शुभकामना…. विजया दशमीको कि दशैंको ?
२०६२ असोज १९ बुधबार

अहिले नेपालीहरुमा शुभकामना दिने लहर चलेको छ। नेपालीहरुको महान चाड दशैं मंगलबार घटस्थापनापछि अौपचारिक रुपमा सुरु भइसकेको छ। वातावरण दशैंमय हुन थालिसकेको छ। त्यसैले शुभकामना आदानप्रदानको क्रम पनि बढेको छ। तर, मैले एसएमएस, फोन र इमेलबाट पाएका ९० प्रतिशत शुभकामनामा विजयादशमीको शुभकामना दिइएको हुन्छ। हुनत शुभकामना भनेको दिनेको खुशी हो, यही शुभकामना ले भनेर भन्ने कुरा आएन। तर पनि मलाई लाग्छ मान्छेले नबुझेर विजयादशमी एक दिनको मात्र शुभकामना दिइरहेका छन्। जबकि पूरै दशैंको “थोक” शुभकामना दिन मिल्छ त्यही पाँच छ शब्दको प्रयोगबाट। फेरि हामी नेपालीहरु भारतीयहरु जस्तो विजयादशमीको दिनलाई मात्र चाडका रुपमा मान्दैनौं। हाम्रो लागि त पूरै दशैं चाड हो। हाम्रो लागि दशैं धर्मभन्दा पनि संस्कृति हो। घटस्थापनादेखि पूर्णिमासम्मको दिनलाई हामी दशैंका रुपमा मनाउँछौं। त्यसैले विजयादशमी एक दिनको लागि मात्र शुभकामना दिनुको सट्टा समग्र दशैंको शुभकामना दिन किन कञ्जुस्याइँ गर्ने, कि कसो साथी हो ? (तस्वीर साभारः परेवा डट कम)

