आन्दोलन दशैं तिहारसम्म स्थगित
२०६२ असोज १६ आइतबार
सात दलले अब नारा, जुलुस नगर्ने रे दशैं तिहारसम्मका लागि। अर्थात् दशैं र तिहारसम्मका लागि आन्दोलन स्थगित। भन्नलाई त उनीहरुले दशैं र तिहारलाई पनि आन्दोलन कै रुपमा मनाउने भनी शब्दजाल फ्याँकेका छन्। तर त्यो कुरा कुरामै मात्र सीमित हुने पक्कै छ। दशैं मान्नका लागि काँग्रेसको महाधिवेशनका लागि राजधानी आएका कार्यकर्ताहरु घर फर्कन थालेपछि उनीहरुकै बलमा टिकेको सडक आन्दोलन शिथिल हुनु स्वाभाविकै थियो। सडकमा चर्का नारा लगाउने विद्यार्थी नेता गगन थापासमेत नेपालमा कसैलाई थाहा नदिई सुटुक्क अमेरिकाको एक महिने शयर गर्न निस्किहाले। कसरी गर्ने त आन्दोलन ? जति गर्दा पनि जनताले पत्याएका हैनन् दलहरुलाई। जनताको त के कुरा गर्नु, आफ्नै कार्यकर्ताहरुलाई अनिवार्य उपस्थितिको ह्विप पनि लगाउन सकेनन् उनीहरुले।
अब बल्ल बल्ल तातिएको सडक पनि सेलाउने भयो। यसलाई फेरि तताउन गार्हो हुनेछ पक्कै। साँच्चिकै जनआन्दोलन गर्ने हो भने यो अवधिमा जनतालाई बुझाउन सक्नुपर्छ देशको परिस्थिति अनि उतार्न सक्नुपर्छ निरंकुशताका विरुध्द। आफ्ना गल्तीहरुलाई लिएर माफी माग्नुपर्छ र फेरि गल्ती नगर्ने विश्वास दिलाउनु पर्छ। उता राजा भने दशैंमा पनि सडकमा हिँड्ने तयारीमा छन्। घटस्थापनाको दिन मंगलबार राजारानी पोखराको सडकमा पैदल यात्रा गर्दैछन्।

