कालिकोटमा भयो के ?
सही खबर कसरी थाहा पाउने?
२०६२ साउन २४ सोमबार
कालिकोटको पिलीमा हिजो साँझदेखि आज बिहान अबेरसम्म पनि माअोवादी र सुरक्षाकर्मीबीच भीषण भिडन्त भइरहेको खबर आएको थियो। तर सञ्चार जगतमा रहेको अघोषित नियन्त्रणका कारण वास्तवमा भएको के हो भनेर सर्वसाधारणले बुझ्न पाएका छैनन्। यति चाहिँ सही हो, त्यहाँ ठूलै भिडन्त भएको हो। दुवै पक्षमा ठूलै हताहति भएको छ। तर युध्दको बेला स्वतन्त्र समाचार पाउन गार्हो हुन्छ। दुवै पक्षले आफ्नो पक्षमा कम र शत्रु पक्षमा बढी हताहति भएको देखाउन खोज्छ। यस्तो बेलामा वास्तविक कुरा थाहा पाउन असंभव जस्तै नै हुन्छ। टेलिभिजनमा सेनाको वक्तव्य भनी प्रसारित समाचारमा एक जनाको मात्र मृत्यु भनी बताइएको छ। तर अर्को पक्षको वक्तव्यमा भने आफ्नो पक्षमा मात्रै २६ जनाको मृत्यु भएको बताइएको छ। उसले आफ्नो छ गुणा बढी (१५९ जना)विरोधी पक्षलाई मारेको र ५० भन्दा बढीलाई युध्दबन्दी बनाएको दाबी गरेको छ। साथमा थुप्रै अत्याधुनिक हतियार पनि कब्जा गरिएको दाबी गरिएको छ। हामी त अन्यौलमा छौं कुन सही हो कुन गलत। कसले बढाइचढाइ तथ्याङ्क प्रस्तुत गरेको हो वा कसले सूचना लुकाएको हो। सही कुरा शायद कहिले पनि थाहा हुनेछैन। किनभने त्यस स्थानमा स्वतन्त्र रुपमा कोही पत्रकार थिएनन्। हुनत अब मानवाधिकारवादीहरुको टोली त्यहाँ पुग्ला तर दुई पक्षको बन्दूकको मारमा पिल्सिएकाहरुले खै के गरी पो साँचो कुरा बताउलान् र।
संभव भए दुवै पक्षको वक्तव्य केही बेरमा अपडेट गर्ने प्रयास गर्नेछु।
शाही नेपाली सेनाको वक्तव्यका लागि यहाँ क्लिक गर्नुहोला।
माअोवादीको वक्तव्यको लागि यहाँ क्लिक गर्नुहोला।
अपडेटः आज प्रकाशित कान्तिपुरका अनुसार माओवादीको उक्त दाबी झूटो भएको बताउँदै सैनिक प्रवक्ता दीपक गुरुङले दुई सयभन्दा बढी सैनिक रहेकामा ७२ जना सम्पर्कमा आइसकेको जानकारी दिनुभयो। (साउन २५)
अपडेटः प्राप्त पछिल्लो जानकारी अनुसार हराइरहेका मध्ये ९२ जना सैनिक सम्पर्कमा आएका छन् र २६ जनालाई उपचारका लागि काठमाडौं ल्याइएको छ। १ सय २९ जना भने अझै सम्पर्कमा छैनन्। त्यहाँ २२१ सैनिक रहेको बताइएको छ। सेनाले अहिले पिलीलाई पूरै आफ्नो नियन्त्रणमा लिई कारबाही अगाडि बढाइरहेको छ। भिडन्तमा सर्वसाधारण पनि ठूलो संख्यामा हताहत भएको अनुमान गरिए पनि संख्या थाहा हुन सकेको छैन। (साउन २५ 1209 pm NST)
अपडेटः सेनाले अहिले केही बेरअघि जारी गरेको विज्ञप्तिमा हराइरहेका ८० जवान सम्पर्कमा आएको बताइएको छ। हाल थप फौज उक्त पिलीस्थित बेसमा पुगिसकेको र घटनास्थल इलाकामा सर्चको कारवाही जारी रहेको विज्ञप्तिमा उल्लेख छ । (साउन २५ 215 pm NST)
अपडेटःसेनाले ४० सैनिक मारिएको र १११ सैनिक सम्पर्कमा आएको पुष्टि गरेको छ। (साउन २५ 1845 NST)

