भाइटीकाको दिन “नेपाली ताजमहल”
२०६२ कात्तिक १७, बिहीबार

पाल्पाको रानीमहललाई नेपाली ताजमहल भन्ने गरेको सुनेको थिएँ। तर आज रानीपोखरीमा भेटिएका एक जोडी पोखरीको बीचमा रहेको बालगोपाल मन्दिरलाई नै नेपाली ताजमहलको संज्ञा दिँदै थिए। प्रताप मल्लले आफ्नी रानीको लागि मायाले बनाएको भएर यसलाई पनि ताजमहल भने हुन्छ रे, आफ्नी प्रेमिका (शायद) सित उ तर्क गर्दै थियो। भाइटीकाको दिन वर्षको एक पटकमात्र खुल्ने यो मन्दिर सुन्दर त छ नै यही विशेषताका कारण अरुभन्दा फरक पनि छ। आज अपराह्न त्यहाँ पुगेर खिचेका विभिन्न फोटोहरुसहितको फोटो फिचर हेर्ने भए भित्र आउनुस्। भिडियो हेर्नका लागि यहाँ क्लिक गर्नुहोला। डाउनलोड गरेर हेर्न यहाँ राइट क्लिक गरी सेभ टार्गेट एज गर्नुस्। बाँकी

रत्नपार्कको आकाशे पुलबाट रानीपोखरी हेर्दा यस्तो देखिन्छ। अरु बेला भए यसरीमात्र हेरेर चित्त बुझाउनु पर्ने हुन्छ। तर आज त भित्रै जान पाइन्छ।

यो चाहिँ बाहिरको फलामे बारबाट चियाएर खिचेको फोटो हो। अब भित्र जाने हैन त ?

लौ अब हामी भित्र पस्यौं। पोहोर परार भए भित्र पस्न लामो लाइन बस्नु पर्ने हुन्थ्यो। तर यस पटक भने सीधै पस्न पाइयो। रानीपोखरीलाई पनि कमाई खाने भाँडो बनाइएको छ। कहिले राजाको त कहिले युवराजको जन्मोत्सव भन्दै सँधैजसो नै रानीपोखरी परिसर खुल्न थालेपछि रानीपोखरी भनेको कस्तो होला भनी उत्सुकता हराएकोले भीड कम भएको हुनसक्छ। आज पनि त्यहाँ मेला रहेछ। मन्दिर भने मेलामा पनि खुल्दैन। मेला रानीपोखरी परिसरमा मात्र हुन्छ।

रानीपोखरीमा र्याफ्टिङः काठमाडौंका नदीमा ढल बग्छन्। तालतलाउ छैनन्। अनि रानीपोखरीबाहेक अरु कहाँ र्याफ्टिङ गरोस् त बिचराहरु ? कति त आत्महत्या गर्न पनि यहाँ आउँछन् रे। तर यो पोखरीमा आत्महत्या नभएको धेरै भइसक्यो।

रानीपोखरीको पानीमा हाँसहरुको रजाइँ। यिनीहरुलाई मान्छेको र्याफ्टिङले कति दिक्क बनाउँदो हो !

मन्दिरबाट देखिएको घण्टाघर। यहाँनिर मलाई बालबालिकाहरुले गाउने एउटा रमाइलो मुक्तक याद आयो। सुन्ने हो तपाईँ पनि ?
आई एम सरी
खिचापोखरी
घण्टाघरको अगाडि
रानीपोखरी

मन्दिरमा भगवानको दर्शनमात्र यहाँ आउनेहरुको उद्देश्य हैन। यहाँबाट दृश्यावलोकन पनि रमाइलै हुन्छ। फोटोमा एक जना दर्शनार्थी आफ्नो मोबाइल फोनबाट घण्टाघरको दृश्य कैद गर्दै।

लौ अब मन्दिरभित्र जाने हैन त ? मन्दिर प्रवेश गर्न चार ढोका भए पनि आज दुई वटामात्र खुला थिए।

जुत्ता फुकाल्नुस् है जुत्ता भन्दै पूजारी कराउँदै थिए।

तर मन्दिरभित्र भने कुकुरसमेत देखिन्थ्यो। मन्दिरभित्र एउटा शिवलिङ्ग रहेको छ। यमलेश्वर हो कि जमलेश्वर महादेव रे।

मन्दिरलाई झिलिमिली बत्तीले सजाइएको थियो। राति निकै मनमोहक देखिन्छ यहाँको दृश्य।

मन्दिरको अर्को द्वारबाट पस्दै गरेका दर्शनार्थी।

मन्दिरको चार छेउमा रहेका खम्बाहरुमध्ये एक।

दाजुभाइ, दिदीबहिनी नहुनेहरुका लागि यो मन्दिर हो भनिन्छ। पहिले भए पूजारीले त्यस्ताका लागि टीका लगाइदिन्थे रे। अहिले भने टीका लगाइदिन चार पाँच जना दिदीबहिनी रहेका छन्।

टीकाको दिन निधार खाली नबनाउन अपरिचित दिदीसित मन्दिर परिसरमा टीका लगाइरहेका एक अर्का भाइ।

अहो, अब त भीड बढेछ कि के हो ? मन्दिरबाट हेर्दा देखिएको मानिसहरुको लस्कर।

अब फर्कनु पर्यो क्या रे। अहो मन्दिर त अझै हेर्न मन लागिरहेको छ। फर्केर हेर्दा मन्दिर।

अहो, पोखरीमा कत्रो ठूलो माछाको देहावसान भइबक्सेछ।

मन्दिर जाने मार्गबाट अर्थात् रानीपोखरीको बीचबाट देखिएको रमणीय दृश्य।

अन्त्यमा आफ्नै फोटो। एक्लै त्यहाँ गएको हुनाले यो फोटो मलाई त्यहीँ फोटो खिच्न बसेका एक फोटोग्राफरले खिचिदिएका हुन्। त्यस्ता फोटोग्राफरहरु फोटो खिची बेच्ने गर्दा रहेछन्। मलाई भने उनले मेरै क्यामेराले निःशुल्क फोटो खिचिदिएका हुन्। धन्यवाद है, ती अपरिचित क्यामेराम्यान र तपाईँहरु सबैलाई। जसले म जस्तो सिकारुले खिचेका यत्रा फोटो उत्सुकतापूर्वक हेरिदिनुभयो।


Brilliant pics. These pictures and videos refreshen us about our capital.You have done good job but the camera movement (video) is a bit faster…Don’t you think so?
Comment by nam — November 3, 2005 @ 10:13 pm
you are great, bro.
Comment by Madhesi — November 4, 2005 @ 3:10 am
Umesh ji your News is very good. Keep it conttinue.
Comment by yubaraj — November 4, 2005 @ 5:40 am
timi ta sipalu niskeu yaar.
Raja ko mahan bani samjhera kam gara hai:
” KARMA GARA PHAL KO ASHA NAGARA.”
greatttttt job… keep it up…
Comment by Man Bahadur, South Korea — November 4, 2005 @ 5:45 am
umesh jee u really doing great.thanks for it.
Comment by samar — November 4, 2005 @ 3:56 pm
Umesh Jee!
Tapaiko Picture! Ani Merosansar! Niki Niki ramro chaa!Picture lay taa Jhan Sun Maa Sugundha Thapi Diyako chaa. Greet!
Comment by Nilan — November 7, 2005 @ 8:57 am
Very good pictures .Keep it up so that people like us far from country can fell that they still are in Nepal
Comment by jiwan — November 21, 2005 @ 1:51 am