अहिले नै गणतन्त्रको नारा लगाइहाल्नु उचित हुँदैनः काँग्रेस
२०६२ भदौ ९ बिहीबार
नेपाली काँग्रेसको ११ अौं महाधिवेशन सुरु हुन अब ६ दिनमात्र बाँकी छ। यसक्रममा पार्टीबीच नयाँ नीति र कार्यक्रमका बारेमा बहस सुरु भएको छ। विधान संशोधनका लागि विधान संशोधन समितिका बैठकहरु पनि भइरहेका छन्। यसै सन्दर्भमा काँग्रेसभित्रका कुरा बुझ्न सजिलो होस् भन्ने अभिप्रायका साथ विधान संशोधन समितिमा महासमिति सदस्य लोकेश ढकालले प्रस्तुत गरेको सुझावका केही अंश यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ। यसमा उल्लेख विचारसँग मेरो संसारको सहमति-असहमतिको अर्थ छैन। न यसले मेरो संसार कुनै पार्टी विशेषसित नजिकिएको अर्थ नै निकाल्न मिल्छ। बाँकी
१.राजसंस्था बारे जनताको निर्णय पार्टीलाई स्वीकार्य हुने उल्लेख गर्दै विधानमा राजसंस्थाबारे मौन रहने।
नेपाली काँग्रेसले आफ्नो स्थापनाकालदेखि संवैधानिक राजतन्त्रको मान्यतालाई स्वीकार गर्दै आएको हो। राजा महेन्द्रले २०१७ सालमा सैनिक ‘कू’ गरेर नेपाली कांग्रेसको सरकारलाई बर्खास्त गरेर पार्टीलाई समेत प्रतिबन्ध लगाएर ३० वर्षम्म दलविहीन अधिनायकवादी पञ्चायती शासन चलाउँदा पनि नेपाली काँग्रेसले संवैधानिक राजतन्त्रको मान्यतालाई छोडेन। राजा त्रिभुवन देखि अहिलेसम्मका सबै राजाहरुले मुलुकको प्रजातन्त्र र दलहरुका विरुद्ध सँधै षड्यन्त्र गर्दै अझ विशेष गरेर नेपाली काँग्रेस पार्टीविरुद्ध सधै जाइलाग्दै आएको यथार्थ परिस्थिति र राजाको माघ १९ को शाही घोषणाले संवैधानिक राजतन्त्र, बहुदलीय प्रजातन्त्र, संसदीय शासन पद्धति, दलीय सरकार, जनताका मौलिक हक लगायतको मानव अधिकार र प्रेस स्वतन्त्रता समाप्त गरेर निरंकुश राजतन्त्र स्थापना गर्ने अधिनायकवादी एवम तानाशाही कदमको परिणाम युवा-विद्यार्थी पुस्ता गणतन्त्रको मार्गमा अगाडी बढिरहेको अहिलेको राजनीतिक यथार्थ हो। नागरिक समाज समेत राजतन्त्रको विरुद्धमा खुलेरै सडकमा ओर्लिएको अवस्था छ। यस्तो पृष्टभूमिमा नेपाली कांग्रेस पार्टीसहित आन्दोलनरत दलहरुमा राजतन्त्रको बारेमा पुनर्विचार गर्न प्रशस्त दवाव परिरहेको छ। पार्टीले राजतन्त्रको मान्यतालाई काखी च्यापेर हिंडिरहेसम्म आन्दोलनमा युवाहरुको जुझारुपन कम हुने कुरा पनि त्यति कै सत्य हो।
राजाको माघ १९ को कदमको प्रतिशोधमा क्रान्तिकारी हुनको लागि गणतन्त्रको नारा लगाउन सजिलो छ तर माओवादीले सिर्जना गरेको चुनौति विद्यमान रहेसम्म देशमा गणतन्त्र आउँदैमा लोकतन्त्र सुरक्षित हुन्छ भन्ने कुनै निश्चित छैन। यसै पनि अहिले आन्दोलनरत दलहरु मध्ये ९ वटा दल कम्युनिष्ट पार्टी छन्। यस्तो स्थितिमा भोलि समय आफ्नो अनुकुल आउनासाथ कम्युनिष्ट पार्टी आफ्नो राजनीतिक दर्शन र चरित्र अनुसार लोकतान्त्रिक आन्दोलनबाट विमुख हनसक्ने, अतिवादी कम्युनिष्ट पार्टी माओवादीहरुसँग मिल्न जान सक्ने खतरा त्यति कै भैरहन्छ। यस्तो अवस्थामा नेपाली कांग्रेसले भावावेसमा वा हतारमा कुनै निर्णय गर्न हुँदैन। पार्टी बडो विचार पुर्याएर फुकी-फुकी हिँड्नु पर्ने अवस्था छ। त्ससैले पार्टीले अहिले नै गणतन्त्रको नारा लगाई हाल्नु उचित हुदैन। सशस्त्र आन्दोलन गरिरहेका माओवादी व्रि्रोही पक्ष हतियार विसाएर बहुदलीय संसदीय राजनीतिमा आउने सुनिश्चितता नभएसम्म न माओवादीसँग सहकार्य गर्न हुन्छ न गणतन्त्रको आन्दोलन नै गर्न हुन्छ। मुलुकमा कदाचित गणतन्त्र स्थापना भएपछि माओवादीको हतियार संसदवादी दलहरुतर्फ फर्कँदैन भन्ने कुनै निश्चित छैन। चीन र रुसमा राजवंशको अन्त्यपछि लाल सेनाले सत्ता कब्जा गरेको इतिहास नेपालमा दोहरिँदैन भन्ने कुनै निश्चित हुँदैन। परिस्थितिको गंभीरतालाई अध्ययन नगरी माओवादीसँग सहकार्य गरेर लोकतान्त्रिक गणतन्त्रको आन्दोलन गरे त्यो घातक निर्णय हुन सक्छ।
२०४६ सालको जनआन्दोलनको परिणाम त्रिपक्षीय सम्झौताबाट बनेको नेपाल अधिराज्यको संविधान २०४७ लाई पूर्ण रुपमा अवज्ञा गरेर संवैधानिक राजतन्त्रको मर्यादालाई उलंघन गर्ने काम माघ १९ को शाही कदमबाट भैसकको स्थितिमा पार्टीले मात्र संवैधानिक राजतन्त्रको माला जपेर बसिरहनु पर्छ भन्ने बाध्यता अब रहेन। राजाले प्रजातन्त्रलाई मान्दिन भनेर सक्रिय राजतन्त्रको बाटोमा हिँडिसकेपछि दलहरुले राजा मानिरहनु पर्ने अवस्था छैन। यस्तो अवस्थामा नेपाली काँग्रेसले कमसेकम राजतन्त्रको विषय जनताको हातमा छोड्नु नै उपयुक्त हुन्छ।
राजतन्त्रको विषयमा जनताबाट आउने अन्तिम फैसला पार्टी स्वीकार गर्ने गरी संवैधानिक राजतन्त्रको मान्यतालाई विधानबाट झिकेर राजसंस्थाको बारेमा कमसेकम मौन बस्नु नै उपयुक्त हुने देखिएकोले पार्टी विधानको प्रस्तावना लगायतको पार्टी दस्तावेजहरुमा सोही अनुसार संशोधनको लागि प्रस्ताव गर्दछु।
२.पार्टीको विधान र दस्तावेजहरुबाट प्रजातन्त्र शब्दको ठाउँमा लोकतन्त्र राख्न आवश्यक संशोधन गर्ने।
नेपालको प्रजातान्त्रिक आन्दोलन क्रमिक रुपमा लोकतान्त्रिक आन्दोलनमा रुपान्तरित हुने तर्फअग्रसर भैरहेको हामी सबैले महशुस गरेकै कुरा हो। देशको राजनीतिलाई प्रजातान्त्रिक आन्दोलनबाट लोकतान्त्रिक आन्दोलन तर्फ डोर्याउने काम राजाको असोजतन्त्र र मकरतन्त्रले गरेको हो भन्दा कुनै अन्यथा हुँदैन। राजा जति प्रजातन्त्रलाई दमन गर्दैछन् त्यति नै नेपाली जनतामा राजसंस्था प्रति विद्रोहको स्वर मुखरित हुँदैछ, त्यसले गणतन्त्रको आन्दोलन चाहनेहरुलाई उर्जा थपिरहेको छ र जसको परिणाम प्रजातान्त्रिक आन्दोलनले ओगटेको ठाउँ लोकतान्त्रिक आन्दोलनले लिन थालेको छ। प्रजातन्त्र र लोकतन्त्रमा सामान्यत खासै भेद नभए तापनि सामान्य जनताले लोकतन्त्र भन्ने वित्तिकै गणतन्त्र भन्ने कुरा बुझ्न थालेका छन्। प्रजातन्त्रवादी भनेको यथास्थितिवादी अर्थात वर्तमान संविधानमा नै चित्त बुझाएर बस्न रुचाउने र लोकतन्त्रवादी भनेको त्यो भन्दा अगाडी अग्रगमनको बाटो रुचाउने, लोकतान्त्रिक गणतन्त्रका हिमायती हुन् भन्ने बुझिदै छ। समग्रमा भन्नु पर्दा प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र र जनवाद यी सबै अंगे्रजी शब्द ‘डेमोक्रेसी’ कै शब्दानुवाद र भावानुवाद हो।
‘प्रजातन्त्र’ शब्द चलनचल्ती वा व्यवहारमा जसरी प्रयुक्त भए पनि बास्तवमा यो अंग्रेजी शब्द ‘डेमोक्रेसी’को हुबहु अनुवाद भने होइन। अंगे्रजी भाषाको ‘डेमोक्रेसी’ शब्दले संवैधानिक राजतन्त्रमा प्रजातन्त्र र गणतान्त्रिक प्रजातन्त्र दुवै खाले शासन पद्धतिमा प्रयोग हुन्छ। तर नेपाली भाषाको ‘प्रजातन्त्र’ शब्दले डेमोक्रेसी शब्दले भन्दा संकुचित अर्थ बोेकेको छ अर्थात डेमोक्रेसी शब्द प्रजातन्त्रमा अनुवाद हुँदा शब्दार्थ संकुचन भएको छ। ‘प्रजातन्त्र’ राजतन्त्रसँग मात्र जोडिएर आउने शब्द हो। सामन्ती शासनमा जनता रैती कहलिए जस्तै राजाले शासन गरेको देशका जनता प्रजा कहलिन्छन्। गणतान्त्रिक लोकतन्त्र भएको देशका जनतामात्र नागरिक मानिन्छन्। यस हिसावले नेपाली जनता नागरिक नभएर प्रजा हुन् र अहिले नेपाली जनता प्रजाबाट नागरिक हुन आन्दोलित भैरहेका छन्। नेपाली भाषा साहित्यको मर्म अनुसार राजाद्वारा शासित देशको जनता प्रजा हुने भएकोले राजा द्वारा शासन गरिएको देशमा मात्र प्रजातन्त्र प्रयुक्त हुन्छ। अब नेपाली जनताले प्रजातन्त्रको विकल्पमा लोकतन्त्रको आन्दोलन रोजेकोले नेपाली काँग्रेसले लोकतन्त्र आन्दोलनको नेतृत्व लिनु पर्ने ऐतिहासिक दायित्व हो।
सामान्य त लोकतन्त्र र प्रजातन्त्र शब्दको अर्थ एउटै भएर पनि प्रजातन्त्रको तुलनामा लोकतन्त्रको अर्थ ब्यापक छ र प्रजातन्त्र तुलनात्मक रुपमा लोकतन्त्र क्रान्तिकारी पनि छ। प्रजातन्त्रमा राजाको उपस्थिति अनिवार्य छ भने लोकतन्त्रमा राजाको उपस्थिति अनिवार्य छैन। बास्तवमा लोकतन्त्र, प्रजातन्त्र, जनतन्त्र वा जनवादको भावार्थ एउटै हो। बहुसंख्यक जनता द्वारा छानिएका प्रतिनिधिहरुको मत वा सम्मति अनुसार कुनै देशको शासन व्यवस्था चल्ने र नीति निर्धारण आदि हुने शासन प्रणाली नै प्रजातन्त्र, लोकतन्त्र, जनतन्त्र वा जनवाद हो। तर पनि शब्दले बोकेको अर्थ एउटै भएर पनि विषयगत साहित्य र राजनीतिक दर्शनको दृष्टिले शब्दको अर्थ फरक फरक लिने गरेको पाइन्छ। जड्सुत्रवादी साम्यवादी दर्शन अथवा प्रगतिशील साहित्यका पक्षपातीहरु जनवाद नै असली लोकतन्त्र, जनतन्त्र वा प्रजातन्त्र हो भनी मान्दछन्। उनीहरु वास्तविक प्रजातन्त्र वा लोकतन्त्रलाई वुर्जुवा अथवा पुजीवादी सामन्ती राज्य व्यवस्था मान्दछन्। त्यसरी नै आम लोकतन्त्रवादीहरु जनवाद वा जनतन्त्र भन्ने वित्तिकै एक दलीय अधिनायकवादी कम्युनिष्ट शासन पद्धति भन्ने बुझ्दछन्। साहित्य वा दार्शनिक रुपमा जनवाद, जनतन्त्र, लोकतन्त्र वा प्रजातन्त्रलाई जे जसरी बुझे वा व्याख्या गरे पनि यी सबै डेेमोक्रेसी शब्दकै शब्दानुवाद हो भन्ने कुरामा कुनै दुविधा छैन। तर अहिलेको नेपाली लोकतान्त्रिक आन्दोलनले परंपरागत रुपमा बुझिदै आएको प्रयोग गर्दै आएको प्रजातन्त्र शब्दले भन्दा भिन्दै महत्व राख्ने र यो सापेक्ष रुपमा क्रान्तिकारी पनि भएकोले पार्टी विधान र दस्तावेजहरुमा प्रजातन्त्र शब्दको बदला लोकतन्त्र शब्द नै राख्नु उपयुक्त हुन्छ अतह यसै गनुसार विधानमा आवश्यक संशोधनकोलागि अनुरोध गर्दछु।


“ताक परे तिवारी नत्र गोतामे”
Good luck भ्रष्ट काँग्रेसी हो
Comment by Sujit — August 25, 2005 @ 5:12 am
This sudden turn, while the jana-andolan is towards its climax, is unbelievable…It seems that Girija has again got some offer fromt the palace..I don’t know when these leaders get “satbuddhi”.
Comment by nam ma ke chha — August 26, 2005 @ 2:22 am
mule ho . timiharuko nitima navayera ke hunchha ra ? janatale garnechhan je garne ho .
Comment by Ramhari Koirala — August 26, 2005 @ 2:31 am