सरकारको तानाशाही चरित्र, रेडियो सगरमाथाको प्रसारण बन्द
२०६२ मंसिर १२, आइतबार
अपडेट ३ हिरासतमा रहेका पत्रकारहरुलाई तुरुन्त रिहा गर्नु पर्ने माग राख्दै मंसिरको जाडोमा मध्यरातमा सयभन्दा बढी पत्रकार र मानवअधिकारवादीहरुको समूहले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरिरहेका छन्। हिरासतमा रहेका पत्रकारहरुलाई भेट्न दिइएको छैन। त्यहाँ कुनै नेताहरु भने हालसम्म देखिएका छैनन् रे। (1130pm)
अपडेट २ पक्राउमा परेका पाँच जनामध्ये एक जना पत्रकार दुर्गा कार्कीलाई छाडिएको छ। बाँकी तीन पत्रकार दीपकबाबु अर्याल, पुण्य भण्डारी, दीपकराज पाण्डे र एक जना टेक्निसियन राजेन्द्र रिजाल अझै जिल्ला प्रहरी कार्यालय, ललितपुरमा नै हिरासतमा रहेका छन्। (1030pm)
अपडेट १ रेडियो सगरमाथालाई तानाशाही सरकारले बन्द गराएको छ। उक्त रेडियोलाई दिइएका दुई पत्रमा एउटामा आतंककारी र आतंकवादलाई प्रोत्साहन पुग्ने गरी कार्यक्रम प्रसारण गरेकोले अर्को आदेश नहुञ्जेल प्रसारण रोक्का गर्न आदेश दिइएको छ भने अर्कोमा प्रसारण उपकरण अनुसन्धानका लागि लग्ने व्यहोरा उल्लेख छ। (10 pm)
सरकारले फेरि एकपटक आफ्नो तानाशाही चरित्र नाङ्गो रुपमा देखाएको छ। आज रेडियो सगरमाथा १०२.४ एफएममा सुरक्षाकर्मीले कारबाही गरी प्रसारण सामाग्री सबै जफत गरेका छन् र साथमा पाँच जनालाई पनि गिरफ्तार गरिएको छ। रेडियो सगरमाथामा बीबीसी नेपाली सेवा रिले प्रसारण हुने गर्छ। आज नेकपा माअोवादीका अध्यक्ष प्रचण्डको अन्तर्वार्ता प्रसारण हुनु ठीकअघि रेडियोको प्रसारण रोकेर धुन बज्न थालेको थियो। हाल रेडियो प्रसारण पूर्ण बन्द हुन पुगेको छ। बाँकी केही बेरपछि (930 pm NST) (more…)

