दलहरुले निषेधित क्षेत्र तोडे
न्युरोड क्षेत्र तनावग्रस्त, कयौं सेल अश्रुग्यास प्रहार
२०६२ भदौ १९ आइतबार

गिरिजा अचेत अवस्थामा।
*LIVE (on the spot audio reporting) का लागि यहाँ क्लिक गर्नुस्। (228 KB, MP3 Format)
** भिडियो ब्लगका लागि यहाँ क्लिक गर्नुस्। (919 KB, WMV Format)
पत्रकार, वकिल र नागरिक समाजले निषेधित क्षेत्र तोडिसक्दा पनि माघ १९ पछि अवैधानिक सरकारले लगाएको बन्देजको पालना गरी काइते आन्दोलन हाँकिरहेको आरोप खेपिरहेको सात दलले आज बल्ल पहिलो पटक निषेधित क्षेत्र तोड्ने साहस देखाएको छ। यस क्रममा सातै दलका शीर्ष नेताहरु सडकमा आए, गिरफ्तारी दिए।
यसअघि आज बिहान आन्दोलनरत सात दलको जनआन्दोलन संयोजन समितिको बैठक बसेको थियो र आन्दोलन चर्काउँदै लाने र निषेधित क्षेत्र तोड्ने निर्णय गरेको थियो। ३ बजे बसन्तपुरबाट जुलुस निकाली निषेधित क्षेत्र तोड्दै रत्नपार्कमा आमसभा गर्ने कार्यक्रम तय भएको थियो।
समाचार थाहा पाएपछि नै त्यहाँ जाने विचार गरेको थिएँ। तर २ बजेदेखि पानी पर्न थालेकोले जाउँ कि नजाउँ भन्ने दोधार भइसकेको थियो। पानी परि नै रहेको भए जान्न थिएँ होला। तर साढे २ बजेतिर पानी अलि कम भएको जस्तो भयो र म त्यहाँ जान अफिसबाट निस्केँ।
बसबाट शहीदगेट र त्यहाँबाट हिँडेर बसन्तपुर पुगेँ। त्यति कम समयमा नै त्यति धेरै भीड जम्मा भइसकेको रहेछ। पार्टीका झन्डा बोकेर सातै दलका कार्यकर्ताहरु त्यहाँ उपस्थित भइसकेका रहेछन्। कुमारी घर छेउको एउटा मन्दिरमा चढेर जम्मा भएको भीडको फोटो खिचेँ। केही बेरपछि बिस्तारै भीड बसन्तपुरबाट न्युरोड जुध्द शालिक भएको ठाउँतिर बढ्यो।
यो भीडको फोटो खिच्ने काम सार्है गार्हो रहेछ। भीडमा धक्कमधक्का भइरहने अनि सोचे जस्तो गरी फोटो खिच्नै नसकिने। अलि राम्रो दृश्य देखेर फोटो खिच्न सटर थिच्यो, स्वात्त बीचमा कोही आएर छेकिदिने।

छायादेवीः उमेर ढल्कियो तर लोकतन्त्रका लागि सडकमा उत्रने साहस कम भएको छैन। तस्वीरः उमेश
बल्ल बल्ल छायादेवी पराजुलीको एउटा फोटो खिचेँ। त्यो पनि सोचे जस्तो गरी खिच्न पाइएन। जुलुसको अग्रपंक्तिमा रहेका शीर्ष नेताहरुको फोटो खिच्छु भनेको सक्दै सकिएन।

बसन्तपुरमा निषेधित क्षेत्र तोड्न खोज्नेको भीड। तस्वीरः उमेश
जुलुसमा कति सहभागिता थियो त ? अनुमान गर्न म अलि कमजोर छु। तर ज्यादै धेरै पनि थिएन, ज्यादै कम पनि थिएन। उल्लेखनीय सहभागिता थियो भन्दा ठीक हुन्छ होला। जुलुसले जुध्द शालिक नजिकैको पहिलो घेरा तोड्न खोज्दा हामी केही पकारसहितलाई पनि प्रहरीले रोके। तर हामीले घेरा तोड्यौं। सँगसँगै केही आन्दोलनकारीले पनि घेरा तोडे। घेरा तोड्नेबित्तिकै उनीहरु होए….भनी विजयी मुद्रामा कराउँथे। कति अगाडि बढ्न भ्याउँथे भने कतिलाई प्रहरीले च्याप्प कठालो समाती भ्यानमा कोच्थे। त्यो भद्रगोल अवस्थामा फोटो खिच्नु सार्है गार्हो काम थियो। कहिले कसैको जीउले छेकिने कहिले कसैको टाउकोले।
मेरो आँखा अगाडिबाट प्रहरीले सुशील कोइरालालाई च्याप्प समाते। नेपाली काँग्रेसका यी वृध्द युवा नेतालाई “बिस्तारै राम्रोसँग लगेर हाल” भन्दै प्रहरीका हाकिम जवानहरुलाई भन्दै थिए। सुशील कोइरालालाई समातेर लाँदालाँदै उनले निरंकुश सरकारको निषेधाज्ञा हामीले तोड्यौं भन्दै अन्तर्वार्ता दिँदै थिए। फोटो खिचेर पार नलाग्ने देखेपछि बरु भिडियो नै खिच्नु पर्यो भनी खिच्न थालेँ। तर मेरो क्यामेराको ८ एमबीको मेमोरीमा भिडियो पनि धेरै अट्दैन थियो। बढी एमबीको एउटा मेमोरी कार्ड किन्नु पर्ने हो तर के गर्नु, आफ्नो अफिसको चाला नै त्यस्तै छ, ३०० दिनको पनि एक महिना हुँदैन हाम्रो अफिसलाई। भैगो यो दुःख पछि बाँडौंला…। सुशील कोइरालाको दृश्य भिडियो ब्लगमा समेटिएको छ।
सुशील कोइरालालाई भ्यानमा हाल्न प्रहरीले लग्दैथिए, कार्यकर्ताहरु आएर प्रहरीलाई धक्कामुक्की गरी छुटाएर न्युरोडतर्फ लगिहाले।

वामदेवलाई गिरफ्तार गरिँदै। तस्वीरः उमेश
फेरि अर्कोतर्फ वामदेव गौतमलाई प्रहरीले भ्यानमा कोचे। वामदेव उम्कन संघर्षरत थिए तर अहँ प्रहरीले उम्कन दिएनन्।
उता, बसन्तपुरबाट अझै किस्ता किस्तामा प्रदर्शनकारीहरु प्रहरीको घेरा तोड्दै आउने क्रम जारी थियो। यत्तिकैमा विशालबजार गेट अगाडि गिरिजाप्रसाद कोइरालालाई प्रहरीले घिसारेछन्, तानेछन्। धक्कामुक्कीमा ८३ वर्षीय वृध्द कोइराला सार्है थाकेछन्। विशाल बजारको मूलगेट भित्रपट्टी जुन पसलहरु छन्, त्यहाँको सडकमा उनी अचेत भएछन्। पहिले त मलाई थाहा थिएन त्यहाँ के भएको भनी। पछि पो गिरिजा रहेछ भन्ने थाहा पाएँ। उनी अचेत भएछन्। पानी ल्याउ-ल्याउ भन्न थाले कार्यकर्ताहरु। पानी ल्याइयो, पानी छ्यापियो। भीड फेरि कति हो ? हेर्नै नपाइने, फोटो खिच्ने त कुरा नै छाडौं। भएभरका सबै गिरिजालाई नै हेर्नुपर्ने, सबैलाई गिरिजाकै फोटो खिच्नुपर्ने।
भीडले घेरिएपछि प्रहरी पनि अलि पछि नै हट्यो। कार्यकर्ताहरुले खबरदार हाम्रो नेतालाई केही होला भन्न थाले। कार्यकर्ताहरुले भीड हटाउन थाले। त्यही मौकामा फोटो खिचौंला भनेको त त्यही पनि पाइएन। कार्यकर्ताहरुले पत्रकारहरुलाई पनि हटाउन थाले। बल्लतल्ल एउटा फोटो खिचेँ भनेको त त्यति राम्रो आएनछ। ब्लगको सुरुमा राखिएको फोटो त्यही हो। गिरिजा टोपी फुकालेर भुइँमा थचक्क बसेका थिए। त्यहीँ भएको धक्कामुक्कीमा मेरो दायाँ हातको पाखुरामा पनि अलि चोट लाग्यो, घर आएर हेर्दा पो थाहा पाएँ।
माधव नेपाल र अमिक शेरचन पनि प्रहरी घेरा तोड्दै आएका थिए। माधव नेपाल गिरिजा थचक्क बसेको ठाउँमा उभिएको देखेको थिएँ। गिरिजालाई राख्न भनी त्यहाँ प्रहरीले एउटा भ्यान ल्याएको थियो। म भने त्यहाँबाट अगाडि हिँडे। धेरैले निषेधित क्षेत्र तोडिसकेका रहेछन्। जुध्दसडकदेखि न्युरोड गेटसम्मको बाटो पूरै प्रदर्शनकारीको कब्जामा भइसकेको थियो। त्यहाँ कुनै सवारी साधन चलेका थिएनन्। पसलहरु पनि धमाधम बन्द हुँदै थिए।
प्रदर्शनकारीहरु न्युरोड गेटसम्म नै पुग्न थालेपछि भने प्रहरीले बढी नै शक्ति प्रयोग गर्यो। ड्याम्म आवाज आउँदा मैले गोली चल्यो कि भन्ने ठानेको थिएँ। तर टियर ग्यास रहेछ। फेरि अर्को ड्याम्म, फेरि अर्को ड्याम्म। मैले त्यतिबेलाको अडियो रेकर्ड गरेको थिएँ। तर क्यामेरामा ठाउँ नभएकोले पुरानो मेट्दै गर्दा सुरुको अडियो डिलिट हुन पुगेछ, पछिको मात्र कायम रह्यो। दुई पटक मैले लाइभ रिपोर्टका लागि बोलेको जस्तो लाग्छ तर घर आएर हेर्दा त एउटा मात्र रहेछ।

माधव नेपाल र अमिक शेरचन। तस्वीरः उमेश
टियर ग्यास चलेपछि आँखा पिरो हुन थाल्यो। प्रदर्शनकारीहरु पछाडि फर्के। केही प्रदर्शनकारीहरुले टियर ग्यासलाई प्रहरीतिर नै फाले पनि फेरि प्रहरीले हामीतिरै फाले। अहो, अब त आँखा सार्है नै पिरो हुन थाल्यो। म खिचापोखरीतर्फ लागेँ। त्यहाँ पनि चार पाँच वटा टियर ग्यास हानियो। पूरै क्षेत्र तनावग्रस्त भयो। पसलमा किनमेल गर्न आएकाहरु आँखा पिरो भएर बसिनसक्नुको अवस्थामा थिए। आँखाबाट आँसु बगाउँदै ब्लगका लागि लाइभ अडियो रिपोर्टका लागि बोल्दा युध्दक्षेत्रमा पत्रकारहरुले कसरी काम गर्छन् होला जस्तो लाग्यो। मलाई त जाबो टियर ग्यासले त्यस्तो पार्यो। आँखामा आँसु, नाकबाट सिंगान पनि चुहिन थालेछ।

प्रहरीको लाठिचार्जबाट टाउको फुटेका प्रदर्शनकारी। तस्वीरः उमेश
अब ब्याट्री सकियो क्यामेराको। त्यहाँ धेरै बेर बस्नुभन्दा पनि तत्काल अफिस पुगेर फोटोमात्र भए पनि अपडेट गर्न पाए ठूलो हुने भएकोले हिँडे। तर हिँड्नु अघि फेरि एक पटक जुध्दसडकतिर गएर त्यहाँबाट पिपलबोट हुँदै खिचापोखरी निस्केँ। न्युरोडबाट खिचापोखरीतर्फ जाने बाटोमा प्रहरीले टियरग्यास प्रहार गरेको गर्यै गरिरहँदा एक प्रदर्शनकारी प्रहरीतर्फ हेर्दै “खुब पुरुषार्थको काम गर्यौ तिमीहरुले” भन्दैथिए। पिरो सहिनसक्नु भएपछि मैले एक प्रदर्शनकारीले ल्याएको पानी मागेर आँखामा छ्यापेँ। पानी लगाएपछि अलि सञ्चो त भयो तर गालासम्म पोलेको जस्तो पनि अनुभव भयो।
आरएनएसी अगाडि जाम भएको रहेछ त्यहाँको प्रभावले। यो जाममा माइक्रो कुर्नुभन्दा त बरु रत्नपार्क जानु नै ठीक होला भनेर गएँ। त्यहाँ धेरै बेर कुरेपछि बल्ल माइक्रो पाएँ। बाटोमा थाहा पाएँ प्रहरीले कति प्रदर्शनकारीलाई निर्घात पनि चुटेछन्। त्यसो त मैले पनि एक जनाको अनुहारबाट रगत बग्दै गरेको प्रदर्शनकारी भेट्टाएर फोटो खिचेको थिएँ।
अफिस पुगेपछि यी शब्द र केही फोटो राखी ब्लग पोस्ट गरिहालेँ।
सात दलले आज पहिलो पटक बसन्तपुरबाट नयाँ सडकमा निस्केर निषेधित क्षेत्र तोडे। यस क्रममा गिरिजाप्रसाद कोइराला घाइते भए भने कयौं नेतालाई गिरफ्तार गरियो। भीड निषेधित क्षेत्र तोडेर न्युरोड गेटसम्म पुगेपछि प्रहरीले कयौं सेल टियरग्यास प्रहार गरेर भीड तितरबितर बनाएका थिए। म त्यहाँबाट हिँड्दासम्म तनाव कायम थियो। यसबारेमा विस्तृत ब्लग केही घण्टापछि लेख्नेछु। हाललाई फोटो फिचर। सबै फोटो म आफैले खिचेको। गिरिजा झन्डै अचेत भएका थिए। प्राप्त पछिल्लो समाचार अनुसार घाइते गिरिजालाई टिचिङमा उपचार गरिँदैछ। अनि माधव नेपाल अमिक शेरचन वामदेव झलनाथ खनालहरु हिरासतमा नै छन्।
गिरिजा, माधव, वामदेव, अमिक शेरचन, रामचन्द्र पौडेल, अर्जुननरसिंह केसी, सुशील कोइराला लगायत १५० भन्दा बढीलाई प्रहरीले गिरफ्तार गरेको थियो। ती मध्ये अधिकांशलाई रिहा गरिसकिएको छ।


So HOT AND NICE PICTUURE!
Thx. More again!
Comment by NK — September 4, 2005 @ 5:20 pm
thnx 4 ur hot news.
pls keep it up.
Comment by kp — September 4, 2005 @ 5:52 pm
keep this going.
we are waiting for more……..
Comment by chandrakant — September 4, 2005 @ 6:53 pm
Umeshji, please try to put the public feedback also. We are looking the recent development that are happening in NEPAL as we are outside the home country. We wish to look and read “as it happened” in Nepal. I wish you for your more indepth news and features. Thank you very much for your challenging effort.
Please also try to cover the views that are imposing from the palace.
Comment by Ritesh — September 4, 2005 @ 8:20 pm
Thanx for nice photographs,
Karma ko Fal Paincha bhaneko Satya rahecha.
Jaisa Karma Karega Waisa Fal Dega Bhagwan…….
Comment by THE BOSS — September 7, 2005 @ 10:34 am