यस्तो पो राजा त !
२०६२ जेठ १७ मंगलबार
राजाको कुरा भन्ने बित्तिकै अहिले नेपालमा राजावादी र राजाविरोधीका कान ठाडा हुन्छन् । तपाईँले पनि त्यही भएर यो ब्लग पढ्दै हुनुहुन्छ भने माफ गर्नुहोला, यो त बेग्लै सन्दर्भको कुरा पर्यो । यो त एक अफ्रिकी देश स्वाजिल्यान्डका राजाको रमाइलो जीवनको कुरा हो । भर्खरै उनले १२ अौं दुलही भित्र्याएका रहेछन् । अनि उनकी यी २५ वर्षीया नयाँ दुलहीले उनको २५ अौं सन्तान जन्माउँदै रहिछिन् । त्यतिमात्र हो र दुई जना युवती उनीसित बिहे गर्न तयार भएर बसेका छन्, साइट र राजाको मूडमात्रै कुरिरहेका । उता, गद्दी गुमाइसकेका राज्यबिनाका जर्मनीका एक राजा भने दुलही खोज्न पत्रपत्रिकामा विज्ञापन छपाउँदै रहेछन् । बाँकी
स्वाजिल्यान्डका ३७ वर्षीय राजा मस्वाती तृतीयले गएको बिहीबार मात्रै गोप्य रुपमा नोलिक्वा नटेन्टेसासित बिहे गरेका रहेछन् । पछि कुरा फैलियो र सरकारका प्रवक्ताले समेत यसको पुष्टि गरे ।
१८ वर्षको उमेरमा गद्दी सम्हालेका यी राजा केटीको मामलामा सार्है कमजोर छन् । गएको वर्षमात्रै त हो उनले एक उमेर नपुगेकी केटीलाई परिवारको स्वीकृति बेगर अपहरण गरी दुलही बनाएको भनी आफूविरूद्ध भएका प्रचारको कुनै वास्ता नगरी लन्डनमा भएको मिस वर्ल्ड सौन्दर्य प्रतियोगितामा आफ्नो देशको प्रतिनिधित्व गर्ने सुन्दरीलाई आफ्नी अर्की दुलही बनाउने प्रयास गरेका थिए ।
त्यसो हुँदाहुँदै पनि बाबुको तुलनामा उनको चर्तिकलालाई धेरै कम मान्न सकिन्छ । उनका बुबा राजा सोबुजाले आफ्नो ६० वर्षको शासनकालमा १०० भन्दा बढीलाई स्वास्नी बनाएका थिए ।
त्यहाँको परम्परा अनुसार राजाले जतिवटालाई बिहे गरे पनि हुन्छ ।
सामान्यतया रिड डान्स पार्टीमा भर्खरका केटीहरूले अर्धनग्न अवस्थामा राजाको अगाडि नृत्य गर्ने पारम्परिक समारोहमा राजाले आफ्ना लागि केटी छान्ने गर्छन् ।
त्यसरी छानिएका केटी पछि आफ्नो लागि अनुपयुक्त भएको देखियो भने उनले गाउँका मुखिया, बूढापाका वा राजपरिवार कै अन्य सदस्यलाई उपहारस्वरुप दिनसक्छन् ।
केही अघिमात्रै उनले आफूलाई मन पर्न छाडिसकेको एक दुलही आफ्ना ६० वर्षका दाजुलाई उपहारस्वरूप भिडाएका थिए ।
यसअघि आफ्नी १७ वर्षीया स्कुलमा अध्ययन गरिरहेकी छोरी जेना महालाग्नुलाई आफ्नो अनुमति बेगर राजाले दुलही बनाउन अपहरण गरेको भनी आमाचाहिँले मुद्दा दायर गरेकी थिइन् । तर अदालतले राजालाई १८ वर्षमुनिका केटी बिहे गर्न नपाइने आफनै नियम तोडे वापत एउटा गाई जरिवाना गर्ने बाहेक अरू कारबाही गर्न सकेन । जेना आफैले आफू राजासँग बस्न चाहेका भनी अदालतमा बताएपछि अदालतले अरू गर्न पनि के सक्थ्यो र ।
राजाले केटीहरूलाई ट्राउजर लगाउन र केटाहरूसँग हात मिलाउनसमेत प्रतिबन्ध लगाएका छन् । अनि यो देशमा एड्सको महामारी छ । गरिबी व्याप्त छ । देश गरिब भए पनि राजा भने धनी छन् ।
गएको महिना उनले भव्य जन्मदिनको पार्टी दिएका थिए । उनले भर्खरै करोडौं डलर पर्ने महँगा कार आफूलाई, आफ्नी पत्नीहरुलाई र आफ्नो पत्नी बन्न ठीक परेका दुई युवतीलाई किनेका थिए ।
उता जर्मनीको साक्सोनीका युवराज रुएडिगेरको व्यथा भने अर्कै छ । ५१ वर्षका यी युवराजकी आफ्नै जंगलमा ३० बेडरुम भएको दरबार छ तर स्वास्नी छैनन् । भएकी स्वास्नीले सम्बन्ध विच्छेद गरिन् । अब उनी २५ देखि ५० वर्षसम्मकी युवती खोज्दै पत्रपत्रिकामा विज्ञापन छपाउँदैछन् । साक्सोनी अधिराज्यमा ८ सय २९ वर्षसम्म राज्य गरेका थिए उनका पूर्खाहरुले । स्वास्नीले हरेक महिना २५ सय युरो पकेट खर्च पनि पाउने छिन् रे । तपाईँमध्ये कोही इच्छुक हुनुहुन्छ कि ? हुनुहुन्छ भने यो विचार त्यागिदिनुस् । उनले विज्ञापनमा भनेका छन् मलाई राजपरिवार कै सदस्य चाहिन्छ ।


त्यसको ला… काटेर त्यसैको देशमा भोज खान दिनुपर्छ । त्यस्तो राजाको ला….नभएकै राम्रो ।
Comment by dharti ko booj — June 5, 2005 @ 1:05 pm