दुई-चार जना कराउँदैमा केही हुन्नः राजा
२०६२ भदौ ६ सोमबार
‘एक दुई जनाले हामी जनताको प्रतिनिधित्व गर्छौं भनेर कराउँदैमा केही हुँदैन’
यो महावाणी २१ अौं शताब्दीको देखिने र सुनिने हाम्रा राजा श्री छ (सरी है, यो युनिकोडमा टाइप गर्दा सिफ्ट कि थिच्यो भने सँधै ५ को ठाउँमा छ आउने गर्छ। परम्परागत प्रीति फन्टमा भने ५ टाइप गर्न सिफ्ट कि थिच्नै पर्थ्यो) ज्ञानेन्द्रको हो। आजदेखि सुदूरपश्चिमाञ्चलको भ्रमण थालेका राजाले अञ्चल प्रशासन कार्यालयमा आफैद्वारा मनोनीत महाकाली अञ्चलका चारै जिल्लाका सभापति एवं उपसभापतिहरूलाई निर्देशन दिँदै उक्त कुरा भनेका हुन्। नेटिभीमा हेरेको थिएँ राजाको भिजुअल। निकै गम्भीर भएर निर्देशन दिँदैथिए राजा। यस्तो लाग्थ्यो मानौं निर्देशन राजा हैन, प्रधानमन्त्री वा नेता दिँदैछन्। ‘सबैभन्दा मुख्य कुरा शान्ति स्थापना हो, त्यसका लागि सबैको एकजुट प्रयास हुनैपर्छ’-श्री ५ बाट यसरी हुकुम बक्स भइरहँदा उता रुपन्देहीमा भने चार प्रहरी माअोवादीको एम्बुसमा परी मारिएका थिए। राजाले महेन्द्रनगरमा साढे एकघण्टाभन्दा बढी समय पैदल सवारी भई त्यहाँ एकत्रित हजारौँ (मान्छे धेरै नै देखिन्थे, किन झूठो बोल्नुर? पूर्वाग्रहीले मात्र बोल्छ झूठो) नरनारीबाट पुष्पगुच्छा ग्रहण गर्दै प्रत्यक्ष संवाद पनि गरे। एक अपांगले ढोग्न खोज्दा भो-भो पर्दैन भनेको अनि बालबालिकाहरुलाई अटोग्राफ दिएका दृश्य पनि नेटिभीमा देखाइएको थियो। राजालाई पनि सिनेमाका नायक जस्तै के अटो दिन मन लागेको होला, बुझिनसक्नु छ।


तपाइले कंप्यूटर युनिकोड कीज् को ज्ञान प्रयोग गरी राजालाइ खिज्याइदिएकोमा यो ब्लग पढ्नेहरु सवै नतमस्तक भएर गद् गद् भएकाछन् भने तपाइको एक्काइशौ शताव्दीमा प्रखरित वौद्धिकताले पनि शिखर छोएको छ । वाह वधाइ छ ।
Comment by किशोर — August 23, 2005 @ 4:37 pm