उपत्यकाभर प्रतिगमनको पुत्ला जल्यो
२०६२ असोज २ आइतबार

कालिमाटीमा जलाइएको प्रतिगमनको पुत्लालाई निभाउँदै प्रहरी। तस्वीरः उमेश।
आन्दोलनरत सात दलले आज उपत्यकाका सबै निर्वाचन क्षेत्रमा प्रतिगमनको पुत्ला जलाए। सबै निर्वाचन क्षेत्रमा अपराह्न ४ बजे पुत्ला दहन गर्ने कार्यक्रम सार्वजनिक गरिएको भए पनि कुन ठाउँमा गरिने भनी अन्तिम समयसम्म पनि थाहा दिइएको थिएन। म ४ बज्नुअघि नै नयाँ बानेश्वर चोक पुगेको थिएँ। त्यहाँ अरु पनि केही पत्रकार र फोटोग्राफर भेला भएका थिए। तर आन्दोलनकारीहरुको भने नामोनिशान नै थिएन। दिक्क लागेर म त्यहाँबाट बस चढी घरतर्फ लागेँ।
कालिमाटी चोकमा पुगेपछि एक हुल प्रदर्शनकारी नारा लगाउँदै गरेको देखेपछि झरेँ र उनीहरुकै पछि लागेँ। यो कालिमाटी १३ वडाका एमाले कार्यकर्ताहरुको जमात रहेछ। ३०-३५ जनाभन्दा बढी मान्छे थिएनन्। उनीहरु नारा लगाउँदै टेकुसम्म पुगे। सुरुमा पछि पछि अनि अघिअघि प्रहरीको भ्यान थियो। टेकु पुगेपछि त्यो जमात फेरि कालिमाटीतर्फ मोडियो। त्यतिबेला मलाई थाहा थिएन उनीहरुको के चाल हो भनी। पछि पो थाहा पाएँ, त्यो त प्रहरीलाई झुक्याउने चाल रहेछ। उनीहरु फर्कँदै गर्दा प्रहरीको भ्यान र केही प्रहरी पछाडिपछाडि थिए। अगाडि विष्णुमति पुलनजिकै भने बीच सडकमा पुत्ला जलाएर छाडिएछ। हतारहतार प्रहरीहरु त्यसलाई निभाउनतर्फ लागे।
त्यसपछि कार्यक्रम अन्त्य थियो। प्रहरीलाई झुक्याउनु मात्रै यो कार्यक्रमको विशेषता रहेछ। नत्र त सहभागितादेखि लिएर सबै कुरा फितलो थियो यो ठाउँको कार्यक्रममा चाहिँ। अरु ठाउँमा भने भव्य रुपमा नै पुत्ला जलाइएको रहेछ। थप जानकारी पछि….


