November 13, 2005

“न्यायालयमा ढल प्रवेश गर्‍यो”

सञ्चार अध्यादेशका विरोधमा विशाल र्‍याली र सभा

२०६२ कात्तिक २७, आइतबार

सञ्चारलाई नियन्त्रण गर्न ल्याइएको अध्यादेशको विरोधमा आज राजधानीमा एउटा र्‍याली सम्पन्न भयो। त्रिपुरेश्वरबाट निस्केको र्‍याली विभिन्न नारा लगाउँदै थापाथली, बबरमहल हुँदै एक घण्टापछि नयाँ बानेश्वरको लोकतन्त्र चोक पुगेको थियो। रत्नपार्कलाई निषेधित क्षेत्र घोषणा गरेपछि आन्दोलनको प्रमुख केन्द्र बन्न पुगेको नयाँ बानेश्वरलाई आजैदेखि लोकतन्त्र चोक घोषणा गरिएको हो।


आजको कार्यक्रम सर्वोच्चबाट सञ्चार अध्यादेश लागू गराउन मिल्ने गरी सरकारको पक्षमा फैसला हुनुअघि नै तय भएको थियो। काठमाडौंको त्रिपुरेश्वरमा दिनको दुई बजे भेला भइसकेका थिए अधिकांश। प्रहरीहरु धेरै नै तैनाथ थिए।


एउटा मिनि टाटामा स्वतन्त्र रेडियोको प्रतिकस्वरुप विशाल रेडियो बनाइएको थियो। सोही ट्रकबाट सम्पूर्ण उद्‍घोषण, भाषण भएका थिए। त्रिपुरेश्वरमा कार्यक्रम अ‍ौपचारिक रुपमा सुरु भयो डा अ‍ोम गुरुङको उद्‍घोषणबाट।


कार्यक्रमको सुरुमा ट्रकबाटै हामी जित्नेछौं एक दिन भन्दै गीत गाए जनताका गायक रामेश र रायनले। त्यसपछि नेपाल पत्रकार महासंघका सभापति विष्णु निष्ठुरीले आफ्ना दैनिक कामकारबाहीलाई केही दिन स्थगित गरी निरंकुशताका विरुध्द आन्दोलनमा होमिनु आजको आवश्यकता रहेकोमा जोड दिए।


ब्लगर नेपालका सहकर्मी ब्लगर तथा राजधानी दैनिकका पत्रकार केपी ढुंगाना प्लेकार्डका साथ।

त्यसपछि र्‍याली अगाडि बढ्यो। र्‍याली लोकतन्त्र र शान्तिका लागि नागरिक आन्दोलन, नेपाल पत्रकार महासंघ, स्वतन्त्र रेडियो बचाउ आन्दोलन र पेशागत संघसंस्थाहरुको सञ्जाल पापडको संयुक्त आह्वानमा भएको थियो। यसमा विभिन्न अन्य संघसंस्थाहरुले ऐक्यवध्दता जनाएका थिए। र्‍यालीमा सहभागीहरुको संख्या त्यति धेरै थिएन। भन्नाले त्यति थोरै पनि थिएन। ३ हजार जति त थिए होलान्। संख्याभन्दा पनि विभिन्न संघसंस्थाहरुको प्रतिनिधित्व महत्त्वको कुरा थियो।


ट्रकपछाडि झुण्ड्याइएको ब्यानर।

माइतिघरको मण्डलामा आएर नेपाल बार एसोसिएसनका कानुन व्यवसायीहरु पनि र्‍यालीमा सहभागी भए। उनीहरुले त्यसको केही क्षणअघि सर्वोच्चको फैसलाको विरोधमा सर्वोच्चअगाडि कालोपट्टी बाँधेर प्रदर्शन गरेका थिए।


प्रदर्शनमा सहभागी नेपाली काँग्रेसका गणतन्त्रवादी नेता नरहरि आचार्य। पृष्ठभूमिमा त्रिपुरेश्वरस्थित पुरानो त्रिभुवन विश्वविद्यालयको कम्पाउन्डलाई एक व्यापारिक कम्पनीले लिजमा लिएर बनाउँदै गरेको बहुउद्देश्यीय व्यापारिक भवन।

र्‍यालीले लगाएका नाराहरु यी थिए-

प्रतिगामी सञ्चार अध्यादेश- खारेज गर
अभिव्यक्ति स्वतन्त्रता- जिन्दावाद
जनताको सुसूचित हुने हक- बहाल गर
एफएममा समाचार- बज्नै पर्छ
लोकतन्त्र- जिन्दावाद
निरंकुशतन्त्र- मुर्दावाद


निरंकुशतन्त्र मूर्दावाद- कान्तिपुरका पत्रकार उजिर मगर (बीचमा) चिच्याउँदै।

न्यायालयमा ढल पस्यो
नारा लगाउँदै र्‍याली नयाँ बानेश्वरमा पुग्यो। त्यही ट्रक, बाटोभर नारा लगाउँदै गएको, मञ्च बन्यो। यो ट्रक मञ्चमा सबैभन्दा पहिले सम्बोधन गरे स्वतन्त्र रेडियो बचाउ आन्दोलनका संयोजक रघु मैनालीले। सर्वोच्चले अध्यादेश लागू नगराउन अन्तरिम आदेश जारी नगरेकोप्रति लक्षित गर्दै उनले आरोप लगाए- न्यायालयमा ढल प्रवेश गरेको छ। उनले सरकार र भैंसीमा फरक छ कि छैन भन्ने प्रश्न राख्दै फरक छ भने भैंसीको शैलीमा बाली फाँड्ने सरकारको कामकारबाहीको विरोध हुनु स्वाभाविक भएको तर्क राखे। अदालतले न्यायको ढोका बन्द गरेको भन्दै मैनालीले अब सडकबाट वकालतनामा गर्न आह्वान गर्नुभयो।


अगाडि-अगाडि ट्रक र पछाडि-पछाडि नारा लगाउँदै प्रदर्शन।

जनअदालतले सबैको फैसला गर्नेछ
मैनालीपछि मञ्चमा आए विष्णुविभु घिमिरे। उनले कविता सुनाए हरायो शीर्षकको। उनको कवितामा सबै हराएको छ। यो पनि हराएको छ, त्यो पनि हराएको छ। यहाँसम्म कि आरती गर्दागर्दैको देवतासम्म हराएको छ।


लोकतान्त्रिक आन्दोलनमा सँधै अग्रपंक्तिमा रहने छायादेवी पराजुली ट्रकमाथि।

त्यसपछि लोकतान्त्रिक आन्दोलनका लागि अपाङहरुको संघर्ष समितिका संयोजक उप-प्राध्यापक गोविन्दप्रसाद आचार्यको पालो। भगवानले उनको दृष्टि खोसेको छ। तर निरंकुशताविरुध्दको संघर्षमा, लोकतन्त्रको आन्दोलनमा तपाईँ-हामीभन्दा बढ्ता जोश छ उनमा। उनले ढोंगी अदालत चाहिँदैन, ढोंगी न्यायाधीश चाहिँदैन, अब जन अदालतले नै सबैको फैसला गर्नेछ भन्दै अब घर-घरमा कोठा-कोठामा बस्ने बेला छैन, सबै आन्दोलनमा होमिनु पर्छ भने। अपांगहरु ह्विलचेयरमा, वैशाखीमा र सेतो छडीमा निरंकुशताविरुध्द संघर्ष गर्न तयार रहेको उनले बताए।


लोकतन्त्रका पक्षधर महिला। पछाडि काँग्रेस नेता रामशरण महत पनि देखिन्छन्।

न्यायाधीशहरु कलंकित व्यक्तित्व
अब पालो थियो प्राध्यापक संघका अध्यक्ष तथा पेशागत संघसंस्थाहरुको सञ्जाल पापडका वर्तमान सभापति भूपति ढकालको। उनले आतंकको नाममा सम्पूर्ण न्यायिक अधिकार खोस्ने र स्वतन्त्रताप्रेमीको मुखमा ताल्चा लगाउने प्रयासलाई निभ्न लागेको बत्तीको उज्यालोसित तुलना गरे।

ढकालले स्वतन्त्रता खोस्ने अध्यादेशका विरुध्द कसैको लहैलहैमा लागेर अन्तरिम आदेश जारी नगरेकोमा खेद प्रकट गर्दै आफ्नो नागरिक अधिकारलाई बन्धकीमा राखेर त्यस्तो फैसला गर्ने न्यायाधीशहरुलाई इतिहासले कलंकित व्यक्तित्वका रुपमा परिलक्षित गर्ने बताए।

राजाले राजनीति गर्ने भए श्रीपेच दरबारमा राखेर पार्टी खोलेर चुनाव लड्न आउनु पर्ने चुनौती उनले दिए। माअ‍ोवादीहरुलाई युध्दविराम अनिश्चित कालका लागि बढाएर जनतासँग शान्तिपूर्ण अहिंसात्मक आन्दोलनमा आउन आह्वान गर्दै उनले माअ‍ोवादीभन्दा सरकार आतंककारी भएको विचार राखे।


निरंकुशतन्त्रविरुध्द लोकतान्त्रिक स्रष्टाहरुको ऐक्यवध्दता।

लोकतन्त्र चोकको घोषणा
अब फेरि पालो कविताको थियो र बुँख्याचाको कविता सुनाइन् डा बेञ्जु शर्माले।
सरकारले रत्नपार्कमा निषेधित क्षेत्र घोषणा गरेर प्रजातन्त्रको भित्तो डोजर लगाएर भत्काएपछि नयाँ बानेश्वरलाई लोकतन्त्र चोकको रुपमा नामाकरण गर्न सभाका सञ्चालक अ‍ोम गुरुङले प्रस्ताव राख्नुभयो। यसलाई उपस्थित सबैले ताली बजाएर समर्थन गरे। नजिकै बसेका ब्लगर नेपालका ब्लगर केपीलाई “तिम्रो चाहिँ समर्थन छैन कि क्या हो ?” भनेर सोधेँ। वास्तवमा उनी नोटबुकमा केर्दैमा बेफूर्सद थिए। मैले त्यसो भनेपछि भने उनी “छ नि किन समर्थन छैन” भन्दै चर्को आवाजमा थपडी बजाउन थाले।


साप्ताहिक तथा पाक्षिक पत्रिकाहरुको विरोध ब्यानर।

त्यसपछि डा मधु घिमिरेले चार पेजको पट्यारलाग्दो लिखित भाषण सुनाए। मैले त वास्ता पनि गरिनँ उनले के-के भने। त्यो बेवास्तामा झण्डै आगामी नागरिक सभाको तिथिमिति छुटेको। पछि साथीले भनेपछि मात्र थाहा भयो- आगामी नागरिक सभा भक्तपुरमा १० गते २ बजे हुँदै रहेछ।

अब पालो नागरिक कवि अर्जुन पराजुलीको थियो। उनको कवितालाई मैलै छुट्टै भिडियो ब्लगमा प्रस्तुत गर्ने विचार राखेको छु।


थापाथलीमा अगाडि बढ्दै गरेको र्‍याली।

निरंकुशताको कालो छाया अदालतमा
मूल्याङ्कन मासिकका सम्पादक तथा नागरिक आन्दोलनका अगुवा श्याम श्रेष्ठले जति अपराध गरे पनि राजपरिवारका बारेमा केही लेख्नै नहुने अध्यादेश ल्याएपछि अब प्रवीण गुरुङहरु धेरै मारिनेछन् भन्दै पञ्चायत कालमा फर्काउने अध्यादेश मान्दैनौं भने।

सर्वोच्चले अन्तरिम आदेश जारी नगरेर निरंकुशताको कालो छाया अदालतमा परेको प्रमाणित गरेको उनको विचार थियो। अब सडकबाहेक अन्य उपाय बाँकी छैन, उनको कथन थियो।


पद्मरत्न तुलाधर, हरिहर विरही र छायादेवी यहाँ देखिन्छन्।

अदालतमा ढल थुन्ने प्रयासमा बार
नेपाल बार एसोसिएसनका अध्यक्ष शम्भु थापाले संसदले दिएको अधिकारलाई अध्यादेशबाट खोस्न नमिल्ने तर्क गर्दै बोल्ने, लेख्ने, सुन्ने जस्ता अधिकार त जन्मसिध्द हुन्, त्यो तिमीले दिएको अधिकार हो र ? भनी प्रश्न राख्नुभयो। यो लडाइँ सभ्यता र असभ्यताबीचको लडाइँ भएको बताउँदै उनले आजको युगमा पनि स्वतन्त्रता खोसिनु पर्छ भन्ने मान्छेहरु रहेकोमा आश्चर्य व्यक्त गर्दै भने- उनीहरु ताबेदार हुन्, उनीहरुको वास्ता नगर्नुस्।

अदालतमा पसेको ढल थुन्ने प्रयासमा बार लागेको बताउँदै उनले त्यसै प्रयासमा मंसिर १ गते बेञ्च बहिस्कार गर्न लागेको बताए।

थापापछि फेरि रामेश र रायनले तेस्रो पटक गीत प्रस्तुत गरे। हामी भने त्यहाँबाट आफ्नो बाटो लाग्यौं।

र्‍याली लोकतन्त्र चोकमा सभामा परिणत हुँदै।

च्याने अपडेटः फेरि झुलाए
सभा हुँदै गर्दा अर्का ब्लगर तथा सहकर्मी मणी दाहाल भेटिए। उनी च्यानल नेपालको लेखाशाखा पुगेर आएका रहेछन्। आज आइतबार पैसा लिन बोलाएका भए पनि अब फेरि अर्को आइतबार बोलाएका रहेछन्। अदालतमा तारिखमा धाउने जस्तो भएको छ आफैले काम गरेको पैसा लिन पनि। लौ न कसैसित केही उपाय छैन ?

2 Comments »

The URI to TrackBack this entry is: http://merosansar.blogsome.com/2005/11/13/loktantra-chwok/trackback/

  1. The protests rallies are laughing matter. If they were going to go out to the streets when the outcome from the Court would be negative to them, they should not have gone to the court at all in the first place.

    Comment by Tara Bahadur — November 14, 2005 @ 1:36 am

  2. Nice Picture!

    Really doing great! KAAN NA-SUNEEE LIE MIKE LAGIEDINU PARCHA VANAYAKO SACHOO RAYACHA.

    Tara pani Yooo Biehrooo Lay Sunlaa Justo chaina hi!!

    Comment by Nilan — November 14, 2005 @ 9:19 am

RSS feed for comments on this post.

Leave a comment

Line and paragraph breaks automatic, e-mail address never displayed, HTML allowed: <a href="" title=""> <abbr title=""> <acronym title=""> <b> <blockquote cite=""> <code> <em> <i> <strike> <strong>























Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards&mdash;credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.