ने गरिएको छ । भारतीय समाचारमूलक टेलिभिजन च्यानल अझै बन्द नै छन् । भारतले सैनिक सहायता सुचारु गरेपछि अब चाहिँ खुल्ला कि !
मोबाइल काठमाडौंमा खुला भए पनि बाहिर खुला भएको छैन । प्रीपेड मोबाइलको भविष्य अझै अन्यौलमा नै छ ।
यी दिनमा जे कुरा पनि पञ्चायत काल कै ठीक भने जस्तो गरी आइतबारे विदा खारेज गरियो । मन्त्रालयहरुको बाँडफाँड मिलाइयो । अञ्चलाधीशहरुको नियुक्ति गरियो । प्रजातान्त्रिक सरकारले हटाएका पर्वसम्बन्धी विदालाई कायम राखियो । रत्नपार्कको रातो घरमा प्रहरीले कब्जा जमायो । पूर्व प्रधानमन्त्री शेरबहादुर देउवालाई मध्यरातमा अपहरण शैलीमा गिरफ्तार गरियो ।
काठमाडौंमा भने शान्तिसुरक्षामा उल्लेखनीय प्रगति भएकै हो । यसबीच सरकारले भन्ने गरेको आतंककारीहरुले कुनै पनि आतंककारी गतिविधि गरेको सुन्नमा आएन । काठमाडौंलाई नै नेपाल सम्झनेहरुले देश कै शान्तिसुरक्षामा सुधार आएको समेत ठाने ।

