अन्तर्राष्ट्रिय सञ्चारमा पुनः नेपालको चर्चा
२०६२ असार १३, सोमबार
अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुमा आज पुनः एकपटक नेपालको चर्चा छाएको छ। तर यो गौरव गर्न लायक कुरा भने हैन। राम्रो कुराको हैन, नराम्रै कुराको चर्चा भएको हो। सीएनएनको टेलिटेक्स्टमा आज नेपालकै समाचारलाई प्रमुख समाचार बनाइएको छ साँझसम्म पनि। माघ १९ को कदमपछि नेपालको समाचार प्रमुख समाचार बनाइएको यो नै पहिलो अवसर हो। बाँकी

समाचार थियो ९० स्कुले विद्यार्थीलाई माअोवादीले अपहरण गरेको भनी सेनाले जारी गरेको वक्तवयको बारेमा। यो समाचारलाई सीएनएनले अमेरिकी रक्षामन्त्री डोनल्ड रम्सफेल्डको इराकबारेको प्रतिक्रिया र जर्मन चान्सलर स्रोएडरको अमेरिका भ्रमणलाई भन्दा महत्त्व दिएर राखिएको थियो। एसियाका समाचार दिइने अर्को पेजमा त शेरबहादुर देउवालाई शाही आयोगले भ्रष्टाचारको आरोपबाट सफाइ दिएको समाचारसमेत गरी दुई वटा नेपालको समाचार राखिएको थियो।

सीएनएनको टेलिटेक्स्ट सेवाको म नियमित पाठक / दर्शक हुँ। तपाईँहरु मध्ये कतिपयलाई थाहा होला टेलिटेक्स्ट के हो भनी। तर अधिकांशलाई थाहा नहुन सक्छ। टेलिटेक्स्ट टेलिभिजन च्यानलबाट श्रव्य, दृश्यसहित टेक्स्ट अर्थात् अक्षर पनि प्रसारण गर्नु हो। इन्टरनेटमा समाचार शीर्षक हेर्दै कुनै समाचारको बारेमा विस्तृत विवरण थाहा पाउन मन लागे त्यहाँ क्लिक गरे जस्तै यसमा समाचार शीर्षकसँगै नम्बर दिइएको हुन्छ। अनि कुन समाचारको बारेमा बढी जानकारी थाहा पाउन मन लाग्यो, त्यो समाचारको नम्बर रिमोट कन्ट्रोलबाट थिच्नुपर्छ। अनि समाचार टेलिभिजन स्क्रिनमा देखिन्छ।
बजार भाउभन्दा महँगो पर्ने गरी किस्ताबन्दीमा किनेको (अहिले पो 0% ब्याजमा पाइन्छ!) मेरो फिलिप्सको २१ इञ्चे फ्ल्याट टिभीमा यो सुविधा छ भन्ने थाहा पाएर पनि कसरी चलाउने भन्ने बारेमा चाहिँ मलाई थाहा थिएन। एकपटक यत्तिकै रिमोट चलाउँदा चलाउँदै अकस्मात् टेलिटेक्स्टको बारेमा थाहा पाएको थिएँ। किनेको झण्डै ३-४ महिनापछि मात्रै मलाई यो चलाउन आएको थियो। केही चाइनिज टिभीमा पनि यो सुविधा उपलब्ध छ क्यारे।
त्यतिबेलादेखि म टेलिटेक्स्टको नियमित पाठक बनेको हुँ। बिहान उठ्नेबित्तिकै अनि अफिसबाट फर्केपछि र सुत्नुअघि म अक्सर सीएनएनको टेलिटेक्स्ट हेर्नेगर्छु। हाल काठमाडौंमा ६० वटाभन्दा बढी टेलिभिजन च्यानल केबुल टेलिभिजनबाट आउने भए पनि टेलिटेकस्टको सुविधा भने सीएनएनमा मात्रै छ।
टेलिटेक्स्टमा मेन वा इन्डेक्स पेज हेर्नुपर्दा १०० अंक थिचिन्छ। अरु फंकसनहरु रिमोट अनुसार फरकफरक हुनसक्छ। यसमा विज्ञापनदेखि विश्वभरका समय आदि हेर्नमिल्छ।
कुरा त कहाँ पो पुगेछ। जे भए पनि टेलिटेक्स्टको बारेमा थाहा नभएकाहरुलाई भने यो जानकारीले फाइदा नै पुग्ने आशा मैले लिएको छु। तपाईँको टेलिभिजनमा पनि यो सुविधा छ कि हेरिहाल्नुस्। छ भने रिमोट चलाउन थाल्नुस् वा टिभीको इन्स्ट्रक्सन म्यानुअल पढ्नुस्।

