निरंकुश सत्ताको कडा दमनका बावजुद प्रदर्शन
भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला। टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।
…त्यहाँ भेटिएका एक विद्यार्थी नेताले पाटनको कृष्ण मन्दिरमा ४ बजे कार्यक्रम छ रे भनेर सुनायो। त्यति जानकारी हामीलाई पर्याप्त थियो। तर जुलुस निस्कन्छ नै भन्ने ग्यारेण्टी भने थिएन। किनभने गगन थापा, रामकुमारी झाँक्री जस्ता सशक्त विद्यर्थी नेताहरु गिरफ्तार भइसकेका थिए। अनि अरु विद्यार्थी नेताहरु पनि भूमिगत भइसकेका थिए। चार घण्टामात्र सुतेको हुनाले एक त निद्रा नपुगेको, त्यसमाथि हिँडेर त्यत्रो बाटो जाँदा थाकेर लखतरान भइसकेको थिएँ म। अलि परतिर अरु विद्यार्थीहरु पनि भेटिए। यहाँ पनि अनेरास्ववियु कै आकस्मिक कार्यक्रम रहेछ। गिरफ्तारी नदिनू भन्ने निर्देशन रहेछ, त्यसैले बचेर छापामार शैलिमा कार्यक्रम गर्न लागेका रहेछन्। क्युरियो सामान बेच्ने स्थानमा उभिरहेका एक विद्यार्थी नेताले हामीलाई “सामान किन्न आउनु भएको हो ?” भनेर भने। बिस्तारै-बिस्तारै त्यहाँ विद्यार्थीहरु जम्मा भइरहेका थिए। तर सबै विद्यार्थी एकै ठाउँमा हैन, छुट्टाछुट्टै छरिएर बसेका थिए। इशाराबाट कुरा भइरहेको थियो। भिडियो खिच्दाको अनुभव पढ्न भित्र आउनुहोला।
माघ ७ गतेको जनप्रदर्शनको एक दिन अगाडि बिहान उठ्नेबित्तिकै टेलिफोन र मोबाइल काटिएको खबर पाएँ। हत्त न पत्त हेर्छु त हो रहेछ। त्यसपछि ब्लगमा यो समाचार अपडेट गर्न बसेँ। बस्दाबस्दै ल्यान्डलाइन टेलिफोन पुनः चालु भयो सवा ८ बजेतिर। दर्जनौं नेताहरुलाई गिरफ्तार गरिएको खबर पाएँ। राति अबेर झण्डै साढे ३ बजेतिर मात्र सुतेको थिएँ तर देशको घटनाले निद्रा भगायो।
आज कतै न कतै जुलुस निस्केला, त्यसको बारेमा लेख्नुपर्छ भन्दै म र साथी मणिको कुरा फोनमा भइसकेको थियो। ब्लगमा केही पोस्ट र एउटा पडकास्ट गरेर एक बजेतिर म घरबाट निस्केँ। अलि उग्र खालको क्याम्पसतिर जानुपर्छ, त्यहाँ जुलुस हुनसक्छ भन्ने हाम्रो अनुमान थियो। अस्कलमा गयौँ तर त्यहाँ सुरक्षाकर्मी मात्र थिए।
त्यसपछि विश्वभाषा क्याम्पस गयौँ। त्यहाँ भेटिएका एक विद्यार्थी नेताले पाटनको कृष्ण मन्दिरमा ४ बजे कार्यक्रम छ रे भनेर सुनायो। त्यति जानकारी हामीलाई पर्याप्त थियो। तर जुलुस निस्कन्छ नै भन्ने ग्यारेण्टी भने थिएन। किनभने गगन थापा, रामकुमारी झाँक्री जस्ता सशक्त विद्यर्थी नेताहरु गिरफ्तार भइसकेका थिए। अनि अरु विद्यार्थी नेताहरु पनि भूमिगत भइसकेका थिए।
प्रदर्शनी मार्गमा छ्यापछ्याप्ती सुरक्षाकर्मीहरु थिए। विश्वभाषाबाट हामी सँगैको ल क्याम्पसमा गयौं। त्यहाँ प्रहरीभित्र पसेर स्ववियु पदाधिकारीहरुलाई खोज्न आएका थिए रे। स्ववियु सभापति भाग्न सफल भए रे तर आरआर क्याम्पसनजिकैबाट केही विद्यार्थी पक्राउ परे रे। बाटोमा सबै नेताहरु गिरफ्तार भएको कुरा गरिरहेका हुन्थे।
त्यहाँबाट आरआर क्याम्पस पसेर हामी मिनभवन क्याम्पसतिर लाग्यौं। एकछिन त्यहाँ कुरा बुझेर हामी कार्यक्रम स्थल कृष्ण मन्दिर, पाटनतिर हिँडेरै लाग्यौं। चार घण्टामात्र सुतेको हुनाले एक त निद्रा नपुगेको, त्यसमाथि हिँडेर त्यत्रो बाटो जाँदा थाकेर लखतरान भइसकेको थिएँ म। आँखा चिम्लियो कि निद्रा लाग्ने जस्तो भइसकेको थियो मलाई।
बल्ल पुगियो कृष्ण मन्दिर पछाडिको बाटो। ल क्याम्पसका स्ववियु सभापति भेटिए। अलि परतिर अरु विद्यार्थीहरु पनि भेटिए। यहाँ पनि अनेरास्ववियु कै आकस्मिक कार्यक्रम रहेछ। गिरफ्तारी नदिनू भन्ने निर्देशन रहेछ, त्यसैले बचेर छापामार शैलिमा कार्यक्रम गर्न लागेका रहेछन्। क्युरियो सामान बेच्ने स्थानमा उभिरहेका एक विद्यार्थी नेताले हामीलाई “सामान किन्न आउनु भएको हो ?” भनेर भने। हामीले केही बेर उनीसँग कुरा गर्यौं ब्लगको बारेमा र अनलाइन पत्रकारिताको बारेमा। उनी प्रभावित देखिन्थे।
बिस्तारै-बिस्तारै त्यहाँ विद्यार्थीहरु जम्मा भइरहेका थिए। तर सबै विद्यार्थी एकै ठाउँमा हैन, छुट्टाछुट्टै छरिएर बसेका थिए। इशाराबाट कुरा भइरहेको थियो। त्यहाँ सुरक्षाकर्मी त थिएनन् तर अलि पर सेना गस्तिमा थियो। त्योभन्दा धेरै पर भ्यानसहितको प्रहरी छ जस्तो देखेँ मैले टाढाबाट।
विद्यार्थी नेताहरुसित बसिरहँदा आफूहरुलाई पनि विद्यार्थी ठानेर पक्राउ गरिने खतरा थियो। गुप्तचरहरु छ्यापछ्याप्ती हुन्छन् आजभोलि, कोही त पत्रकार कै भेषमा पनि ! त्यसैले हामीले अलि पर सुरक्षित बस्ने निर्णय गर्यौं। अरु कोही पनि पत्रकार त्यहाँ आइनपुगेको देख्दा विशेष मलाई अलि असुरक्षित महसूस भइरहेको थियो। चिकंमुगलमा मण्डलेको कुटाइ खाएदेखि मैले पत्रकारहरुको हुललाई छाडेर एक्लै अगाडि बढ्दा खतरा हुने शिक्षा पाइसकेको थिएँ। एकैछिनमा अरु छापा र टेलिभिजनका पत्रकारहरु पनि देखा परे। त्यसपछि बल्ल ढुक्क भयौं।
अखिलका अध्यक्ष खिमलाल भट्टराई स्थिति बुझ्दै थिए। उनले हामीलाई कृष्ण मन्दिर पछाडि जान आग्रह गर्दै भने, अब सुरु गर्ने हो। हामी सबै त्यतातिर लाग्यौं। एकछिन फेरि इशाराइशारामा कुरा भयो। मैले क्यामेरा पनि निकाल्न भ्याएको थिएन, अचानक ताली बजाउँदै नाराबाजी भइहाल्यो। नारा लगाएर उनीहरु कुदे। कुदेपछि आफू पनि कुद्नै पर्यो- फोटो पछाडिबाट खिचेको राम्रो आउँदैन।
उनीहरु कुद्दै गए र एउटा मन्दिरको भर्याङमा चढेर अखिल उपाध्यक्ष रामकुमार बञ्जाडेले छड्के जुलुसको सभालाई सम्बोधन गरे। उनले निरंकुश सत्ताले लगाएको निषेधाज्ञाको यसरी नै अवज्ञा गर्ने मात्र हैन, कर्फ्यु नै लगाए पनि विरोधमा उत्रने भन्दै नगर निर्वाचन बहिस्कार गर्न सबैलाई आग्रह गरे। त्यहाँ ५०-६० जना सहभागी थिए। निरंकुश सरकारले यति दमन गरेको छ कि यति संख्यामा जुलुस निस्कनुलाई पनि साहसी भन्दै प्रशंसा गर्नुपरेको छ। आजको कान्तिपुर लगायत अधिकांश पत्रिकाको पहिलो पेजमा छापिएको फोटो यही सभाका सहभागी विद्यार्थीहरुको हो।
छोटो सम्बोधनपछि सभा विसर्जन भयो र फेरि निरंकुश सत्ताका सर्वेसर्वाको विरुध्दमा नारा लगाउँदै उनीहरु गल्लीमा हराए। त्यति हुँदासम्म पनि सुरक्षाकर्मीहरुलाई त्यसको सुँइको थिएन। त्यहाँबाट हामी फेरि कृष्ण मन्दिरतिर लाग्दा बल्ल एक भ्यान प्रहरी त्यहाँ आइपुगेका थिए।
तपाईँले हाल निःशुल्क हेरिरहनुभएको यस्तो भिडियो ब्लगका लागि निकै समय र परिश्रमको आवश्यकता पर्छ। कृपया केही रकम सहयोग गरी यसलाई निरन्तर गर्न सहयोग गर्नुस्। तपाईँको सानो सहयोग पनि मेरो संसारका लागि ठूलो योगदान हुनेछ। सहयोगका लागि दायाँ छेउमा रहेको पेपाल बटन वा चेकको प्रयोग गर्न सक्नुहुन्छ।


work really appriciated! .. but dont forget to sleep.. its necessary. ;-D
Comment by Mukti Sir — January 20, 2006 @ 11:44 pm
I have never seen the corfew ( Do not even know how to spell it ). The clip is wonderful, states the fact. Seems very difficult and risky to capture the cip. Good job, really appreciated ..
Comment by Oasis Prajapati — February 5, 2006 @ 2:21 am