सम्बोधनका लागि राजा सोल्टीमा
२०६२ जेठ १३ शुक्रबार
आज हुने भनिएको महत्त्वपूर्ण सम्बोधनका लागि यी हरफ लेख्नु केही अगाडिमात्रै राजाको सोल्टी होटलतर्फ सवारी भएको छ । त्यसअघि मन्त्रीहरुको सवारी त्यसतर्फ भइरहेको थियो । हरेक मन्त्रीको गाडी अगाडि पछाडि सुरक्षाकर्मीहरुको गाडी थियो । थापाथलीबाट सोल्टीमोड कालिमाटीस्थित घरतर्फ लाग्दै गर्दा छ बजेतिर मैले कम्तीमा पनि पाँच मन्त्रीको गाडी सुरक्षाकर्मीको एस्कोर्टिङसहित लागेको देखेँ । मन्त्रीहरुको सवारीका लागि ट्राफिक व्यवस्था त्यति नमिलाइएको भए पनि राजाको सवारी हुनु धेरै अघिदेखि नै सवारी मार्गमा ट्राफिक ठप्प पारिएको थियो । आजभोलि राजा र राजपरिवारको सवारी मार्गमा त्यसो गर्ने चलन छ । साढे छ सात बजेदेखि नै कालिमाटीको मुख्य बाटोमा ट्राफिकमात्रै नियन्त्रण गरिएको हैन, बटुवालाई रोकिन र घरपसल अगाडि उभिन पनि सुरक्षाकर्मीहरुले रोक लगाएका थिए । यसरी रोक लगाएपछि यस क्षेत्रका बासिन्दा र बटुवाहरु ठूलै तमासा हुन लागेको झैं महसूस गरिरहेका थिए । सम्बोधनका बारेमा अपडेट केही घण्टापछि गर्ने प्रयास गर्नेछु ।

