कान्तिपुर एफएमको प्रसारण बन्द
अपडेट-२ कान्तिपुरबाहेक इमेज एफएम ९७.९ ले पनि आफ्नो कार्यक्रम अपलिंक गरी पश्चिमाञ्चल र पूर्वाञ्चलमा प्रसारण गर्ने गरिरहेको थियो। पोखरामा हिजोदेखि समाचार बज्न छाड्यो रे, गीतमात्र बजाउँदैछ रे। अरु ठाउँमा इमेज एफएमको प्रसारण स्थिति कस्तो छ, थाहा हुन सकेको छैन। कान्तिपुरलाई काउन्टर दिन सरकारले नै इमेजलाई यसरी अपलिंक गर्ने अनुमति दिएको हल्ला मैले सुनेको थिएँ। इमेजलाई अनुमति असोज १८ को पहिलो “कू” पछिको सरकारले दिएको हो। कान्तिपुरलाई अपलिंकको अनुमति भने शायद गुप्ता सञ्चारमन्त्री हुँदा दिइएको थियो क्यारे। (कात्तिक ५)
अपडेट-१ यो सरकारलाई जे काम गर्न पनि राति कुर्नु पर्ने रहेछ। त्यसैले दिउँसो दुनियाँका अगाडि केही गर्न नसकेपछि राति सवा ११ बजे दर्जनौं प्रहरी जबर्जस्ती आएर कान्तिपुर एफएमको कार्यालयमा प्रवेश गरी पूर्वाञ्चलमा अपलिंक गर्न प्रयोग हुने सामान उठाएर लगेछन्। अब कान्तिपुर एफएमको प्रसारण पूर्वाञ्चलमा बन्द भएको छ। काठमाडौंमा भने प्रसारण यथावत छ।
२०६२ कात्तिक ४ शुक्रबार
सञ्चार माध्यमलाई नियन्त्रण गर्न ल्याइएको अध्यादेश पालना गराउन आज शाही सरकारले कान्तिपुर एफएममाथि भौतिक कारबाही गर्ने दुस्साहस गरे पनि त्यो सफल भने हुन सकेन। अहिले कान्तिपुर एफएम परिसरलाई घेरिरहेका सुरक्षाकर्मीहरु र सञ्चार मन्त्रालयबाट आएका अधिकारीहरु फर्किसकेको कान्तिपुर टेलिभिजनले जनाएको छ। हाल त्यहाँ संयुक्त राष्ट्रसंघ मानवाधिकार उच्चायोग कार्यालयका प्रतिनिधि, बार एसोसिएसन लगायत विभिन्न संघसंस्थाका पदाधिकारीहरु, सञ्चारकर्मीहरु र राजनीतिक दलका नेताहरु बसिरहेका छन्। (more…)

