फेरि अनिश्चितकालीन शैक्षिक हड्ताल रे
२०६२ जेठ १७ बुधबार
विद्यार्थीहरुले फेरि अब लामै विदा पाउने भएका छन् । किनभने माअोवादी भ्रातृ संगठन अखिल नेपाल स्वत्नत्र विद्यार्थी युनियन (क्रान्तिकारी) ले यही जेठ २४ अर्थात् अर्को मंगलबारदेखि अनिश्चितकाली शैक्षिक हड्ताल थाल्ने घोषणा गरेको छ । शिक्षा क्षेत्रलाई राजनीतिक द्वन्द्वमा फँसाउन हुन्न भनेर जति कराए पनि युध्दरत दुवै पक्षले कानमा तेल लगाएर बसेका छन् । बिचरा स्कुलमा पढ्ने विद्यार्थीहरुलाई हेर्नुस् त, उसलाई कति दूरगामी असर पर्छ यसले । विद्रोही पक्ष अनिश्चितकाली हड्ताल गर्छन्, सरकार पक्ष राष्ट्रवादी शिक्षा भन्दै राजपरिवारका तस्वीर पाठ्यपुस्तकमा राख्नेदेखि लिएर बहुदलीय व्यवस्थाको गुण गाइएका पाठलाई हटाउने निर्देशन दिन्छन् । दुई साँढेको जुधाइमा पर्ने त निर्धो जनतामात्रै । हुनेखानेहरु त विदेशमा पढ्न जान्छन्, तर अरुको भविष्य ?
अनेरास्ववियु क्रान्तिकारीले हिजोको मिति राखी पठाएको ईमेल वक्तव्यमा उसकै शब्दमा शाही कूका विरुध्द यो अनिश्चितकालीन तीन स शैक्षिक हड्तालको आयोजना गरिएको हो भनिएको छ । तीन वटा स भनेको चाहिँ सदरमुकाम, सहर र सडक रे । भन्नलाई तीन स भने पनि यसले असर चाहिँ थुप्रै स लाई पार्ने देखिएको छ - सरकार, सेना, समग्र शिक्षा क्षेत्र………

