राजालाई खुला चुनौति
२०६२ जेठ १३ शुक्रबार

आन्दोलनरत सात दलहरुले आज सात अलग अलग ठाउँबाट जुलुस निकाली नयाँ बानेश्वरमा आमसभा गरे । जुलुस त मैले हेर्न पाइनँ तर आमसभा सुरु भइसकेपछि केही छिनको लागि म त्यहाँ पुगेको थिएँ । आमसभाका भाषण नसुनेको धेरै भइसकेको थियो । आजभोलिका आमसभामा प्रयोग हुने भाषा सुनेर मलाई अचम्म लाग्यो- कति खुला रुपमा वक्ताहरु राजालाई चुनौति दिँदैथिए । भन्न त केही बाँकी रहेको जस्तो लागेन मलाई । हत्यारा, चीसो ह्रदय भएका, तानाशाह ….. के के हो के के । एकछिनमात्रै त्यहाँ बस्दा मैले सुनेका शब्द हुन् यी । एक वक्ताले राजाको विरोधमा गरेको चर्को भाषण सुन्न यहाँ क्लिक गर्नुस् । बाँकी
३ बजेतिर म नयाँ बानेश्वर पुग्नुअघिसम्म मैले त्यहाँ मानव सागर नै उर्लेको होला भन्ने ठानेको थिएँ । तर सोचेभन्दा धेरै कममात्र मान्छे मैले त्यहाँ देखेँ । शायद प्रचण्ड गर्मीले पनि मान्छे कम भएका होलान् । हुन पनि आज यो वर्ष कै सबैभन्दा गर्मी दिन थियो । आज काठमाडौंको तापक्रम ३३ दशमलव २ डिग्री सेल्सियस रेकर्ड गरिएको थियो । गर्मीको त कुरै नगरौं । साँझ पाँच बजे पनि दिउँसोजस्तै गर्मी थियो । त्यस्तो गर्मीमा कसरी उनीहरुले जुलुस निकाले होलान् !
मलाई ४ बजे एक ठाउँमा पुग्नु थियो । बाटोको म्याद जोड्दा त्यहाँ धेरै बेर बस्न संभव थिएन । केही क्षणमात्र बस्दा पनि सुनिएका चर्का वाक्यले छक्कै पार्यो । यो राजा कसको रगत बगाएर राजा भएका हुन् बच्चाबच्चालाई थाहा छ बढी फूर्ति नलाए हुन्छ रे । अनि हामी अब अर्को आमसभा त्यही रत्नपार्क त्यही टुँडिखेलमा गर्छौँ र त्यहाँ नअटाए त्यसको उत्तरपट्टी भने कि दक्षिणपट्टी हो अर्थ चाहिँ दरबारको थियो, त्यहाँ गर्ने रे । अनि अरु पनि के के हो के के ।
सुरक्षाकर्मीहरुको खासै उपस्थिति थिएन । एक भ्यान प्रहरी टाढा चोकमा थियो । सेना एक जना पनि देखिएको थिएन । राजनीतिक पार्टीका झण्डा चाहिँ निकै देखिन्थे ।

