सरकारी अधिकारीको के भर !
२०६२ जेठ ३१ मंगलबार
त्यसो त सरकारी अधिकारीहरुले झुठो बोल्न नहुने हो, कुरा लुकाउन नहुने हो। तर यो त नेपाल पर्यो, अजब नेपाल गजब नेपाल। कुरा के भने अस्ति भर्खरैमात्र ठूलो तामझामका साथ पत्रकार सम्मेलन नै गरेर परीक्षा नियन्त्रक वीरेन्द्रकुमार सिंहले उत्तरपुस्तिकाहरु हराइरहेका हुनाले दुई साता नभई नतिजा प्रकाशित हुननसक्ने घोषणा गर्नुभएको थियो। तर दुई दिन पनि नबित्दै नतिजा अकस्मात सार्वजनिक भइहाल्यो। किन रे त्यसो गरेको भनेर सोध्दा पत्रकारहरुबाट बच्न त्यसो भनेको रे। क्या अचम्म बा, जनचासोको कुरालाई त्यसरी गलत सूचना दिएर दिग्भ्रमित पार्न पाइन्छ ? खै नैतिकता सरकारी अधिकारीको ? अब नेपालमा नैतिकताको कुरा खोज्ने कसले । चुपचाप बस्नु नै कल्याण। बाई दि वे सिंह ज्यु, तपाईँले जति कुरा लुकाउन खोजे पनि आखिर पत्रकारहरुले नतिजा प्रकाशित हुन लागेको थाहा पाइहाले क्यार । पत्रकारहरुमात्र किन हिजो त सर्वसाधारणले पनि थाहा पाइसकेका थिए। त्यसैले अर्कोपालादेखि यसरी झुठो बोलेर दुनियाँसामु बेइज्जत हुने काम नगर्नुस्, यसैमा भलाइ छ।

