पत्रकारहरुको जुलुशमा प्रहरी हस्तक्षेप
अपडेटः गिरफ्तार पत्रकारहरुलाई रातभर खोरमा थुनी आज बिहीबार बिहान रिहा गरिएको छ ।
२०६२ जेठ २५ बुधबार
प्रेस स्वतन्त्रताको पक्षमा शान्तिपूर्ण प्रदर्शन गर्न खोज्दा प्रहरीले हस्तक्षेप गरी पचास भन्दा धेरै पत्रकारहरु गिरफ्तार गरेकोमा नेपाल पत्रकार महासंघ सहितका विभिन्न संस्थाहरूले सरकारको विरोध गरेका छन्। भृकुटी मण्डपबाट गिरफ्तार गरी नजिकैको महेन्द्र पुलिस क्लबमा थुनिएका पत्रकारहरुलाई वुधवार राति सम्म पनि रिहा गरिएको छैन। भृकुटी मण्डपको चौरमा भेला भएका संचारकर्मीहरू प्रदर्शनका लागि विभिन्न प्लेकार्ड सहित जुलुशमा निस्कन खोजे पछि प्रहरीले भृकुटी मण्डपको मूलगेटमा ताल्चा लगाएर रोकेको थियो। संचारकर्मीहरूर्लाई गेट भित्रै थुनेर तिनले बोकेका प्रेस स्वतन्त्रताको पक्षमा नाराहरू लेखिएका ब्यानर र प्लेकार्डहरू सादा पोशाकका सुरक्षाकर्मीले खोस्न थालेपछि स्थिति केहीबेर तनावपूण बनेको थियो। संचारकरर्मी र प्रहरीविच भृकुटी मण्डपको मूलढोकामा केहिबेर तानातान भएपछि प्रहरीले महासंघका सभापति विष्णु निष्ठूरी र अन्य पदाधिकारीहरू र पत्रकारहरुलाई गिरफ्तार गरेको थियो। प्रहरीले गिरफ्तार गरेका पत्रकारहरुमा पचास पुरुष पत्रकार र एक महिला पत्रकार छन्। गिरफ्तार गर्ने क्रममा महासंघको कोषाध्यक्ष हेमन्त काफ्ले, सदस्य पूर्ण बस्नेत सहित दिपक रिजाल, तिलक कोइराला र पशुपति घिमिरे साधारण घाइते भएका छन्। भृकुटी मण्डपको चारैतिरको ढोकामा प्रहरी तैनाथ गरेर पत्रकार थुनिएपछि बांकी पत्रकारहरूले भृकुटीमण्डप भित्रै सभाको आयोजना गरी संचारकर्मीहरुको गिरफ्तारीकोे विरोध गरेका थिए । सभामा बक्ताहरूले गिरफ्तार संचारकर्मीहरुलाई रिहा नगरे थप संर्घष्ाका कार्यक्रमहरु घोषणा गरिने बताए । सभामा मानवअधिकारकर्मी र कानून व्यवसायीहरूले पनि पत्रकारहरूको आन्दोलनमा ऐक्यबद्धता जनाएका थिए। माघ १९ को शाही कदमपछि सरकारले प्रेसमाथि दमन गरिरहेको तथा प्रेस नियन्त्रण गर्ने थप कानून संशोधन गर्न लागेको भन्दै पत्रकार महासंघले विभिन्न आन्दोलन गर्दै आएको छ। सरकारले निषेधित क्षेत्रमा प्रदर्शन गर्न खोजेकाले पत्रकारहरूलाई गिरफ्तार गरिएको जनाएको छ।

