नेपाली माअोवादीले भारतमा पनि आक्रमण गरे
२०६२ असार १० शुक्रबार
नेपालका माअोवादीहरुले अब भारतमा पनि आक्रमण गर्न थालेका छन्। भारतको एक सीमावर्ती गाउँमा नेपाल र भारतका माअोवादीहरुले संयुक्त रुपमा नियोजित आक्रमण गरेको दाबी भारतीय प्रहरीले आज गरेको छ। बाँकी
समाचार एजेन्सी एपीलाई उद्धृत गर्दै भारतीय अनलाइन समाचारपत्र हिन्दूले जनाए अनुसार, बिहीबार रातिबाट सुरु भएको आक्रमण आज बिहानमात्र टुंगिएको थियो र यस क्रममा भएको दोहोरो भिडन्तमा २१ जनाको ज्यान गएको छ।
करिब ४ सय माअोवादीले भारतको विहार राज्यस्थित मधुबन गाउँका एक प्रहरी चौकी र दुई राज्य सञ्चालित बैंकहरुमा एक साथ आक्रमण गरेका थिए।
माअोवादीहरुले स्टेट बैंक अफ इन्डियाबाट तीन लाख र केन्द्रीय बैंकको स्थानीय शाखाबाट आठ लाख लुटेका छन्। उनीहरुले राष्ट्रिय जनता दलका लोकसभा सदस्य सेवहर सिताराम सिंहको घरमा बम प्रहार गरी फायरिङसमेत गरेका थिए।
विहार प्रहरी प्रमुख आशिष रञ्जन सिन्हाले आक्रमणमा पहिलो पटक नेपाल र भारतका माअोवादीहरुको संलग्नता रहेको दाबी गर्नुभयो।
अकस्मात् आक्रमण गर्ने नेपाली माअोवादीको शैली यो आक्रमणमा प्रयोग भएको दाबी भारतीय प्रहरीको छ।
सिन्हाले भन्नुभयो नेपाली माअोवादी यो कारबाहीमा संलग्न भएको पुष्टि भएको छ। यस्तो पहिलो पटक भएको हो। सिन्हाले करिब एक सय नेपाली माअोवादी आक्रमणमा संलग्न भएको दाबी गरे।
माअोवादी अध्यक्ष प्रचण्डले नेपाल र भारतका माअोवादीहरु नजिकका सम्पर्कमा भए पनि संयुक्त कारबाहीमा भाग हालसम्म नलिएको बताउँदै आएका छन्।
मर्नेहरुमा १७ माअोवादी, दुई प्रहरी, एक अर्धसैनिक जवान र एक बैंकका सुरक्षा गार्ड रहेको बताइएको छ।
त्यसो त यसअघि पनि नेपालका माअोवादीहरुले भारतमा आएर आक्रमण गरेको दाबी भारतीय प्रहरीले गरेका थिए। तर प्रमाणै फेला परेको भन्दै त्यस्तो दाबी गरिएको चाहिँ यो पहिलो अवसर हो।

