२०६२ कात्तिक १५ मंगलबार
मैले आफ्नो क्यामेराको लागि मेमोरी कार्ड सहयोग स्वरुप पाएको छु- यो खुसीको खबर तपाईँहरुलाई पहिले नै सुनाउनु पर्ने हो। तर बीचमा जागिर खुस्केपछिको उथलपुथल मनस्थितिका कारण अधुरै रह्यो। त्यसमाथि मलाई जसले हुलाकमार्फत् कार्ड पठाउनुभएको थियो, उहाँले आफ्नो परिचय दिन चाहनुभएन। “ब्लगको एक शुभचिन्तक र नेपालमा एक सफल लोकतन्त्र देख्न आतुर प्रवासी नेपालीको रुपमा मेरो परिचय सिमित गर्नुहोला” उहाँले यसो भन्नुभयो। विगत केही दिनमा मैले गर्न सकेका लामो अवधिका भिडियो ब्लग त्यही कार्डका कारण संभव भएको हो।
यो कार्ड सहयोगस्वरुप प्राप्त भएका कारण म धेरै खुसी छु। मेरो ब्लग सहभागितामूलक पत्रकारितातर्फ अग्रसर भइरहेको प्रमाण हो। सहभागितामूलक पत्रकारिता अर्थात् पाठक वा दर्शक सहभागी हुन पाउने। दोहोरो संवाद, सहयोग हुने। मेरो संसार कुनै व्यापारीको पैसामा चलेको पत्रिका वा सञ्चार माध्यम हैन। यो व्यक्तिगत प्रयासमा पाठकलाई सूचना र मनोरञ्जनका साथ आफ्ना व्यक्तिगत भावना साट्न बनाइएको मञ्च हो। त्यसैले यसलाई पाठकको सहयोगको सदा खाँचो रहन्छ। मलाई थाहा छ, मेरो संसारले छोटो समयमा पाएको लोकप्रियता देखेर इर्ष्या गर्नेहरु धेरै छन्। कतिले कमेन्टमार्फत् त्यसलाई पोखेका छन्। कति कमेन्ट त राख्नै नमिल्ने गरी गालीले भरिएका हुन्छन्। ममाथि व्यक्तिगत आक्रमण हुने ईमेलहरु लगातार आइरहेका छन्। यो सहयोगको कुरा सार्वजनिक भएपछि त्यस्तो क्रम अझ बढ्ने मैले अनुमान लगाएको छु। तर म त्यतिबेलासम्म विचलित हुन्न, जबसम्म मलाई पाठकहरुले साथ दिनुहुनेछ। मलाई त्यतिबेला सन्तोष लाग्छ जब मलाई कमेन्टमार्फत् लगाइएका आरोपको जवाफ पाठकले कमेन्टबाट नै दिन्छन्। (more…)