कान्तिपुर टेलिभिजनमा “मेरो संसार”
२०६२ असोज १५ शनिबार

केटिभीमा प्रसारण हुँदै गरेको आफ्नो दृश्य आफैले खिच्दा…..
नेपालको पहिलो ब्लग साइट युनाइटेड वी ब्लगको पहिलो वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा रहेका सञ्चारमाध्यममा कार्यरत ब्लगरहरुको भेला नयाँ बानेश्वरस्थित एउटा रेस्टुरेण्टमा भयो। कान्तिपुर टेलिभिजनले आफ्नो प्राइम टाइम न्युज बुलेटिनमा यससम्बन्धी समाचार प्रसारण गरेको थियो। समाचारका क्रममा नेपाली भाषाको पहिलो ब्लगका रुपमा मेरो संसार साइटको होमपेज टेलिभिजन स्क्रिनमा देखाइएको थियो भने मेरो बाइट (छोटो अन्तर्वार्ता) पनि प्रसारण भएको थियो। नेपालको टेलिभिजनले ब्लग सम्बन्धी समाचार प्रसारण गरेको यो पहिलो अवसर थियो। समाचारका लागि केटिभीका दुई “सेलिब्रिटी” पत्रकारहरु दीपक भट्टराई तथा क्यामेराम्यान श्याम श्रेष्ठ भेलामा सहभागी भएका थिए। भट्टराई र श्रेष्ठलाई मैले यसकारण सेलिब्रिटी पत्रकार भनेको हुँ- दीपक भट्टराई होर्डिङ बोर्ड र प्रेस विज्ञापनमा मोडलिङ गर्ने नेपालका पहिला रिपोर्टर हुन् भने श्याम श्रेष्ठ, त्यही भेलामा अरुले सुनाए अनुसार, कतिपय चलचित्रहरुमा अभिनय गरिसकेका कलाकार हुन्।
[आज बिहान बिहानै कसको अनुहार हेरेको रहेछु कुन्नि ? के दशा लागेको हो यस्तो ! यो ब्लग लेख्न झण्डै झण्डै टुंग्याइसकेको थिएँ, बत्ती ठ्याक्कै गयो। युपीएस पनि एक सेकेण्ड पनि ब्याकअप नदिने भएको छ। अहिले खोलेर हेर्छु त पूरै फाइलका एउटा पनि अक्षर काम नलाग्ने भई बिग्रेछ। अब फेरि कहाँबाट कसरी लेख्न सुरु गर्ने….सार्है दिक्क लागिरहेको छ। जस्तै भए पनि अब अघि लेखेको जसरी मन खुलाएर लेख्न सकिन्न। हेरौं कतिसम्म लेख्न सकिँदो रहेछ….अबेला पनि भइसक्यो अब छोटकरीमा लेखेर टुंग्याउनु पर्ला]
मेरो संसारले नेपाली सञ्चारमाध्यममा चर्चा पाएको भने यो दोस्रो अवसर हो। यसअघि राजधानी राष्ट्रिय दैनिकमा नेपालमा ब्लगिङसम्बन्धी एउटा जानकारीमूलक लेख प्रकाशित भएको थियो। यसका लेखक चाहिँ ब्लगर साथी केपी ढुंगाना थिए।
आज केटिभीमा प्रसारण भएको समाचारको एक अंशको भिडियो तलको प्लेयरमा प्ले बटन थिचेर केही बेरको प्रतीक्षापछि हेर्न सकिन्छ। वा तपाईँ यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गरी आफ्नो कम्प्युटरमा भिडियो डाउनलोड गरी पनि हेर्न सक्नुहुन्छ।
भिडियो हेर्नुस्
नयाँ बानेश्वरको रोजमेरी क्याफेमा युडब्लुबीको प्रथम वार्षिकोत्सवका अवसरमा अनअफिसियल डिनर पार्टी हुँदैछ भनी सूचनासहितको निमन्त्रणा यसका संस्थापकद्वय मध्येका एक उज्ज्वलले मेरो इनबक्समा अस्तिको दिनमा नै हालिसकेका थिए। नाममात्र सुनेका तर परिचय भने नभएका ब्लगरहरुसितको भेटघाट रमाइलै हुने आशाले म त्यहाँ गएको थिएँ।
भेलामा सबैजसो ब्लगरहरु युडब्लुबीसित सम्बन्धित थिए। केपी र बालमुकुन्द (ब्लगर नेपालका ब्लगरहरु) अनि म मात्रै त्यो हाँसको बथानमा काग बनेका थियौं। युडब्लुबीमा संलग्न भई ब्लग गर्ने सबै ब्लगर (आन्बिकालाई छाडेर) हरु कान्तिपुर प्रकाशनसित सम्वध्द भएकाले उनीहरुबीच एक-अर्कामा पहिले नै परिचय थियो तर हामी, विशेष गरी म, भने उनीहरुसित परिचित थिइनँ। नामले चिने पनि कतिलाई देखेकै थिइनँ भने कतिलाई देखेको भए पनि अौपचारिक परिचय भएको थिएन। हामीबीचको चिनजान कति थियो भन्ने कुरा त यो घटनाले पनि देखाउँछ- उज्ज्वलसित हात मिलाई म पहिले नै कार्यक्रम स्थलमा आएर बसिसकेको थिएँ। तर एकै छिनपछि मेरो मोबाइलमा घण्टी बज्छ र उही उज्ज्वलले सोध्छ, आउने हैन ? मैले “म आएर तल बसिसकेको छु” भनेर भन्दा बल्ल उनले चाल पाए। केपी र बालमुकुन्दसित भने म पहिलेदेखि नै परिचित थिएँ।
उज्ज्वलले सबैको परिचय गराएर अनौपचारिक कार्यक्रमको अौपचारिक सुरुवात गरिएको थियो। वरिष्ठताको हिसाबले कान्तिपुर दैनिकका समाचार सम्पादक गुणराज लुइँटेललाई प्रमुख अतिथि बनाइएको थियो। परिचयको राउन्ड सकिएपछि सबैले ब्लग गर्दाको आ-आफ्नो अनुभव सुनाए।

ब्लगरहरुको भेला। फोटोः युडब्लुबीबाट साभार
माघ १९ को शाही कदमपछि सेन्सरमा परेको सञ्चारमाध्यमका बीच वैकल्पिक सूचनाको स्रोत बनेर आएको थियो युडब्लुबी। भन्न अप्ठ्यारो मान्नु पर्ने कुनै कारण छैन कि युडब्लुबीबाट प्रभावित भएर नै मैले पनि ब्लग गर्न थालेको हुँ। त्यसो त ब्लग शब्दबाट म पहिले नै परिचित थिएँ। साइबर संसार डुल्ने क्रममा यदाकदा म त्यस्ता साइटहरुमा पनि छिर्थेँ। युडब्लुबी नै पनि माघ १९ अगाडि मैले कति पटक हेरको थिएँ तर म त्यहाँ हेर्न लायक केही भेट्दिन थिएँ। बरु आफूलाई बलात्कार गर्ने पुरुष कसरी खुल्लमखुल्ला हिँडिरहेको छ भनेर गुनासो गर्दै पीडा पोख्ने अमेरिकी महिलाको ब्लग मलाई रुचिकर लाग्थ्यो। त्यसरी ब्लग पढ्दा मलाई म आफू पनि ब्लगर बन्छु भन्ने सोचाइ पटक्कै थिएन।
अकस्मात् नसोचिएको माघ १९ आयो र प्रेस स्वतन्त्रतालाई टपक्क टिपेर लग्यो। फोन र इन्टरनेट अनि एफएममा समाचार बन्द गरेर हामीजस्ता सूचनाका भोकालाई दिउँसै रात पार्ने काम भयो। सञ्चारमाध्यममा कडा सेन्सरसीप लागू हुँदा युडब्लुबीले जुन साहसका साथ आफूलाई ताजा सूचनाको एकमात्र स्रोतका रुपमा आफूलाई स्थापित गर्यो, त्यसको प्रशंसा जति गरे पनि कमै हुन्छ। ती दिनका ब्लगहरु ऐतिहासिक थिए। इराकका सलाम पाक्सले जस्तै युडब्लुबीले पनि ती दिनका ब्लगहरुको संग्रह पुस्तकको स्वरुप निकाले एउटा दस्तावेज बन्ने थियो।
माघ १९ नआएको भए वा माघ १९ पछि युडब्लुबीले आफूलाई परिवर्तित स्वरुपमा पेश नगरेको भए मेरो संसारको जन्म हुने थियो भन्नेमा मलाई शंका लाग्छ। यद्यपि मैले ब्लग सुरु गर्दा युडब्लुबीजस्तै समाचारमूलक नभएर आफ्ना गन्थन पोख्ने ठाउँजस्तो मात्र बनाउन खोजेको थिएँ। तर समयक्रमसँगै मेरो ब्लग लोकतन्त्र र शान्तिका लागि समर्पित हुन पुगेको छ।
भेलामा अनुभव, विचार आदान-प्रदान भए। युडब्लुबीका संस्थापकद्वयले पडकास्टिङ (अडियो ब्लग) र भिडियो ब्लगिङका लागि मेरो संसारको प्रशंसा गरे। नेपालन्युजले फट्याइँ गरेर गुगलको विज्ञापन राखिरहेको मेरो संसारमा प्रकाशित ब्लगले उज्ज्वललाई पनि प्रभावित पारेको रहेछ।
ब्लगरहरुबीच एकअर्कामा सहयोग गर्ने सहमति भयो। त्यसो त यस्तो सहयोग हुँदै आएको पनि छ। सुरुका दिनमा मेरो ब्लगमा कमेन्ट गर्न नमिल्ने समस्या मैले उज्ज्वलकै सहयोगमा समाधान गरेको हुँ। ब्लगरनेपाललाई पनि ब्लग चलाउन मैले सहयोग गरेको थिएँ। ब्लगरहरुमा एकअर्कामा प्रतिस्पर्धाको हैन, सहकार्यको भावना विकास भएको अनुभव सबैले गर्ने कुरा हो। उदाहरणको लागि केपीलाई म पहिले चिन्दिनँ थिएँ। ब्लग गर्न थालेदेखि उसको र मेरो इमेलबाट परिचय भएको हो र एक दुई भेटपछि हामी नजिकका मित्रजस्ता भइसकेका छौं। [केपीले तल कमेन्ट लेखेको छः नजिकका मित्र मात्रै ? हामी असल मित्र भइसकेका छौं। ]
भेला परिचय र अनुभव साट्न उपयोगी थियो। यति हुँदाहुँदै पनि ब्लगरहरुबीच निकट भविष्यमा उठ्न सक्ने कठोर राजनीतिक कदमका बीच आफूहरुलाई सुरक्षित पार्न कुनै संयन्त्र बनाउने वा समूह गठन गर्ने कुरा भएनन्। कुनै धम्कीहरु आएको छ कि छैन भनी मैले राखेको जिज्ञासामा उज्ज्वलले “खासै छैन” भने। एकपटक सेनाले बोलाएको भन्ने कुरा के हो त भनी सोध्दा खासै केही हैन, हामीले हेरिरहेका छौं है भनी जानकारीसम्म गराएका थिए भनेर उनले बताए।
तर उज्ज्वल पनि केही हुनसक्ने आशंकाले सर्तक भने रहेछ। नेपालब्लग्स डट कम नामको नयाँ साइट त्यसैको उपज हो। हाल त्यसमा नेपालीमा गरिने ब्लग राखिने भए पनि भविष्यमा डट कम डट एनपी बन्द गराउने काम भयो भने उसले यही डोमेनबाट आफूलाई सुचारु गराउन सक्छ।
ब्लगलाई नेपाल पत्रकार महासंघका नेता पत्रकारहरुले पनि खासै ध्यान नदिएको अनुभव केपीले सुनाए। ती नेता-पत्रकारहरु तिमीहरुको अथेन्टिसिटी के भनेर प्रश्न राख्छन् रे। जबकि प्रेस स्वतन्त्रता अनि लोकतन्त्र र शान्तिका लागि अरुको त कुरा नगरौं हामी सञ्चारमाध्यममा काम गर्नेहरुद्वारा सञ्चालित ब्लगले आफ्नो ठाउँमा योगदान पक्कै दिएको छ। बदलिँदो परिस्थिति अनुसार आफूलाई अपडेट गर्न नसक्ने नेता-पत्रकारहरुको सोचाइका कारण यस्तो भएको हुनसक्छ। हामी नेपालका मिडिया ब्लगरहरुको पनि आ-आफ्नै आचारसंहिता छन्। हामी नभएको कुरा लेख्दैनौं, देखेको कुरालाई छाड्दैनौं। आजसम्म मिडिया ब्लगरले एउटा पनि गलत ब्लग गरेको उदाहरण छैन। किनभने उनीहरु सचेत छन्।


just हामी नजिकका मित्रजस्ता भइसकेका छौं। . No frn we are good friend not only nagik ka Mitra ok
Comment by kp — October 2, 2005 @ 1:06 pm
बाँचेर पनि मर्नुपदार्
माधव ढुङ्गेल/हरिनारायण गौतम, ग्वालीचौर -बागलुङ)
सेनाको गोलीबाट निर्दोष छ जना मारिएको र छ जना घाइते भएको तीन वर्ष पुग्न लाग्दा पनि दोषीमाथि कारबाही त के, छानबिनसम्म गरिएको छैन ।
“प्राण गएन ! प्राण छउन्जेल जीउको माया हुँदो रै’छ । उठ्न सक्दिनँ । न बस्न हुन्छ, न त सुत्न नै । रातभरि पनि दुख्छ । तीन वर्ष हुनलाग्यो, दिनरात रोएर काट्नुपरेको छ । हे भगवान्, मलाई चाँडै लैजाऊ !”
तीन वर्ष हुन लाग्यो खिमबहादुर जीसी, ६२, ढलेको । सदरमुकामबाट करिब दुई दिनको पैदल दूरीमा पर्ने बागलुङ जिल्लाको ग्वालीचौर गाविस, खारा गाउँका खिमबहादुरले केही अपराध गरेका छैनन् । न उनको माओवादीसँग कुनै नाता छ, न त सरकार पक्षसँग नै । तर, दसनङ्ग्रा खियाएर जीवन गुजारिरहेका भारतीय सेनाका भूतपूर्व सिपाही आफ्नै घरअगाडि सेनाको गोलीबाट ढालिए । गोली लाग्दा उनी गोठमा गोरु बाँध्दै थिए । २५ कात्तिक २०५९ का दिन भएको यस घटनापछि खिमबहादुर अहिलेसम्म उठ्न सकेका छैनन् । बस्ने ठाउँ काटेर प्वाल बनाइएको कुर्सी उनको कोठामा छ, त्यसैमा बसेर कोपरामा दिसा गर्छन् । पिसाब गर्न पनि पाइप लगाउनुपर्छ ।
ढाडमा गोली लागेकाले दुइटै गोडा चल्दैनन् । “मेरुदण्डको नशा छिनेको छ भने डाक्टरले । अस्पताल बसेर पनि हुन्न भन्ने,” खिमबहादुर भन्छन्, “डा उपेन्द्र देवकोटाले पनि घरमा नै गएर आराम गर्न भने । औषधि नखानू भनेको छ ।” २२ वर्ष भारतीय सेनामा काम गरेर आएका खिमबहादुर पेन्सन लिन पनि जान नसकेको बताउँछन् ।
खोलावारि खिमबहादुर ढलेको जति भयो, खोलापारिका भीमबहादुर विश्वकर्मा, ४०, सुतेको पनि त्यत्ति नै भएको छ । २५ कात्तिक ०५९ मा देब्रे घुँडामा सेनाको गोली लागेका उनलाई उपचारका लागि लगिएन । औषधि गर्ने पैसा भएन । गाउँलेले चन्दा उठाएर पाँच दिनपछि मात्र गाउँको मेडिकलमा लगे । त्यहाँ औषधि हुन नसक्ने जानकारी पाएपछि उनलाई बुटवल लगियो । “पाल्पामा खुट्टा काटिदिन्छ भने, त्यसैले बुटवल गएको,” भीमबहादुर भन्छन्, “गोली लागेको ठाउँमा अपरेसन गर्न ढिला भएकाले रगत जमेर नशा काटिएछ ।” अहिले उनको खुट्टा सुकेको छ । उनी अर्काको जग्गामा बनाइएको झुपडीमा बसोवास गर्दैछन् ।
सानैमा बाबु मरेका र आमा पोइल गएकीले अनाथ भएका भीमबहादुरको सम्पत्तिका नाउँमा ११ वर्षदेखि तीन वर्षबीचका चार सन्तान र पत्नी सुमित्रा छिन् । गुल्मीको हर्दिनेटा गाविसमा जन्मेका भीमबहादुर बच्चैमा बागलुङको खारा आए, अर्काको घरमा गोठालो बस्दै त्यहीँ हुर्के । १८ वर्षको हुँदा भारत गएर फर्केपछि २५ वर्षको उमेरमा यहीँका नरबहादुर जीसीले उनको बिहे गराइदिए, दाँगाचौरकी सुमित्रासँग । “एक वर्ष ससुरालीछेउमा बसेँ । त्यसपछि मेरै छाप्रोमा बस् भने, अनि यहीँ बस्न थालेको हुँ,” भीमबहादुर भन्छन्, “आफ्नो जग्गाजमिन छैन, श्रीमतीले अर्कैको जग्गामा खेती गर्छे, पाँच मुरीजति कमाउँछे । हामीलाई खान भएको छ । श्रीमती घत्रक्क हुने हो भने छोराछोरीले झन् दुःख पाउँछन् ।”
यसरी भयो घटना
२५ कात्तिक ०५९ का दिन बिहान साढे ९ बजेतिर भीमगिट्ठेको सेना पूर्व ग्वालीचौरतर्फ गस्तीमा जाँदै थियो, खाराबजारनजिकै आइपुग्दा दारेगौँडा भन्ने ठाउँमा पुग्दा माओवादीले थापेको विद्युतीय धराप विस्फोट भयो । दुई सैनिक त्यसमा परे । एक जनाको त उपचार गर्दागदै मृत्यु भयो ।
अग्लो डाँडाको फेदीमा भएको सो विस्फोटपछि माओवादी खोज्न सेना डाँडामाथि नलागी गाउँ पस्यो । अन्धाधुन्ध रूपमा गोली हान्न थाल्यो । परिणामः छ जना साधारण मारिए, जसमा भारतमा काम गरेर दसैँ, तिहार मान्न आएका १८ वर्षे प्रकाश श्रेष्ठ पनि परे । हातमा गोली लागेपछि कुद्दै घरभित्र छिरेका प्रकाश मजेरीमै ढालिए । छिमेकी टेकबहादुर घिमिरे भन्छन्, “उसलाई गोली हानेपछि माओवादी मर्यो, फाल्देऊ भनेर सैनिकहरू कराए ।”
प्रकाशकी आमा ग्वालीचौरमै चियापसल थापेर गुजारा गर्दैछिन् । “निर्दोषलाई मारे । अपराधीलाई कारबाही नभएको देख्दा दुःख लाग्छ,” प्रकाशकी आमा तुलसीकुमारी, ५८, गला अवरुद्ध पार्दै भन्छिन्, “दोषीसमेत नखोजिएको देख्दा त हाकिमहरूसमेत अपराधी हुन् कि जस्तो लाग्छ ।” कान्छो छोरा प्रवीण पनि काम गर्न पञ्जाब गएकाले अहिले उनको साथमा छोरी मात्र छिन् ।
प्रकाश घरभित्र मारिए भने विजय कुमाल खेतको खलियानमा धान चुट्दाचुट्दै ढालिए । गुल्मीको हर्दिनेटा गाविसका कुमाललाई सम्झँदै स्थानीय पसले टेकबहादुर घिमिरे भन्छन्, “अर्काकहाँ काम गर्न बसेर पढ्दै त्यसै वर्ष एसएलसी गरेको थियो ।” एउटी मानसिक स्थिति ठीक नभएकी महिला मारिइन् भने खच्चड खेद्दै बजारतिर हिँडेका बोबाङ गाविसका नीमबहादुर बिके पनि गोलीको सिकार बनाइए । उनी एक दिनपछि मरे । उनीसँगैका साथी खच्चड खेद्ने बोबाङकै फुर्सा बिक, ३८, को काँध पनि गोलीले छेड्यो । अहिले पनि खच्चड खेद्ने काम गर्ने फुर्सा खच्चरमा सामान लोड गर्नसमेत नसक्ने भएका छन् ।
जङ्गलमा घाँस काट्न हिँडेका छविलाल गौतम पनि मारिए । दिदीभिनाजुसँग बस्ने गौतम लठेब्रा थिए । गुल्मीको मुसीकोटमा रहेको ससुराली जान लाग्दा छविलाल मल्लको पनि सेनाको गोलीबाट मृत्यु भयो । उनी धराप पड्केको ठाउँबाट आधा किलोमिटरजतिको दूरीमा रहेको कुदुमे मगरको होटेलमा चिया खान बसेका थिए । भीमगिट्ठे घर भएका नरबहादुर सिञ्जाली सेनाले खारा बजारको एउटा घरको छतमाथिबाट चलाएको गोली लागी घाइते भए भने गजबहादुर घर्तीका नबालक छोरासमेत घाइते भएका थिए ।
धान काट्न धमाधम भएकाले सबै मान्छे मेलामा थिए । घरको झ्यालमा बसिरहेकी सुमित्रा आचार्यको कानमुनि गोली लाग्यो । आचार्यका नातेदार हीरामणि आचार्य भन्छन्, “पहिलादेखि नै सुस्त काकीको स्मरणशक्ति गोली लागेपछि अरू क्षीण भएको छ ।”
कारबाही भएन
छ जना मारिएको र छ जना घाइते भएको तीन वर्ष पुरानो घटनामा निर्दोष मारिएको सेनाका अधिकारीहरूले पनि अनौपचारिक रूपमा स्वीकारेको स्थानीयवासीहरू बताउँछन् । तर, त्यस घटनाका दोषीउपर कारबाही त के, कुनै पनि निकायले छानबिनसमेत गरेको छैन ।
त्यसो त छ जना घाइतेमध्ये एक भारतीय सेनाका भूपू खिमबहादुर जिसीलाई त स्थानीय बासिन्दाको अनुरोधमा त्यसै दिन सेनाको हेलिकप्टरमा पोखराको मणिपाल अस्पतालमा लगेर उपचारसमेत गरिएको थियो । खिमबहादुर भन्छन्, “सुरुको १४ दिनको खर्च ६४ हजार रुपियाँ आएको थियो, त्यो सेनाले बेहोर्यो ।” यसबाट पनि सेनाले निर्दोष परेको भनी स्वीकारेको पुष्टि हुन्छ । ढाडमा लागेको गोलीले भुँडी फुटाएको बताउने उनी एक गास मात्र खाना बढी भए पनि पेट चर्किने बताउँछन् ।
खिमबहादुरलाई गोली लाग्नुमा उनको भारतीय सेनामा हुँदा आफूले पालना गरेको नियमले काम गरेको छ । “२२ वर्ष काम गरियो तर कहिल्यै अन्याय गरिएन । उग्रवादीहरूसँग लड्दा पनि दोहोरो फायर नभई गोली हान्दैनथ्यौँ, घेरा हालेर समात्थ्यौँ,” खिमबहादुर भन्छन्, “आफूजस्तै सम्झेर निर्दोषलाई केही गर्दैनन् भनेर गोठमा गएको, यस्तो भयो ।”
घटनालगत्तै गाउँबाट अधिकांश युवाहरू पलायन भए पनि अहिले फर्केका छन् । त्यस दिनको ज्यादती सम्झदै मारिएका प्रकाश श्रेष्ठका साथी स्थानीय युवा मिठु सुनार भन्छन्, “मेरो पनि छातीमा बन्दुक तेस्र्याएका थिए तर भीमगिट्ठेमा बेसक्याम्पनजिकै दाइको सुन पसलमा जाँदा चिनेको सेनाले देखेकाले बाँचेँ ।” त्यसो त सेनाको कुटाइ खाएका टेकबहादुर घिमिरे भन्छन्, “उनीहरूको गोली सकिएकाले मात्र, नत्र धेरै मारिन्थे ।”
मर्ने त मरिहाले, घटनाको तीन वर्ष बित्दा पनि दोषीमाथि कारबाही र पीडितलाई क्षतिपूर्ति नदिइएकोमा स्थानीयवासी दुःखी छन् । घटनापछि ग्वालीचौरमा करिब एक महिना सेनाको घेराउ थियो । तर, अहिले भने तिनको व्यवहार फेरिएको ठान्छन् उनीहरू । टेकबहादुर भन्छन्, “पहिले त समातेर पिटीहाल्थे, अहिले कहिलेकाहीँ गस्तीमा आए पनि पिटेको सुनिँदैन ।” तर पनि, जीवनलाई कहिल्यै उठ्न नसक्ने गरी ढलाउने तीन वर्षअघिको त्यस आतङ्कपूर्ण घटना सम्झँदै खिमबहादुर भन्छन्, “ओहो, त्यस्ता दिन पनि आउने ! फेरि पनि आउने हो कि ?”
Comment by SAGAR — October 2, 2005 @ 2:55 pm
Umesh ji,
Badhaii chha KTV ko hotspot ma parnu bhayeko ma!
Afno mookha heri afai danga ta hoina?
Comment by Chankhe — October 2, 2005 @ 4:39 pm