अडियो ब्लगः जंगबहादुरसँगको पुनर्मिलन
२०६२ असोज १७ सोमबार
बोलीको गोलीले ठोक्ने कवि अर्जुन पराजुलीले पछिल्लो साता कीर्तिपुरमा आयोजित नागरिक सभामा सुनाएको कविता हो यो। कविता पढ्नमा भन्दा सुन्नमा मजा छ। अझ देख्नमा मजा हुन्थ्यो। म तपाईँहरुलाई देखाउन त सक्दिन तर सुनाउन भने सक्छु। अर्जुन पराजुलीको कविता वाचन शैली पनि उनको कविता जत्तिकै जोशिलो र रोमाञ्चक हुने गर्छ। यसलाई सुन्नका लागि यहाँ क्लिक गर्नुस्। वा डाउनलोड गरी आफ्नो कम्प्युटरमा सेभ गर्न माथिको लिङ्कमा राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्। [Size 701 KB Length 5:50 Format MP3]
कविताको लिखित स्वरुप हेर्न चाहनु हुन्छ भने भित्र आउनुहोला। बाँकी
पुन्टे, भुन्टे, बसन्ते र सन्ते
तिमीलाई व्यापारमै व्यस्त छौ भन्थे
पुन्टे, भुन्टे, बसन्ते र सन्ते
तिमीलाई व्यापारमै व्यस्त छ भन्थे
अनि कोतपर्वको दोस्रो संस्करण निकाल्न कसरी भ्यायौ ?
पुन्टे, भुन्टे, बसन्ते र सन्ते
तिमीलाई व्यापारमै व्यस्त छ भन्थे
अनि कोतपर्वको दोस्रो संस्करण निकाल्न कसरी भ्यायौ ?
जंगबहादुर, तिमी आयौ ?
अनुहार पनि सर्लक्कै फेरिएछ
अनुहार पनि सर्लक्कै फेरिएछ
यता हामीलाई सञ्चै छ
अनि उताको हालखबर के छ ?
किन काटेको ? जुंगा काटेछौ
घोडा पनि हेलिकप्टरसित साटेछौ
किन काटेको ? जुंगा काटेछौ
घोडा पनि हेलिकप्टरसित साटेछौ
अनि घडेरी कहाँ-कहाँ किन्यौ ?
जंगबहादुर, मलाई चिन्यौ ?
दुब्ला थियौ, मोटाएछौ
दुब्ला थियौ, मोटाएछौ
उमेर पनि सर्लक्कै घटाएछौ
जंगबहादुर मरे भनेर धेरैले हल्ला पनि गरे
तिमीलाई सग्लै देखेपछि
हल्ला गर्नेहरु सब डल्ला परे
जंगबहादुर मरे भनेर धेरैले हल्ला पनि गरे
तिमीलाई सग्लै देखेपछि
हल्ला गर्नेहरु सब डल्ला परे
घोडाबाट लड्यौ कि क्या हो ?
घोडाबाट लड्यौ कि क्या हो ?
मुण्टो पनि बाङ्गो-बाङ्गो लाउँछौ…
घोडाबाट लड्यौ कि क्या हो ?
मुण्टो पनि बाङ्गो-बाङ्गो लाउँछौ…
जंगबहादुर, अनि म कहाँ कहिले आउँछौ ?
कुकुर पालन व्यवसायमा नयाँ कदम चालेछौ
नेपाली कुकुर पाल्न छाडेर
विदेशी कुकुर पालेछौ
कुकुर पालन व्यवसायमा नयाँ कदम चालेछौ
नेपाली कुकुर पाल्न छाडेर
विदेशी कुकुर पालेछौ
खुशी लाग्यो, कुकुरै भए पनि चिन्न थालेछौ
त्यस रात अरुका कुकुरहरु भुकिरहे
तिम्रो कुकुरले भाषण दियो !
त्यस रात अरुका कुकुरहरु भुकिरहे
तिम्रो कुकुरले भाषण दियो
जुन रात शहरमा कुकुरहरुको ट्यालेन्ट शो थियो
जंगबहादुर, अनि तिम्रो छोराले एसएलसी दियो ?
कुकुरलाई साङ्लाले डोर्याएर
मर्निङ वाकमा जाने शोख
तिम्रोमात्रै हैन, तिम्रा बाको पनि थियो
कुकुरलाई साङ्लाले डोर्याएर
मर्निङ वाकमा जाने शोख
तिम्रोमात्रै हैन, तिम्रा बाको पनि थियो
तिमीले डोर्याएको कुकुर पनि काटिकुटी
तिम्रा बाको जस्तै देखियो
यो कुकुर पनि उही हो कि क्या हो ?
कुकुरलाई साङ्लाले डोर्याएर
मर्निङ वाकमा जाने शोख
तिम्रोमात्रै हैन, तिम्रा बाको पनि थियो
तिमीले डोर्याएको कुकुर पनि काटिकुटी
तिम्रा बाको जस्तै देखियो
यो कुकुर पनि उही हो कि क्या हो ?
ल्याप्चे परीक्षण गर्यौ ?
जंगबहादुर, अनि तिमीले डीभी भर्यौ ?
(कीर्तिपुरमा आयोजित नागरिक सभामा कवि अर्जुन पराजुलीद्वारा वाचन गरिएको कवितालाई मेरो संसारले संकलन गरी यहाँ प्रस्तुत गरेको हो। लाज नभएकाहरुलाई स्रोत उल्लेख नगरी साभार गर्न छुट छ)
अर्जुन पराजुलीका अन्य कविता
१. सत्र साल भाग दुई
(नयाँ बानेश्वरको नागरिक सभामा वाचन गरिएको)
२. जंगबहादुरको कुकुर
(कीर्तिपुरको नागरिक सभामा वाचन गरिएको)

