भारतीय हतियारका कारण सेनाले क्षति भोग्नुपरेको
२०६२ साउन २८ शुक्रबार
कुरा सुरु गर्नु भन्दा पहिले केही भनाई जस्ताको तस्तै राख्ने अनुमति चाहन्छु
“माअोवादीविरुध्दको कारबाहीमा शाही नेपाली सेना प्रभावकारी हुन सकेको छैन। माअोवादीलाई तुरुन्तै नियन्त्रणमा लिन नसकिए त्यो दुर्भाग्यपूर्ण हुनसक्छ”
भारतीय रक्षामन्त्री प्रणव मुखर्जी, शनिबार
“भारतले उपलब्ध गराएको इन्सास हतियार छिट्टै तातेका कारण नै सैनिकहरुले बेस क्याम्प छाड्नु पर्ने स्थिति आएको हो”
शाही नेपाली सेनाका प्रवक्ता दीपक गुरुङ, आज आयोजित पत्रकार सम्मेलनमा
हैन के भएको हो यो, एकातर्फ भारतले नेपाली सेना माअोवादी नियन्त्रण गर्न असफल भएको भन्ने आरोप लगाउने, अर्कोतर्फ त्यस्तो खत्तम हतियार सेनालाई दिने ? अरु त अरु अहिले त हतियार पनि दिन छाडेको छ। हतियारै नदिई खुकुरीका भरमा माअोवादीसित जुध भन्न खोजेको हो कि के हो ?
सेना प्रवक्ता गुरुङले माअोवादीहरुले पिलीबाट लुटेर लगेका हतियारहरु काम लाग्ने अवस्थामा नरहेको भनी बताउनु भएको छ। उहाँको भनाई मलाई पनि सत्य नै लाग्यो। काम लाग्ने भएको भए माअोवादीहरुलाई त्यसैले पराजित गर्ने थियो नि। त्यसैले माअोवादीहरुले इतिहासमा नै सबैभन्दा बढी हतियार लुटेको भनेर फूर्ति नलाए हुन्छ। त्यस्ता मुला काम नलाग्ने हतियार लुट्दैमा केको हल्ला हँ ? खुब अत्याधुनिक हतियार लुटेको र त्यही हतियारको भरमा अर्को ठाउँमा आक्रमण गर्ने भनेर फूँइ देखाइरहेका होलान् माअोवादीहरु…….
प्रवक्ता ज्युले अर्को पनि एउटा कुरा बताउनुभएको थियो, त्यो भिडन्तमा ३ सय जना जति माअोवादीहरु मारिएका हुनसक्छन्। त्यो दावीको स्रोत चाहिँ प्रत्यक्षदर्शीहरु रे। अहो, धेरै मान्छे पो मरेछन् त्यहाँ हगि। माअोवादीहरुले १ सय ५९ जना सेना मारेको भन्छ। अनि सेनाले त्यो भन्दा दोब्बर ३ सय जना माअोवादी मारेको भन्छ। दुवै जोड्दा ४ सय ५९ पुगेछ। त्यहाँ त लाशैलाशको खात हुनुपर्ने हो। खै, के थाहा, हामीले देखेका छैनौं। प्रत्यक्षदर्शीले नै भनेको भए पत्याउनु त पर्यो नै, कि कसो ?


good bro yesto dams article po lekhnu paryo ni k k lekhnu hunchha hunchha tapain ta …. tala ko vedio hernu sakiyena ni ta kasari herne ho mail me hai …
babu/germany
Comment by babu — August 12, 2005 @ 11:03 pm