अनौठो बालकः टाउको मानवको शरीर सर्पको
२०६२ असार ३०, बिहीबार
अनौठो बालकः टाउको मानवको शरीर सर्पको
- एउटा अनौठो बालक जन्मिएछ।
- जन्मनेबित्तिकै बोल्न थालेछ।
- उसको टाउको मानवको र शरीर सर्पको रहेछ।
- गाउँलेहरुले त्यसलाई मार्न खोजेछन् तर उसले मलाई नमार म कसैलाई हानी गर्दिनँ। बरु मातापितालाई धनी बनाएर जान्छु भनेछन्। छ महिनामा म आफै मर्छु भनेछन्। म रानीपोखरीमा गएर बस्छु भनेछन्।
- युवराज पारसले उनलाई गएर भेटिसकेछन् तर उनले भने राजालाई भेटने माग गरिरहेका रहेछन्………………..
तपाईँहरुलाई थाहै होला, नेपाललाई हल्लैहल्लाको देश भनेर चिनिन्छ। हल्लाका कारण यहाँ ऋतिक रोशन कान्ड मच्चिन्छ। हल्लैका कारण राजपरिवारलाई दरबारबाट बाहिर आएर जनतालाई “दर्शन” दिन बाध्य बनाइन्छ। महिलाले पाइन्ट लगाउन नपाउनेदेखि लिएर पुरुषले लामो कपाल पाल्न नपाउनेसम्मका हल्ला फैलिन्छ यहाँ। यस्तै हल्लाका क्रममा हाल काठमाडौंमा तीब्र रुपमा फैलिरहेको हल्लाका केही अंश हुन् माथिका वाक्य। बाँकी
केही हप्ताअघि नै मैले पहिलो पटक यो हल्ला सुनेको थिएँ र मलाई ११० प्रतिशत विश्वास लागेको थिएन कुरा सुन्दा नै। अस्ति एकजना मित्रले फोनमा मलाई यसबारे सोधे के हो भनेर। पत्रकारहरुलाई यस्तो कुरा थाहा होला भनेर मबाट बढी जानकारीको अपेक्षा गरेका रहेछन् उनले। धेरैजनाबाट उनले यस्तो हल्ला सुनिसके रे।
उनीमात्र हैन, अरु धेरैको मुखबाट पनि मैले यस्तो हल्ला सुनिसकेको छु। कसले कुन उद्देश्यका लागि यस्तो हल्ला फैलाएको हो, कसैले बुझ्न सकेका छैनन्। तर कुरा प्रष्ट छ, यो हल्ला नै हो।
हल्ला फैलाउनेहरुका हल्लाका आ-आफ्नै भर्सन छन्। कोही के भन्छन् कोही के। तर कसैले पनि आफैले भेटेको देखेको हो भन्न सक्दैनन्। जसले यो हल्ला आधिकारिक जस्तो गरेर सुनाउँछन्, उसले आफ्नो कोही फलानाले साँच्चिकै भेटको रे भनेर गफ सुनाउँछन्।
हल्ला फैलाउने जो भए पनि अहिले आफ्नो हल्ला लोकप्रिय भएको देखेर मख्ख पर्दै होला। हुनत यस्ता हल्लालाई प्राथमिकता दिएर ब्लगमा नराख्नु पर्ने हो। तर देशविदेशमा रहेका नेपालीहरुले पनि काठमाडौँमा २१ अौं शताब्दीमा फैलिएको बकम्फुसे हल्लाबाट मनोरञ्जन लिन सकून् भनेर यति लेखेको हुँ।


यो कुरा साचो हो मैले नै उक्त अद्भूत वालकलाई देखेको हो । उक्त वालक नुवाकोटको ककनीमा जन्मिएको हो ।
Comment by Maila Thapa — July 15, 2005 @ 6:48 pm
हो यो कुरा साँचो हो । मैंले पनि हजार रुपैंया तिरेर हेरेको । अहिले उसलाई सिंहदरबारमा राखेको छ ।
Comment by Shamita thapa — July 19, 2005 @ 6:18 pm