दरवारलाई ज्योतिषहरुको सल्लाह
दरवारलाई ज्योतिषहरुको सल्लाह
२०६२ जेठ ११ बुधबार
ज्योतिषको भविष्यवाणीमा तपाईँलाई कतिको विश्वास लाग्छ ? कतै तपाईं पनि बिहान सबेरै पत्रिका हातमा पर्ने बित्तिकै वा अनलाइनमा बस्ने बित्तिकै राशीफल हेर्ने त गर्नुहुन्न ? आजभोलि नेपालमा ज्योतिषहरुको चलखेल अलि बढेको छ । उनीहरुले राजदरबारलाई विभिन्न सुझाव दिन थालेका छन् । बाँकी
त्यसो त अस्तिमात्रै पनि रिपोर्टर्स क्लबमा ज्योतिषहरुको एउटा कार्यक्रम थियो । त्यसमा पनि नानाथरीका भविष्यवाणी गरिएका थिए । अहिले दरबारिया मामिलामा रुचि राख्ने ज्योतिषहरुले भने राजा ज्ञानेन्द्रका लागि क अक्षरको राजधानी नफाप्ने भविष्यवाणी गरेको बुझिएको छ । उनीहरुको तर्क पनि रमाइलै छ । ज्ञ अक्षरको नाम भएका राजालाई क अक्षरबाट सुरु हुने राजधानी ठीक हुँदैन । हुन पनि कहाँ ज्ञ कहाँ क । एउटा मेचीतिरको एउटा महाकालीतिरको अक्षर वर्णमालाको हिसाबले पनि । उनीहरुले कि राजधानी काठमाडौंको नाम फेर्नु पर्यो कि राजधानी नै अन्यत्र सार्नुपर्यो भनी दरबारलाई सल्लाह दिँदैछन् ।
आउनुस् तपाईँ हामी पनि सहयोग गरौं केही नयाँ नाम प्रस्ताव गरेर । सुरुवात चाहिँ मबाट नै होस् है त । काठमाडौंको सट्टा प्रस्तावित नामहरुः
ज्ञानेन्द्रनगर प्रके
ज्ञानेन्द्रनगर भनेको त बुझ्नुभयो होला यो प्रके भनेको के भनेर सोध्नुहोला । तपाईँलाई अमेरिकाको राजधानीको बारेमा थाहा छैन कि क्या हो ? त्यहाँको राजधानीमा वासिङटन भनेको त प्रथम राष्ट्रपति जर्ज वासिङटनको नामबाट लिइएको हो । अनि डीसी भनेको नि ? डीसी भनेको डेमोक्रेटिक सेन्टर रे । त्यसैले अब हाम्रो राजधानीको नाममा पनि प्रके अर्थात् प्रजातान्त्रिक केन्द्र जोडुँ भनेको । त्यसो भयो भने महाशक्ति भनाउँदा राष्ट्रहरुले तिमीहरु कहाँ प्रजातन्त्र छैन भनेर भन्न पनि नपाइने, हैन ?
पारसनगर
यसको व्याख्या तपाईँ आफै गर्नुस्
नारायणधारा
हालको दरबारको नाम नारायणहिटीमा हिटी भन्ने शब्दको नेपालभाषामा अर्थ हुन आउँछ धारा । त्यसैले यो नामलाई पूरै नेपालीकरण गरेर सहरको नाम राखौँ ।
नयाँ काठमाडौं
भारतको राजधानीलाई नयाँ दिल्ली भनी नामाकरण गरे जस्तै अनि हाम्रै काठमाडौंमा पनि बानेश्वरलाई नयाँ बानेश्वरका रुपमा नामाकरण गरिएको प्रमाण सामुन्ने नै छ । ज्ञ अक्षरलाई क नफाप्ने भए नयाँ थपेर न अक्षरसित जोडी मिलाइ दिउँ न ।
त्यसो त यो ज्योतिषहरुको के भर र ? धेरै भएको छैन अंगिरस न्यौपाने हो कि को हो नामको एक ज्योतिषले अस्ति नै पाँच दलको आन्दोलन भइरहँदा शेरबहादुर देउवा प्रधानमन्त्री हुन्छ भनी भविष्यवाणी गरेको । राजाले एक पटक अक्षम घोषणा गरिसकेकालाई पनि फेरि प्रधानमन्त्री बनाउँछन् र भनेर कसैले त्यो भविष्यवाणीको वास्ता गरेका थिएनन् । तर भयो त्यस्तै नै । देउवा नै प्रधानमन्त्री बने । त्यसपछि उनै ज्योतिषले यही अर्थात् देउवाको सरकारले नै चुनाव पनि गराउँछ, शान्तिवार्ता पनि गर्छ भनेर भविष्यवाणी गरेको समाचार गोरखापत्रको प्रथम पृष्ठमा हेर्न पाइएको थियो । सत्य तपाईँको सामु छ । देउवा खोरमा बसेर त्यो भविष्यवाणीलाई सम्झँदै होलान् ।
ज्ञ अक्षरको जोडी क अक्षरसित मिल्दैन भनेर भन्नु नै गलत लागिरहेको छ । हाम्री वडामहारानीको नाम के हो विचार गर्नुस् त । कोमल, हो अनि केबाट नाम उठेको छ त ? कसरी मिल्दैन भन्न सकेका ज्ञ र क अक्षरको जोडी ? अब त्यही ज्ञ र क को कारण प को उपद्रो भएको भन्ने हो भने त कुरा अर्कै हो । अबुई के भनेको मैले ? सेन्सर गरेर पढ्नुस् है !
त्यही ज्योतिष भनाउँदाहरुले भने राजालाई प अक्षरका प्रधानमन्त्रीले मात्र राजाको राम्रो सेवा गर्छ भनेर पनि सल्लाह दिइरहेका छन् रे । अब विचार गर्नुस् प अक्षरबाट उठेका नामहरुको
पशुपति शमशेर…..प्रचण्ड…….
यो कदेखि ज्ञसम्मको अक्षरको चिरफार गर्दागर्दा मलाई ट भएको छ । ट अर्थात् टेन्सन । अब म सुत्छु है त ।


ईन्टरनेट पा’छ। बहुत बुद्रुक बुद्रुक उफ्रिराछ, ना ना भाँति लेखिराछ। कुन दिन भरुवा बन्दुकको कुन्दाले भेट्छ यसले।
Comment by पाँचु — May 26, 2005 @ 6:29 pm
hello sathi tapain lekhdai janus hai tapain lai kunai problum hune chhaina 1st comment ganre sathi lai chetawani ho yo mero bhetnu hunechha khayal garnus hai ta ……..
Comment by sagar — May 26, 2005 @ 8:34 pm
sagar neta ji tapai vandai janus tapai le first lekhne sathi lai chetawani dinus ani tapailai chahi sabai nepali janta ko thulo chetawani paunus!!!!!!!!!!!!!!!
Comment by mahasagar — May 26, 2005 @ 11:19 pm