मकरतन्त्र गल्दैछः माघ १९ पछिको विशाल प्रदर्शन
२०६२ भदौ २९ बुधबार
आन्दोलनरत दलहरुले हिजो ठूलो साहस देखाए। उनीहरुले माघ १९ पछि कै सबैभन्दा विशाल प्रदर्शन गरी सरकारी निषेधाज्ञा तोडे। तर यस क्रममा केही डरछेरुवा भ्रष्ट नेताहरुलाई पनि मैले आफ्नै आँखाले देखेँ जो अग्रपंक्तिमा नभई डराएर पछाडि बसिरहेका थिए। आफ्नै कार्यकर्ताहरुले चुरा लगाएर घरमा बस नेताहरु भनी भन्दासमेत अगाडि नआई उनीहरु लुसुक्क त्यहाँबाट बेपत्ता भए। बाँकी

प्रदर्शनकारीहरुका कारण सडक जाम भएपछि बसभित्रैबाट खिचेको फोटो। फोटोः उमेश
त्यसो त यो ब्लग हिजै गर्नुपर्ने हो मैले। तर अघिल्लो ब्लगमा उल्लेख गरेअनुसार पीडा कायम रहेकोले राति यत्तिकै छिट्टै सुतेँ। अहिले हात र जीउमा भएको सामान्य खालको घाउ पनि दुखिरहेको छ। खुट्टामा अलि दुखाइ कम भएको छ तर हिँड्दा अझै पनि दुख्छ। त्यसैले आज बिहान अफिस पनि गइनँ।
हिजो विशाल प्रदर्शनको तयारी भइरहेको भनेकोले त्यहाँ जाने मूड बनाइसकेको थिएँ। तर अफिसमा अलि अलमल हुँदा निस्कन ढिला भयो। तैपनि प्रचार गरिएको निर्धारित समय साढे ३ भन्दा १५ मिनेटअघि नै म रत्नपार्क पुगिसकेको थिएँ बसमा। खुल्लामञ्च कब्जा गर्ने प्रचार भएकोले त्यहाँ प्रहरी तैनाथ थिए। त्यहीँबाट सडक जाम थियो। रत्नपार्कतिर जाम सडकमा अड्याइएको बसभित्रबाट नै मैले एक हुल प्रदर्शनकारी भोटाहिटीबाट निषेधित क्षेत तोड्दै रत्नपार्कसम्म आइपुगेको देखेँ।

प्रहरीको घेरा तोडी निषेधित क्षेत्र घोषित रत्नपार्कमा झन्डासहित पुगेका प्रदर्शनकारीहरु। फोटोः उमेश
तत्काल बसबाट अोर्लिएँ। प्रदर्शनकारीहरु रत्नपार्कको खाली सडकमा थचक्क बसे। हुलका हुल प्रहरी आए र उनीहरुलाई मिनी टाटा, भ्यानमा कोच्न थाले। नारा चर्का लागिरहेका थिए। रत्नपार्कलाई पूरै खाली बनाइएको थियो, कसैलाई हिँड्नसमेत दिइएको थिएन। त्यहाँका प्रदर्शनकारीहरुको नेतृत्व अमिक शेरचन, सीपी मैनाली र गोपालमान श्रेष्ठले गरेका रहेछन्। शेरचन र मैनालीलाई मिनी टाटामा हालियो। श्रेष्ठलाई भ्यानमा हालियो। एकैछिनमा त्यहाँ पुगेका सबै प्रदर्शनकारीहरुलाई प्रहरीले नियन्त्रणमा लिइहाले।

प्रहरीको घेरा तोडी रत्नपार्क पुगेकाहरु त्यहाँको सडकमा थचक्क बसेर धर्ना दिँदै। फोटोः उमेश
अब उता भोटाहिटीमा प्रदर्शनकारीहरुको भीड बाँकी थियो। बागबजार, पुरानो बसपार्कआदि ठाउँबाट एमाले र काँग्रेसले निषेधाज्ञा तोडेका रहेछन्। त्यहाँ सयौं संख्यामा एकैचोटी प्रदर्शनकारी निस्केपछि प्रहरीलाई नियन्त्रणमा लिन नै गार्हो भएछ। म भने त्यता नगई भोटाहिटीमा नै केन्द्रित थिएँ। दुई तीन क्लिप भिडियो खिचिसकेकोले फोटो धेरै अटदैन थियो। त्यसैले नराम्रो आएका फोटोहरु मेटाउँदै क्यामेरामा ठाउँ खाली गरिरहेँ। मेरो क्यामेरामा एसडी मेमोरी कार्ड नभएकोले बिल्ट इन ८ एमबीबाटै काम चलाइरहेको छु। यसका कारण पटक-पटक मैले ठूलो समस्याको सामना गर्नुपरिरहेको छ। रकमको अभावमा मेमोरी कार्ड तत्काल किन्नसक्ने स्थिति पनि छैन। त्यसमाथि आजभोलि बढी इन्टरनेट चलाएकोले हो कि किन हो, घरको फोन लाइन आज बिहानबाट काटिएको छ। शायद बिल बढी नै उठ्यो होला र फेरि त्यो तिर्न अर्को समस्या थपिएको छ। हुनपनि केही दिनमा ब्लगका कारण म बढी नै इन्टरनेट चलाइरहेको छु। यो ब्लगलाई अब साइबर वा अफिसबाट पोस्ट गर्नुपर्ला। अरु त हैन, मेमोरी कार्ड किन्नका लागि भने म तपाईँ पाठकहरुसित सहयोग माग्ने तयारीमा छु।

प्रदर्शनकारीहरुलाई मिनी टाटा कोच्दै। फोटोः उमेश
कुरा कता पुगेछ। नेताहरु पक्रिएपछि यता भोटाहिटीमा उग्र नारा लगाउने केही समूह बाँकी थियो। उनीहरु झन्डा बोकेर चर्का नारा लगाउँदै थिए। तर ज्यादै थोरै संख्यामा थिए तिनीहरु। उनीहरुभन्दा निकै बढी संख्यामा प्रहरीहरु बाटो छेकेर उभिएका थिए रत्नपार्कतिर जाने।
अघिपछि म प्रहरीकै पछाडि वा नजिकै बसेर आन्दोलनका गतिविधि हेर्न बस्थेँ। तर आज थोरै प्रदर्शनकारी देखेकोले के रहेछ भनेर भीडभित्र पसेँ। अग्र मोर्चामा मात्रै थोरै बसिरहेका रहेछन्।
पछाडि त केही होला भनी डराएर बसिरहेका कार्यकर्ता र नेताहरुको ठूलै जमात रहेछ झन्डै असन चोकैसम्म। यत्तिकैमा मैले पूर्वमन्त्री चिरञ्जीवी वाग्लेलाई देखेँ। उनी हाँस्दै गफ गर्दै बस्दै थिए त्यता। अचम्म लाग्यो मलाई, उता अग्र मोर्चामा प्रहरीनजिकै केही कार्यकर्ता लाठी खान तयार भएर बसिरहेका छन्, यता भ्रष्ट डरछेरुवा नेता भीडबाट पर, केही भए भागी हाल्न गल्लीनजिकै उभिएर हाँस्दै आसेपासेहरुसित गफ हाँक्दै बसिरहेका छन्। यस्ता पनि नेता हुन्छन् ? नेताले त कार्यकर्ताहरुलाई नेतृत्व पो दिनसक्नु पर्छ। यस्तालाई त उनीहरुकै कार्यकर्ताले त्यहीँ कुट्नु पर्ने हो। भरे लोकतन्त्र आएपछि मोज गर्ने यिनै हुन्। यिनीहरु कै कारण दलहरु बदनाम भएका छन् जनताको अगाडि। अहिले यिनीहरु आन्दोलनमा आउन समेत डराउँछन्। छ्या, वाग्ले छ्या। लाज लाग्नुपर्ने तिमीलाई। तर उनलाई लाज नभएको प्रष्टै देखियो।
अग्रमोर्चामा चर्का नारा लगाइरहेका केही युवा कार्यकर्ताहरु पछाडि आए। जाउँ न अगाडि, के डराइरहेको, यस्तो तालले पनि हुन्छ भनी कराउन थाले। नेताहरुलाई देखेपछि उनीहरु कराउन थाले, यस्ता पनि नेता हुन्छन्। नेताहरु घर जाने, चुरा लगाएर बस्ने अगाडि नजाने भए, उनीहरु कराउन थाले। भीडले पनि हो हो भन्दै ताली पिट्न थाले। त्यो अडियो रेकर्ड गरेको रहेछु भनेको त ठाउँ नभएकोले क्यामेरामा रेकर्ड नै भएनछ। वास्तवमा त्यो एउटा ऐतिहासिक क्षण नै थियो, कार्यकर्ताले नेतालाई गाली गरेको। अझ अर्को कुरा, त्यसरी कार्यकर्ताले भनेपछि पनि वाग्ले महाशय भने लुसुक्क फलफूल गल्लीबाट छिरेर भीडबाट बेपत्ता भए।
नेताहरुलाई गाली गरेपछि कार्यकर्ताहरु हौसिए अगाडि निषेधित क्षेत्र तोड्न। क्यामेराको स्पेस सकिसकेको हुनाले एक दुई फोटोका लागि मात्र ठाउँ बाँकी राखेर अडियो भने टेप रेकर्डरबाट रेकर्ड गर्न थालेँ। मेरो एक हातमा क्यामेरा, अर्को हातमा रेकर्डर थियो। भीड अगाडि बढ्दै थियो। म भीडमा नै मिसिएको थिएँ। उत्तेजित भीडलाई नियन्त्रण गर्न प्रहरीले दमकलबाट पानीको फोहरा प्रहार गरेछ। त्यसपछि अगाडिको भीड पछाडि दौड्न थाल्यो। म भने भीडसँगै पछाडि दौड्ने पक्षमा थिइनँ। त्यसैले उभिएर बसेको थिएँ। तर भीडले मलाई सडकमा लडाइमात्र दिएन, किच्यो पनि। एकछिन त के भयो नै थाहा भएन। ममाथि केही मान्छेले कुल्चिएका, खप्टिएका देखेँ।
एकछिनपछि उठेँ। उठे लगत्तै त्यहाँ भीडबाट ढुंगा प्रहार हुन थाल्यो। ढुंगा हान्न थालिएपछि म बीचमा परेँ। न म प्रहरी भएको ठाउँतिर जानसक्थेँ न कुनै अोत लाग्ने ठाउँतिर नै। यत्तिकैमा एउटा बडेमानको ढुंगा मतिर आएको देखेँ। मैले छलेँ भन्ठानेको, खुट्टापछाडि लागेछ। ढुंगा लगातार बर्सिरहेको थियो। त्यो अवस्थामा बच्ने उपाय प्रहरी भएको ठाउँतिर, जुन केही मिटर अगाडि थियो, नै हुन्थ्यो। तर लगातार ढुंगा बर्सिरहेकोले त्यता जान संभव थिएन। यत्तिकैमा अरु स-साना ढुंगा पनि मलाई लाग्न थाल्यो। एउटा किताब पसलहरु भएको गल्लीतिरबाट एक महिलाले तपाईँ यहाँ आउनुस् न भनी कराइन्। यसो ढुंगा कम भएको मौका पाएर त्यतातिर दौडें। तर ढुंगा बर्सि नै रहेको थियो।
त्यो गल्लीमा धेरै बेर बस्नु उपयुक्त थिएन। किनकि मलाई थाहा थियो, त्यहाँबाट बाहिर निस्कने ठाउँ थिएन र ढिलाचाँडो प्रहरी त्यहाँ आएर लाठी बर्साउँथ्यो। प्रहरी र लाठी दुवैको आँखा हुँदैन, उसले अगाडि परेको सबैलाई ठोक्छ। त्यसैले यो अवस्थामा मेरो शरण लिने उपाय भनेको त्यही प्रहरीतिर नै थियो। तर त्यहाँ जाने कसरी ? ढुंगा बर्सिरहेकै थियो। तर मैले जोखिम मोल्ने निर्णय गरेँ। ढुंगा वर्षाका बीच जिउ जोगाएर कुद्दै प्रहरीहरु भएको ठाउँतिर शरण लिएँ। बल्ल अलि सुरक्षित भए जस्तो लाग्यो। अब त्यहाँ बस्न पनि बढी सुरक्षित थिएन। त्यसैले आकाशेपुलमा चढेँ। पुल सर्वसाधारणका लागि निषेध थियो त्यतिबेला। त्यसैले खाली नै थियो। म त्यहीँबाट शो हेर्न थालेँ।

यो फोटोचाहिँ घाइते भइसकेपछि आकाशे पुलमा सुरक्षित रुपमा बसी खिच्दाको हो। एकछिन अघि प्रदर्शनकारीहरुले ढुंगा हानेर प्रहरीलाई पछाडि फर्कन बाध्य बनाएपछि प्रहरीले लाठिचार्ज गरी एकजनालाई कठालो समात्दै ल्याएको यसमा देखिन्छ। फोटोः उमेश
अघिसम्म खासै पीडाको महसूस नभए पनि अब भने दुख्न थालेको थियो। तलतिर ढुंगा प्रहार अझ तीव्र भयो। आन्दोलनकारीले लगातार ढुंगा प्रहार गरेर अगाडि बढी प्रहरीलाई पछाडि हट्न बाध्य बनायो। केही प्रहरी हामी भएको ठाउँ आकाशे पुलसम्म आए भने केही यताउता अोत लागे। अनि प्रहरीले टियर ग्यास प्रहार गर्यो। एउटा टियर ग्यास सीधै झ्यालतिर प्रवेश गर्यो। अगाडि बढेका आन्दोलनकारीसित ढुंगा सकिएपछि पछाडि फर्कनु बाध्यता थियो र यसै मौकामा प्रहरी लाठिचार्ज गर्न अगाडि बढे। अघि म एकछिनका लागि बसेको गल्लीभित्र पनि प्रहरी पस्यो। त्यहाँ कतिलाई घाइते बनाइयो होला। कतिलाई पक्रँदै भ्यानमा हाल्दै गरेको देखेँ। अब त्यहाँ बढी बसिराख्नु उचित थिएन। त्यसैले घरतिर लागेँ।
कान्तिपुर टिभीको राति ८३० बजेको समाचारमा घाइते हुने पत्रकारहरुको सूचीमा मेरो नाम पनि प्रसारण भएपछि चिनेजानेकाहरुले फोन गर्न थाले। तर सबैलाई मैले खासै केही भएको हैन भनिदिएँ।
आज पनि दलहरुले राजाको सवारीका दिन अझ कडा विरोध प्रदर्शन गर्ने भनेका छन्। तर माफ गर्नुस्, आज म त्यहाँ जाँदिन होला।


Ho Umesh Jee,yo Desh ka Neta bhanauda haru ta sarai choor chan,kam garne janata,pitaikhane janata tara pachi kurchi ma pugera moj garne yestai bagle jasta neta nai ta hun ni haina sathi ho ? Je hos Umesh je hajur ko camera ko card memory kinne aarthik samshya pareko rahe6 yedi hahur le ramrari patrakar ko dharma nivayera kam garnu bhaya rakhema ra janata ( hamiharu jasta ) prabhashi haru lai sahi ra pramani news aru didai janu bhayo bhane hami sabai pathak milera hajur ko samshya tarne chhau,tesko lagi k garnu paryo plz blog ma darshaunu hola la.la ta bye
Comment by kp — September 14, 2005 @ 5:29 pm
Dear Friend,
Thank youv very much indeed. You are the one who keep us intouch with the evidence of Nepal.
Keep it up.
Giri
Comment by Balaram Giri — September 14, 2005 @ 8:21 pm
tai चिरञ्जीवी वाग्ले haina bhatatatatata bajee .timi haru la 46 ma pani janata lai agadi lagayara afu la mooj garu aila pani kukuir ko jasto daat dakhauna laaz lagnu parna hoina ra ?
Comment by bishnu — September 15, 2005 @ 3:21 am