के छ प्रचण्डको अन्तर्वार्तामा ?
बीबीसी नेपालीको वेबसाइट पनि “ब्लक”

नेकपा माअोवादीका अध्यक्ष प्रचण्डको अन्तर्वार्तालाई बीबीसी नेपाली सेवाले आइतबार प्रसारण गरेको थियो। प्रचण्डले रेडियोलाई दिएको यो पहिलो अन्तर्वार्ता हो। यसअघि प्रचण्डको आवाजमा एउटा विज्ञप्ति भने जारी भइसकेको थियो। त्यसलाई मैले बीबीसीमा नै सुनेको हुँ। प्रचण्डको अन्तर्वार्ताका बारेमा काठमाडौंमा खुब चर्चा थियो- आज राति बीबीसीमा आउँछ है भनेर। तर ठीक त्यही समयमा सरकारले बीबीसीको प्रसारण रिले गर्ने रेडियो सगरमाथाको प्रसारणलाई नै रोक्का गर्ने पूर्जी दियो र सामान र पत्रकारहरुलाई उठाएर लग्यो। बीबीसीमा प्रसारण भएको अन्तर्वार्तालाई मैले सुनेर टाइप गरी लिखित रुप दिएको छु। त्यसलाई हेर्न भित्र आउनुहोला। अन्तर्वार्ता सुन्नलाई भने यहाँ जानुस्। अहो, यो टाइप गरी सकेर लिंकका लागि इन्टरनेटमा बीबीसीको साइट हेर्छु त त्यहाँ पनि शाही सरकारको कृपा परिसकेको जस्तो रहेछ। एक्सेस डिनाइड आउँछ बीबीसी नेपालीको पेजमा। अरु ब्लक गरिएका साइटमा पनि यस्तै आउने गर्छन्। विदेशमा भने मजाले खुलिरहेको रहेछ साइट। सरकारले काठमाडौंबाहिरका सात एफएम स्टेसनहरुलाई पनि बीबीसीको त्यो अन्तर्वार्ता प्रसारण गर्नबाट रोकेको थियो रे। अनि बीबीसी विश्व सेवाको अलग्गै १०३ एफएम पनि बन्द गरिएछ। (more…)

