दल र विद्यार्थीको कार्यक्रममा प्रहरी हस्तक्षेप
दर्जनौं घाइते, आक्रोशित जमातद्वारा गाडी तोडफोड
२०६२ साउन ४, मंगलबार
आज राजधानीमा दल र विद्यार्थीहरुको कार्यक्रममा सुरक्षाकर्मीहरुले हस्तक्षेप गर्दा दर्जनौं घाइते भएका छन्। हस्तक्षेपको शुरुवात आज बिहान आठ बजे नयाँ बानेश्वरबाट भएको थियो। गत साता राष्ट्रवादी शिक्षाको विरोधमा राजपरिवारको तस्वीर छापिएका पाठ्यपुस्तक जलाउने क्रममा गिरफ्तार भएका विद्यार्थीहरुलाई रिहा गर्नुपर्ने माग गर्दै आज आठ विद्यार्थी संगठनले नयाँ बानेश्वरमा चक्काजाम गर्ने प्रयास गरेका थिए। तर प्रहरीले हस्तक्षेप गरी लाठीचार्ज गर्दा दर्जनौं घाइते भएका थिए। घाइते हुनेमा नेविसंघका वासु कोइराला, अखिलका रामकुमारी झाँक्री आदि रहेका छन्। सुरक्षाकर्मीले दोस्रो पटक दलहरुको विघटित प्रतिनिधिसभाका सदस्यहरुको बैठक बस्ने कार्यक्रममा हस्तक्षेप गरेका थिए। बाँकी
बैठक नेपाल राजकीय प्रज्ञा प्रतिष्ठान, कमलादीमा दिउँसो एक बजे बस्ने कार्यक्रम तय गरिएको थियो। तर प्रशासनले बिहानैदेखि त्यहाँ कार्यक्रम गर्न नदिने भन्दै सुरक्षा कडा पारेको थियो। दलका कार्यकर्ताहरुले जबर्जस्ती भएपनि कार्यक्रम त्यहीँ गरेर छाड्ने जिद्दी गरेपछि सुरक्षाकर्मीले हस्तक्षेप गरेको थियो। यस क्रममा लाठीचार्ज हुँदा कार्यक्रममा भाग लिन आएका राजनीतिक पार्टीका नेता तथा कार्यकर्ता घाइते भएका छन्। उनीहरुलाई अस्पताल दौडाउनु परेको थियो। हस्तक्षेप गर्न प्रहरीलाई सेनाले पनि सघाएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। प्रहरी हस्तक्षेपपछि आक्रोशित कार्यकर्ताहरुले त्यहाँ पार्क गरिराखेका गाडीहरुमा तोडफोडसमेत गरेका थिए। तनाव बढेपछि त्यसक्षेत्रका पसलहरु बन्द भएका थिए भने सुरक्षाकर्मीले बाटो छेकी त्यस क्षेत्रलाई आफ्नो नियन्त्रणमा लिएका थिए।
यसैबीच आन्दोलनरत सात दलले मंगलबार नेपाल राजकीय प्रज्ञा प्रतिष्ठानमा डाकेको विघटित प्रतिनिधि सभाका सदस्यहरुको बैठक ११ गतेसम्मका लागि स्थगित भएको जनाएका छन्। सात दलले प्रहरी हस्तक्षेपका सम्बन्धमा भोलि पत्रकार सम्मेलनमार्फत् जानकारी दिने भएका छन्। विघटित प्रतिनिधि सभाको बैठकले अध्यादेशबाट ल्याइएको बजेट मान्य नहुने प्रस्ताव पास गर्ने बताइएको थियो। यसअघि पाटनको मंगलबजारमा पनि गत महना विघटित संसदको खुला बैठक बसेको थियो।

