५२ शाही सैनिक हाम्रो कब्जामा छः प्रचण्ड
जेनेभा महासन्धिअनुरुप व्यवहार गर्न राष्ट्रिय मानव अधिकार आयोगको आग्रह
२०६२ साउन २६, बुधबार
अपडेटः माअोवादीको कब्जामा रहेका सैनिकको संख्या ६० पुगेको छ। माअोवादी सेनाको पश्चिम डिभिजनका प्रवक्ता सुदर्शनले आज सञ्चारमाध्यमहरुलाई पठाएको विज्ञप्तिमा थप आठ सैनिकलाई कब्जामा लिइएको जानकारी गराइएको हो। यसैबीच कब्जामा लिइसकेका सैनिकहरुलाई अमानवीय तवरले हत्या गरिएको भनी सेनाले लगाएको आरोपको छानबिन गर्न सबै शवको फरेन्सिक परीक्षण गर्न राष्ट्रसंघीय मानवाधिकार उच्चायुक्त इयान मार्टिनले आग्रह गर्नुभएको छ। यदि माअोवादीहरुले त्यसो गरेको हो भने यो अन्तर्राष्ट्रिय कानुनको गम्भीर उल्लंघन हुने उहाँले बताउनुभएको छ। यसैबीच आजै प्रधानसेनापति प्यारजंग थापाले घटनास्थल पिलीको स्थलगत भ्रमण गर्नुभएको छ। (साउन २७)
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष प्रचण्डले आज एक प्रेस विज्ञप्ति जारी गर्दै कालिकोटको पिलीमा गरिएको आक्रमणपछि ५२ जना शाही सैनिकलाई आफूहरुले नियन्त्रणमा राखेको दाबी गर्नुभएको छ। वक्तव्यमा गत आइतबार भएको भिडन्तमा सैनिकहरुलाई नियन्त्रणमा लिइसकेपछि गोली हानी मारिएको भन्ने सेनाको आरोपको प्रतिवाद गर्दै नियन्त्रणमा लिइसकेपछि मार्ने भए ५२ सैनिकलाई हामीले लिएर हिँड्ने थिएनौं भनी भनिएको छ। (more…)

