काठमाडौं दिनदिनै तनावग्रस्त हुँदैछ
२०६२ भदौ ३१ शुक्रबार

डिल्लीबजारमा प्रदर्शनकारीहरुले टायर बालेर आवागमन अवरुध्द पार्दै। यसलाई दमकल ल्याएर निभाइएको थियो। फोटोः उमेश
युवा विद्यार्थीहरुको अगुवाईमा शुक्रबार राजधानीको डिल्लीबजारबाट सात दलले निषेधित क्षेत्र तोड्न खोज्दा व्यापक प्रहरी हस्तक्षेप भएको छ। आज मैले धेरै नजिकबाट प्रहरी-प्रदर्शनकारी भिडन्तको अनुभव गरेँ। आज ३ सय जति नेता, कार्यकर्ता गिरफ्तार भए भने दर्जनौं घाइते भए।
अस्ति भोटाहिटीमा घाइते भएपछि आज पहिलो पटक आन्दोलन हेर्न गएको थिएँ। आज झन निर्धारित समयअगावै जाउँला भनेको त एउटा जरुरी काम परेकोले अफिसबाट निस्कन नै ढिला भयो। साढे ३ बजेतिर बल्ल म अफिसबाट निस्केँ र बस चढेँ। रत्नपार्कमा झरेर बागबजार हुँदै जाँदा पनि केही नदेखेकोले अलि अलमलमा परेँ, हैन आज केही भएन कि क्या हो। चार बजेको थियो त्यहाँ पुग्दा। हिजो र अस्ति युध्दभूमिमा परिणत भएको पद्मकन्या वरपर आज शान्त थियो। प्रहरी त टन्नै थिए तर प्रदर्शनकारी थिएन। पुतलिसडकतिर निस्कँदा बल्ल डिल्लीबजार जाने बाटो भरी प्रहरी र प्रदर्शनकारी देखिए। बाँकी ब्लग र थप फोटोका लागि भित्र आउनुहोला

ढुंगाबाट बच्न प्रहरीतिर बसेर खिचेको फोटो। फोटोः उमेश
अस्ति भीडतिर हुँदा घाइते भएको हुनाले आज म सुरुमा प्रहरीतिर नै बसेर हेर्दै र फोटो खिच्दै थिएँ। आन्दोलनको पहिलो चरण अर्थात् नाराबाजी र व्यापक गिरफ्तारी सकिसकेको रहेछ। म त्यहाँ पुग्दा केहीलाई गिरफ्तार गरिँदै थियो। एक महिला भ्यानभित्रैबाट “वीरेन्द्रको हत्यारा, ॥नेन्द्र हो ज्यानमारा” भनी नारा लगाउँदै थिइन्। मैले त्यो भिडियो खिचेको त थिएँ। तर पछि अरु फोटो खिच्न स्पेस नपुगेका कारण डिलिट गरिदिएँ। ती महिलाको दृश्य भने भिडियो ब्लगमा देखिन्छ। गिरफ्तारीको क्रम सकेर अब ढुंगा हानाहानको क्रम सुरु भएको थियो। हेर्दाहेर्दै कयौं टियरग्यास प्रहार गरियो।

आन्दोलनकारीतर्फ प्रहार गरिएको टियरग्यासलाई प्रहरीतर्फ फ्याँकियो। फोटोः उमेश
डिल्लीबजारका पसलहरु बन्द भइसकेका थिए। त्यो पूरै क्षेत्र युध्दभूमिमा परिणत भएको थियो। टियरग्यासले हामीलाई पनि असर पारिसकेको थियो। आँखामा आँसू बगिरहेको थियो। शायद टियरग्यास कै प्रभावले हो कि अहिले यी शब्द लेख्दासम्म पनि टाउको दुखिरहेको छ। आज घरका छतछतबाट आन्दोलनकारीहरुलाई पानी छ्यापेर टियरग्यासको प्रभाव कम पार्ने काम भएको थियो। माथिको फोटोमा एक छेउमा आगो बालिएको देखिन्छ भने अर्को उठिरहेको धुँवा टियरग्यासको हो। त्यहाँ सबै पसल बन्द र कोही मान्छे देखिँदैन। किनभने त्यतिबेला त्यहाँ भिडन्त भइरहेको थियो र त्यो नो म्यान्स ल्यान्ड थियो। अर्थात् अलि पर आन्दोलनकारी थिए भने यता पट्टी प्रहरी थिए।

प्रहरीलाई ढुंगा हान्दै आन्दोलनकारीहरु। फोटोः उमेश
डिल्लीबजारको उकालोले पनि आन्दोलनकारीहरुलाई सहयोग गरेको थियो। उकालोबाट अोरालोमा बसिरहेका प्रहरीमाथि आक्रमण सहज भइरहेको थियो। न्युरोड, खिचापोखरी, भोटाहिटी, बागबजारमा त्यस्तो संभव थिएन।

आन्दोलनकारीहरुको ढुंगामुढाबाट बच्ने प्रयासमा प्रहरीहरु। फोटोः उमेश
यो माथिको फोटो भने प्रहरी प्रतिरक्षामा उभिँदाको हो। आन्दोलनकारीहरु लगातार ढुंगाप्रहार गर्दै थिए भने यता प्रहरीबाट लगातार टियरग्यास प्रहार हुँदै थियो। प्रहरीको फाइदा भने टाउकोमा हेल्मेट र ढुंगा छेक्ने ढाल हुँदो रहेछ। तर आन्दोलनकारीहरुसित भने केही हुँदैन थियो, मात्र हातमा एक दुईवटा ढुंगा। तर पनि प्रहरी आक्रोशित किन थिए, मलाई अचम्म लाग्छ। हामीलाई किन ढुंगा हानेको त भन्दै प्रहरीले गल्ली र घरभित्र छिरी निर्दोषलाई समेत चुटेको देख्दा अचम्म लाग्छ। भरे आन्दोलनकारीहरुको हातमा पनि प्रहरीको जत्तिकै लाठी, ढाल र टियरग्यास भयो भने के होला हालत ?

आन्दोलनकारीहरुलाई लखेट्दै प्रहरी। फोटोः उमेश
आजको जस्तो नजिकबाट धेरै समय भिडन्त हेरेको थिइनँ मैले यसअगाडि। माथिको फोटो प्रहरीले आन्दोलनकारीहरुलाई लखेट्दा खेरीको हो। प्रहरीहरु आन्दोलनकारीलाई लखेट्दा युध्दभूमिमा शत्रुसेना माथि जाइलाग्दा झैं जाइलाग्थे, ठूलो आवाज र कोलाहल मच्चाउँदै। यसका केही झलक भिडियो ब्लगमा राखेको छु।

गल्लीभित्र गएर लखेट्दै प्रहरीहरु। फोटोः उमेश
माथिको फोटो डिल्लीबजार हाइट मार्गको हो। आन्दोलनकारीहरुलाई लखेट्ने क्रममा उनीहरु यो गल्लीभित्र छिरी घरभित्र समेत पसी लाठी वर्षाएका थिए। मानवअधिकारवादी र पत्रकारहरुले यसको कडा विरोध गरेका थिए। प्रहरीका केही जवान भने आक्रोशित थिए। कति न उनीहरुलाई नै के-के न गरे जस्तो। उनीहरुको मुखबाट लोकल ठर्राको गन्ध आउँथ्यो भनी सबैले भने। एकछिन त त्यहाँ प्रहरी जवान, प्रहरी अधिकारी र मानवअधिकारवादी र पत्रकारहरुको चर्काचर्की नै पर्यो। यसलाई मैले अडियो ब्लगमा समेटेको छु। कृपया सुनिदिनु होला।

यो चाहिँ प्रहरीको चुटाइले हात भाँच्चिएका एक युवकको फोटो हो। फोटोः उमेश

ढुंगा हान्दै गरेका प्रदर्शनकारी। फोटोः उमेश
आज पनि ढुंगामुढामा पर्ने डर भयो। सँधै प्रहरीको पछाडि बसेर पनि नहुने। अलि अगाडि त जानै पर्यो। तर अगाडि गयो भने ढुंगाले लाग्ने डर। तर अस्तिको घटनाले पाठ पढाएको हुनाले आज म सुरक्षित हुने उपायमा बढी नै ध्यान दिइरहेको थिएँ। तर आफ्नै अगाडिका एक फोटो पत्रकारलाई भने प्रहरीले हानेको ढुंगा लाग्यो। बटुवा जस्ती देखिने सारी लगाएकी एक महिला पनि प्रहरीलाई ढुंगाले हान्दै थिइन्। अनि अर्की एक महिला पनि देखिएकी थिइन् ढुंगा हान्दै गरेकी। तर ढुंगाले लाग्ने डर भएकोले अगाडि गएर फोटो खिच्न गइनँ।

संघर्षको मैदानमा पत्रकारिता कति गार्हो हुन्छ…..एक फोटो पत्रकार बिजुलीको खम्बामा अोत लागेर ढुंगाबाट बच्ने प्रयास गर्दै। फोटोः उमेश

यो वडा गुरुज्यु अक्षोभ्यराज पान्डेको घर हो। यसको कथा अलि लामो छ। भयो के भने प्रहरीले लखेट्दा केही प्रदर्शनकारीहरु गुर्जुमार्गको यो गल्लीमा रहेको घरभित्र छिरेछन्। बिचराहरुलाई के थाहा त्यो वडा गुरुज्युको घर भनी। उनीहरुलाई त्यहाँ सुरक्षाका लागि तैनाथ सेनाले बन्दूकको नाल तेर्स्याउँदै बाहिर ल्याएछन्। अनि प्रहरीले मारसँग चुटेछन्। अघि माथिको हात भाँच्चिएका प्रदर्शनकारी पनि शायद त्यहीँ प्रहरीको फेला परेका हुन्। हामीलाई थाहा थिएन के भएको भनी। हामी केही पत्रकारहरु त्यहाँ जाँदा त दुई चार जना सैनिक आक्रोशित मुद्रामा बन्दूक लिएर बाहिर निस्के। हामीले हामी पत्रकारहरु हौं, के रहेछ बुझ्न आएको भनी उनीहरुलाई भित्रै बस्न अनुरोध गर्यौं। यहाँ ढुंगाले हान्यो भने को जिम्मेवारी भन्दै उनीहरुमध्येका एक जंगिए। त्यस्तो बेलामा पनि फेरि एक प्रदर्शनकारी आगो लगाइदिनुपर्ने घरमा ….जी भन्दै थिए। स्थिति निकै तनावग्रस्त बन्न लागेको थियो। एक सैनिकले हामीले थप सुरक्षा मगाइसकेका छौ भनी भने।

पछि अफिस फर्कने बेलातिर त्यहाँ हेर्दा हो रहेछ। घरअगाडि र गल्लीमा एक ट्रक सशस्त्र प्रहरी तैनाथ गरिएको रहेछ।

आक्रोशित प्रदर्शनकारीहरुले वडा गुरुज्युको निवास जाने गल्लीबाहिर टायर र तार बालेका थिए। त्यसलाई दमकल प्रयोग गरी निभाइएको थियो। त्यहाँ तीन ठाउँमा आगो लगाइएको थियो।

प्रदर्शनकारीहरुले टेलिफोन र केबलको तारहरुमा आगो लगाएर पनि आवागमन अवरुध्द पारे। फोटोः उमेश
पछि प्रहरीले आन्दोलनकारीहरुलाई मैतिदेवी जाने ठाउँसम्मै लखेट्यो। अोरालोमाथि प्रहरी र तल प्रदर्शनकारी थिए तर कम भइसकेका थिए उनीहरु। त्यसपछि खासै भिडन्त भएन र होला जस्तो पनि लागेन। अनि म फर्केँ त्यहाँबाट

फर्कँदा खिचेको हुँ मैले सडक भर ढुंगैढुंगाको यो फोटो। सबै फोटो म आफैले खिचेको।


very very good photoes
Comment by suvash Sharma — September 16, 2005 @ 10:55 pm
umesh dai mero tarfa bata 1000 rs tapain lai … please send me ur postal add ma cheque pathaidinchhu ….
Comment by बाबु — September 17, 2005 @ 12:34 am
Umesh ji, nice details. i like the audio blog…
Comment by Chankhe — September 17, 2005 @ 7:14 am
OH! Umesh Je!
Thansk your nice picture of ANDOLON. If wouldn’t you mind please! I would like to collect like this picuter could you help me?
Well! Please send us note of your detail address! I would like to send some money for your blogsome.
Your Freen!
Comment by Nilan — September 17, 2005 @ 3:45 pm