मेरो संसारको नयाँ ठेगाना याद राख्नुस्
यदि तपाईँ झुक्किएर वा डुल्दाडुल्दै यहाँ आइपुग्नु भएको भए नयाँ ठेगाना याद राख्नुस्- www.merosansar.com.np
यदि तपाईँ झुक्किएर वा डुल्दाडुल्दै यहाँ आइपुग्नु भएको भए नयाँ ठेगाना याद राख्नुस्- www.merosansar.com.np
२०६२ माघ १९, बुधबार
एक वर्षअगाडि आज कै दिन राजाले प्रतिगमनकारी कदम चालेका थिए, सञ्चार माध्यममा समेत हतियार बोकेका सैनिक पठाएर समाचार सेन्सर गराउने धृष्टता गरेको थियो। आज त्यही दिन ‘मेरो संसार’ ले निजी सर्भरमा जाने निधो गरेको छ। अर्थात् हामी निःशुल्क बस्न पाइने धर्मशालालाई त्यागेर भाडा तिरेर बस्ने राम्रो कोठामा आइपुगेका छौं। कसैलाई लाग्ला, किन यही दिन रोज्नु पर्यो ? किनभने यही दिनबाट नै नेपालीहरुमाझ वैकल्पिक समाचारको स्रोतका रुपमा ब्लग अगाडि आउन सुरु गरेको हो। ब्लगका लागि यो दिनको महत्त्व राजाका लागि शाही घोषणा भन्दा पनि महत्त्वपूर्ण छ।
मेरो संसारले गत वर्ष अप्रिल महिनामा अर्थात् २०६१ को चैत महिनामा ब्लग सुरु गरेदेखि नै ब्लगसमको निःशुल्क स्थानको उपयोग गर्दै आएको थियो। यसबीच मेरो संसारको सफलताबाट इर्ष्या गर्नेहरुले विभिन्न बहाना बनाएर ब्लगसममा उजुरी हालेर झण्डै २४ घण्टा साइट सस्पेन्ड समेत गराउन सफल भएका थिए। निजी सर्भरमा गइसकेपछि उनीहरुलाई यस्तो गर्न गार्है पर्नेछ।
www.merosansar.com.np टाइप गरी यो ब्लग हेरिरहनुभएकाहरुले कुनै परिवर्तन गर्नुपर्ने छैन। ज-जसले merosansar.blogsome.com टाइप गरी हेरिरहेका हुन्, उनीहरुले अबदेखि www.merosansar.com.np मा गए मात्र ताजा ब्लगहरु हेर्न पाउने छन्। पुराना ब्लग र त्यसमा भएका कमेन्टहरु यहीँ रहनेछन्। नयाँ घरमा त्यसलाई सार्ने क्रम जारी रहनेछ।
यो साइटबाट RSS फिड लिइरहेकाहरुलाई परिवर्तित ठेगानाबाट RSS फिड लिन हुन अनुरोध छ।
आजैबाट मेरो संसारले Interact System Pvt. Ltd. सितको सहकार्यमा www.merosansar.info पनि सञ्चालन गर्ने घोषणा गर्दछ। यसमा ब्लगबाहेक अन्य सेवाहरु सञ्चालन हुनेछन्। हामीले हाल विश्वमा लोकप्रिय भइरहेको सिटिजन जर्नलिज्म अर्थात् नागरिक पत्रकारितामा आधारित रहेर एउटा सेवा सुरु गर्ने विचार गरेका छौं। त्यस्तै फोरम पनि सञ्चालन गर्ने हाम्रो सोच रहेको छ।
आज कै दिन मेरो संसारले आफ्ना केही ऐतिहासिक भिडियो ब्लग समेटिएको भिसिडीको पहिलो भाग सार्वजनिक गर्ने जमर्को गरेको छ। यसको विमोचन तपाईँ पाठक कै हातबाट गरिनेछ। कृपया यहाँ क्लिक गरी यो भिसीडीको विमोचन गर्नुका साथै एक झलक हेरिदिनु हुन अनुरोध छ। माथि क्लिक गर्दा भिडियो नखुलेमा भित्र आउनुहुन अनुरोध छ। भिसिडीको बारेमा थप जानकारी पनि भित्र (more…)
भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला। टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।
…त्यहाँ भेटिएका एक विद्यार्थी नेताले पाटनको कृष्ण मन्दिरमा ४ बजे कार्यक्रम छ रे भनेर सुनायो। त्यति जानकारी हामीलाई पर्याप्त थियो। तर जुलुस निस्कन्छ नै भन्ने ग्यारेण्टी भने थिएन। किनभने गगन थापा, रामकुमारी झाँक्री जस्ता सशक्त विद्यर्थी नेताहरु गिरफ्तार भइसकेका थिए। अनि अरु विद्यार्थी नेताहरु पनि भूमिगत भइसकेका थिए। चार घण्टामात्र सुतेको हुनाले एक त निद्रा नपुगेको, त्यसमाथि हिँडेर त्यत्रो बाटो जाँदा थाकेर लखतरान भइसकेको थिएँ म। अलि परतिर अरु विद्यार्थीहरु पनि भेटिए। यहाँ पनि अनेरास्ववियु कै आकस्मिक कार्यक्रम रहेछ। गिरफ्तारी नदिनू भन्ने निर्देशन रहेछ, त्यसैले बचेर छापामार शैलिमा कार्यक्रम गर्न लागेका रहेछन्। क्युरियो सामान बेच्ने स्थानमा उभिरहेका एक विद्यार्थी नेताले हामीलाई “सामान किन्न आउनु भएको हो ?” भनेर भने। बिस्तारै-बिस्तारै त्यहाँ विद्यार्थीहरु जम्मा भइरहेका थिए। तर सबै विद्यार्थी एकै ठाउँमा हैन, छुट्टाछुट्टै छरिएर बसेका थिए। इशाराबाट कुरा भइरहेको थियो। भिडियो खिच्दाको अनुभव पढ्न भित्र आउनुहोला। (more…)
२०६२ माघ ७, शुक्रबार

आउनुस्, हामी सबै मिलेर शाही सरकारलाई बधाई दिउँ। आखिर उसले बल प्रयोग गरेरै भए पनि आजको शान्तिपूर्ण सभालाई असफल पारेरै छाड्यो। मोबाइल बन्द अनि कर्फ्युका कारण घरमा बन्दी अवस्थामा मात्र हैन, आज दिनभर विद्युत आपूर्ति पनि बन्द गरेर हामीलाई कम मानसिक यातना दिइएन। विद्युत प्राधिकरणमा सोध्दा सुरक्षाकर्मीहरुले कर्फ्युमा निस्कने अनुमति नदिएको बताए। केही भिडियो ब्लगहरु खिचेको छु, त्यसलाई अहिले म अपडेट गर्ने प्रयास गर्नेछु।
२०६२ माघ ६ बिहीबार @ 1035 pm NST
फोकटमा पाइएको सुविधा प्रयोग गर्दा पनि कहिलेकाहीँ निकै दुःख पाइने रहेछ। ब्लगसमले सर्भर परिवर्तन गर्ने भन्दै हिजोदेखि झण्डै २४ घण्टा ब्लगमा नयाँ पोस्ट राख्ने सुविधा नदिँदा रुनु न हाँस्नु भइयो। तै साथी ताजिमले उपलब्ध गराएको अस्थायी ठेगानामा केही पोस्ट गर्न पाएँ। यसका लागि ताजिमलाई धन्यवाद। अब माथि म त्यहीँ राखिएका पोस्टहरु कपी-पेस्ट गर्दै नयाँ पोस्ट पनि राख्न थाल्नेछु।
आजभोलि सार्है अल्छी भएको छु। खै किन हो कुन्नि। ब्लग गर्नका लागि खासै कुनै विषय पनि छैन। २८ गते जनकपुरमा सात दलको शक्ति प्रदर्शन हुँदैछ। त्यसअघि आज नेमकिपाले भक्तपुर-काठमाडौं जुलुस गर्न लागेको छ क्यारे। सँधै राजनीतिका कुरा लेख्न पनि झण्झट लाग्छ। फेरि आफूलाई राजनीति त्यति मन पनि नपर्ने। कतै कार्यक्रम भयो भने जे देख्यो त्यो लेख्ने र देखाउने मात्र हो मेरो काम। पोखरा यात्राका संस्मरण लेख्छु भनेको पनि यत्तिकै रहेको छ। बरु आज मैले पोखराको भिडियो ब्लग लिएर आएको छु। यसमा फेवातालमा बोटिङ गर्दाका दृश्य, लेकसाइडमा स्ट्रिट फेस्टिभलका क्रममा घैँटो फुटाउने प्रतियोगिता, लेकसाइडमा नयाँ वर्ष मनाउँको क्षण आदि समावेश गरिएको छ। भिडियो हेर्न भित्र आउनु होला। (more…)
पोखरा यात्राको संस्मरण- १

यो गुरुजी उपन्यासकार सम्राट उपाध्यायको गुरु अफ लभका गुरुजी हैनन्। थाहा छैन, कहाँबाट चलन आएको हो यो- गाडी चालकलाई गुरुजी भन्ने ! यी गुरुजी थिए हामीलाई पोखराको गन्तव्य पुर्याउने अभिभारा लिएका ट्याक्सीचालकको। उनको माया सम्झिने तरिका पनि अनौठो नै रहेछ। त्यसो त उनको मायाप्रितिको कथा पनि कम रोचक छैन रहेछ। यात्राका क्रममा ती अपरिचित गुरुजीले हामी यात्रुहरुलाई आफ्नो कथा सुनाएका थिए। तपाईँको कथामा त फिल्म नै बनाउनु पर्छ कि क्या हो भनी मैले भन्दा उनी मुस्कुराए अनि यस्तो प्रतिक्रिया दिए मानौँ साँच्चिकै फिल्म बनाउन लागेको हुँ मैले। (more…)

कसैलाई खबरसम्म नगरी यसपालि इस्वी संवतको नयाँ वर्ष मनाउन म सुटुक्क उपत्यकाबाहिर लागेँ। एकदिन अगाडिसम्म म आफैलाई पनि बाहिर जान्छु भन्ने थाहा थिएन ! कहाँ गएको हुँ भनेर त माथिको फोटो हेरेर नै थाहा पाइहाल्नुभयो होला। डिसेम्बर ३० मा गएर आज बल्ल फर्किएको हुँ। यात्राका अनुभवहरु म पक्कै बाँड्ने नै छु। (more…)
२०६२ पुस ३ आइतबार

ब्लगरहरुको विश्वव्यापी सञ्जाल कति व्यापक छ भन्ने कुरा आज मैले बुझेँ। आज मेल चेक गर्दै जाँदा कमिटी टु प्रोटेक्ट ब्लगर्सका डाइरेक्टर कर्ट हप्किन्सको मेल देखेँ। झण्डै स्पाम मेल भनेर डिलिट गर्न लागेको थिएँ। उनले भर्खरै ममाथि भएको आक्रमणको बारेमा कहाँबाट हो खबर पाएछन् र त्यसका बारेमा जानकारी दिन अनुरोध गरेका थिए। मैले केही कुरा लेखेर पठाएँ। त्यसको केही घण्टामा नै कमिटी टु प्रोटेक्ट ब्लगर्सको वेबसाइटमा मेरो संसारमाथि भएको आक्रमणको बारेमा Nepali Blogger Attacked By Royalists शीर्षकमा समाचार प्रकाशित भइसकेछ। उनले मलाई निरन्तर सम्पर्कमा रहन र भएका कुनै पनि दुर्व्यवहारका बारेमा तत्काल खबर गर्न पनि भनेका छन्। यो नैतिक समर्थनका लागि मेरो संसार कमिटी टु प्रोटेक्ट ब्लगर्सप्रति कृतज्ञ छ।
२०६२ पुस ३ आइतबार
हिजोको चुटाइले होला, जिउ निकै दुखेको छ। त्यसैले शनिबार दिनभर सुतेर बसेँ। टाउकोमा दुखेको भने केही कम भएको छ। अहिले छुँदामात्र दुख्छ। पूरा जिउ र खुट्टा पनि दुखिरहेको छ। खुट्टामा पनि उनीहरुले हानेको अहिले आएर सम्झिरहेको छु। हिजो राति सुत्नै सकिनँ- त्यही चारैतिरबाट घेरिएर कुटिएको र आफू निरीह बनेकोमात्र आँखामा आइरह्यो। बिगारिएको क्यामेरा देख्दा पनि मन चसक्क हुने गर्छ। मेरो दुःखमा साथ दिनुभएकोमा र नैतिक र आर्थिक सहयोग गर्ने, गर्ने प्रतिवध्दता जनाउने सबैलाई धन्यवाद छ। केहीले भने तैँले चुटाइ-सुटाइ केही खाएको हैन, पैसा कमाउन नाटक गरेको हो भनेर समेत लेखे। त्यस्तो लेख्नेहरुमा विद्वान भनाउँदा पाठकहरुसमेत थिए। मानवीय संवेदनाको समेत ख्याल राख्न नसक्ने उनीहरुलाई म धन्यवाद बाहेक अरु के भनौं होला ! अहिले म यहाँ सात दलको आमसभाका दुई वटा भिडियो ब्लग प्रस्तुत गर्दैछु। हुन त यी भिडियो ब्लग यसअघि नै गर्नु पर्ने हो। तर समय र परिस्थिति नै त्यस्तै पर्यो। भिडियो हेर्न भित्र आउनुहोला। (more…)
२०६२ पुस १ शुक्रबार
[अपडेटः आज खिचेका भिडियोबाट बनाइएका तीन भिडियो ब्लगहरु भित्र राखेको छु]
आज एउटा डरलाग्दो अनुभवबाट गुज्रिएँ। उफ् …..! सोच्दै डरलाग्छ…..चारैतिर मण्डले र गुण्डाहरुले मलाई घेरिरहेका अनि जथाभावी बोल्दै क्यामेरा खोस्न खोजिरहेका…! बीचमा म एक्लै ! उनीहरुले मलाई टाउकोमा काठले प्रहार गरे…कञ्चटमा हाने….भूइँमा लडाएर लात्तिले दिए….उफ्…! ज्यादै डरलाग्दो अनुभव थियो त्यो। अहिले यी शब्द लेखिरहँदा पनि टाउको र कञ्चटमा पीडा भइरहेको छ।
….चर्का नारा लगाउँदै गएका आन्दोलनकारीहरुमाथि उनीहरुले एक्कासी ढुंगाले आक्रमण गरे। त्यसपछि आन्दोलनकारीहरु तितरबितर भए। तितरबितर भएपछि ती मण्डले गुण्डाहरुले छानी-छानी उनीहरुलाई कुट्न थाले। कुटाइ पनि निकै डरलाग्दो। काठको ठूलो क्रिकेट ब्याट जस्तोले भूइँमा लडाएर ड्याम्म ड्याम्म। अनि एक जनाले त बडेमानको ढुंगा बजारेको पनि देखियो। दुई जनालाई त मेरै अगाडि ढालेका थिए। (more…)
२०६२ मंसिर २८, मंगलबार
नेपाली सञ्चार माध्यमहरुमा पनि ब्लगको विषयमा बिस्तारै चर्चा हुन थालेको छ। सूचनाको वैकल्पिक स्रोतका रुपमा ब्लग साइटहरुलाई स्वीकार गर्न थालिएको छ। यसै क्रममा आज मेट्रो एफएमको आईटी सम्बन्धी एउटा कार्यक्रममा ब्लग साइटहरुलाई मुख्य विषयवस्तु बनाई कार्यक्रम प्रसारण भएको थियो। त्यसमा मेरो संसारको बारेमा पनि चर्चा भएको थियो र मेरो पनि टेलिफोनबाट प्रत्यक्ष अन्तर्वार्ता लिइएको थियो। यो मेरो दोस्रो अन्तर्वार्ता थियो। यसअघि कान्तिपुर टेलिभिजनमा मेरो सानो बाइट प्रसारण भएको थियो।
बिहान अचानक ब्लगसम्बन्धी इन्टरभ्यु दिनुपर्यो भनेर फोन आउँदा पहिला त छक्कै परेँ। कस्तो खालको इन्टरभ्यु भनेर सोध्दा इन्फर्मल कुरा हो भने पछि कुरा गर्न राजी भएँ। उसले सवा १२ मा कल गर्छु भनेर फोन राख्यो। म भने कस्तो कार्यक्रम रहेछ यो भन्दै रेडियोमा मेट्रो एफएम ट्युन गर्न थालेँ। एफएम सुन्ने बानी हराइसकेको छ आजभोलि मेरो। यसमा शाही सरकारको पनि कृपा छ। एफएममा सुन्ने भनेकै न्युज हो मैले। त्यो पनि कहिले बन्द हुने, कहिले खुला हुने भएपछि एफएममा समाचार सुन्ने बानी पनि हराइसकेको छ। त्यसैले मेट्रो एफएम खोज्नै गार्हो पर्यो। बल्ल बल्ल भेट्टाएँ। (more…)
२०६२ मंसिर ५, आइतबार
केही दिनदेखि केही गर्नै मन लागेको छैन र झन्-झन् निराशावादी सोचले मनमा डेरा जमाउँदैछ। यस्तो अवस्थामा दिमागमा केही नभएकोले ब्लग पनि लेख्न विषय पाइरहेको छैन। आज भूतपूर्व अफिस च्यानल नेपालमा आफैले गरेको कामको पैसा लिन गएको थिएँ। यो आफ्नो बाँकी पारिश्रमिक लिने काम पनि अदालतमा तारिख धाउने काम जस्तो भएको छ। अवकाश दिइसकेपछि बाँकी रकम एकमुष्ट दिनुपर्ने हो तर हाम्रो त कतै नभएको चलन ! दुई हप्तामा एक चोटी पैसा दिने रे त्यही पनि ५ हजारमात्र। यो हिसाबले त मेरो बाँकी 66 हजार चानचुन उठाउन त महिनौं लाग्ने भयो….। त्यही ५ हजार भए पनि पाएको भए सभागृहमा भइरहेको पुस्तक प्रदर्शनीबाट केही पुस्तक किनी आनन्दले पढ्ने विचार थियो। तर त्यति पैसा पनि बाँड्दाबाँड्दै सकियो रे…! के भन्ने, के नभन्ने ? रित्तै फर्किनु पर्यो। च्यानल नेपालले अवकाश दिएको एक महिना नाघिसकेको छ। यी दिनहरु कसरी बिताएँ भनीसाध्य छैन। निकै गार्हो हुँदो रहेछ खाली समय बिताउन। साँझतिर च्याटमा भेटिएका एक साथीलाई मैले आफ्नो बारेमा बताएँ र लौ न यसको बारेमा एउटा डकुमेन्ट्री बनाउ भनेर जिस्किएँ। तर उ त गम्भीर पो भयो। अरु नेपाली पत्रकारहरुको दयनीय स्थितिलाई पनि समेटेर एउटा डकुमेन्ट्री बनाउने इच्छा मेरा ती पत्रकार साथीले देखाए। (more…)
२०६२ कात्तिक २५, शुक्रबार
चैतको अन्तिम सातातिर आफ्नै गन्थन आफ्नै लागि लेख्न थालेको मेरो संसार ब्लगले सात महिनामा नै एक लाख भिजिटर पाउँछ भनेर मैले त्यतिबेला कल्पना पनि नगरेको कुरा आज सुखद सत्यका रुपमा मेरो सामु आएको छ। प्रतिगमनलाई सघाउने गरी सर्वोच्चको फैसला आएकै दिन जुरेको यो संयोगको प्रतिकात्मक महत्त्वलाई आत्मसात गर्दै म नभएको कुरा लेख्दैन, देखेको कुरा छाड्दैन भन्ने मेरो आफ्नै ब्लगको सिध्दान्तलाई पालन गर्ने प्रतिवध्दता व्यक्त गर्दछु। (more…)
२०६२ कात्तिक २० आइतबार
अपडेटः आज १० बजे एकाउन्टमा जाँदा १ बजे आउन भनियो। १ बजे जाँदा स्पेसटाइम नेटवर्कका टाउके हाकिम माथेमा बूढोले जमिम शाहसँग कुरा गर्दैछु २ बजे आउनु भनी भने। हामी बाहेक स्पेसटाइम नेटवर्कका निकालिएका कर्मचारीहरु पनि थिए त्यहाँ। उनीहरुमध्ये एक जना ११ वर्ष काम गर्दा पनि गोलाप्रथा भनेर निकालियो, तर त्यसमा दुःख लागेको छैन, पैसा चाहिँ हामीले पाउनु पर्ने पाउनु पर्यो भनी कराउँदै थिए। झुलाउने पारा हो भन्ने थाहा थियो तर पनि २ बजे गयौं। २ बजे जाँदा त बूढो बेपत्ता भइसकेको रहेछ। नेटवर्कका साथीहरुलाई सोध्दा उनीहरुले कारै रोकेका थिए रे पैसा नदिई जान पाउन्नौ भनेर। पछि बूढोले तिमीहरुकै काममा जान लागेको हो, लिस्ट बोकेको छु, पैसाको जोहो गर्नु परेन भनेर भन्दै थिए रे। अब उनी आउन्नन् भनेर हामी (मणी र मलाई) थाहा थियो। त्यसैले हामी कुर्ने मूडमा थिएनौं बरु भोलि आउने मूडमा थियौं। भोलि बिहान अर्का साथीहरु राधेश्याम र चिरञ्जीवी पनि साथै हुनेछन्। एकछिन त्यहाँ कुरा गरेर बस्यौं। नेटवर्ककाहरु पनि रिसाउँदै थिए, त्यत्रो २० दिन भइसक्दा पनि पैसा दिनुपर्छ भनेर मिलाएर राख्न सक्दैनन्, भिख मागे जत्तिकै गर्ने भयो ….हरुले। उनीहरुका त धेरै बाँकी छैन रहेछ लिन बाँकी १५-२० हजार मात्रै हो रे। एकछिन त्यहाँ कुरा गरेर हामी फेरि माथि एकाउन्टमा कति पैसा बाँकी रहेछ लिन भनेर हेर्न गयौं। बुझ्दा कर-सर काटेर कूल ७६ हजार ६ सय २५ रुपैया लिन बाँकी रहेछ उनीहरुको हिसाबमा। हाजिरीको हिसाब पठाउँदा दशैं तिहारमा गरेको अोभरटाइमको हिसाब पठाएनछन् सदीपमान सिंह भन्ने एउटा कर्मचारीले। भैगो, यत्ति पैसा उठाउन पाए त्यो दशैं तिहारमा गरेको अोभरटाइम दान भयो च्यानल नेपाललाई नै। अर्को स्पेसटाइमको २२५०० को त हिसाब नै छैन रहेछ। स्पेसटाइमको त लेखाशाखा पनि छैन अहिले त। त्यो पैसा उठाउन त झन गार्हो हुने भइसक्यो। मणीको भने हाजिरै कम पठाएछ, कराउनु पर्छ भन्दै रिसाउँदै अफिसतिर लागेको थियो। म भने घरतर्फ हिँडेँ। हेरौं, अब भोलि के हुन्छ ? भोलि पनि झुलाउने पारा निकाल्यो भने अलि गतिलै पाठ सिकाउनु पर्ला जस्तो छ। (815 pm NST)
मूल ब्लग केही दिनदेखि केही गर्ने मूड चलेको छैन। च्याने (च्यानल नेपाल)को जागीर चयट भएपछि दिन बिताउन गार्हो हुँदैछ। साथीले सानै उमेरमा अवकाश पाएर बोर भयो भनेर गरेको जोकको मर्म अहिले बुझिरहेको छु। खाली समय कटाउन मस्तसँग पडकास्टिङको परीक्षण र ब्लग गरियो। अब यो समयलाई जागिर खोज्न र अलि पैसा आउने कामतिर पनि लगाउनु पर्ने भएको छ। १५ दिनपछि हरहिसाब बुझ्न लेखाशाखामा सम्पर्क राख्नु भनेर अवकाश पत्रमा लेखिएको थियो। तर १५ दिनमा ठ्याक्कै तिहार पर्यो। तिहारमा दिदीबहिनीलाई दक्षिणा दिन पनि त्यो तलब काम आउन सकेन। तिहारपछिको अफिस खुल्ने दिन आज हामी अवकाशप्राप्तहरु बिहान साढे १० बजे लेखाशाखामा जाँदैछौं। हेरौं के हुन्छ ?
२०६२ कात्तिक १५ मंगलबार
मैले आफ्नो क्यामेराको लागि मेमोरी कार्ड सहयोग स्वरुप पाएको छु- यो खुसीको खबर तपाईँहरुलाई पहिले नै सुनाउनु पर्ने हो। तर बीचमा जागिर खुस्केपछिको उथलपुथल मनस्थितिका कारण अधुरै रह्यो। त्यसमाथि मलाई जसले हुलाकमार्फत् कार्ड पठाउनुभएको थियो, उहाँले आफ्नो परिचय दिन चाहनुभएन। “ब्लगको एक शुभचिन्तक र नेपालमा एक सफल लोकतन्त्र देख्न आतुर प्रवासी नेपालीको रुपमा मेरो परिचय सिमित गर्नुहोला” उहाँले यसो भन्नुभयो। विगत केही दिनमा मैले गर्न सकेका लामो अवधिका भिडियो ब्लग त्यही कार्डका कारण संभव भएको हो।
यो कार्ड सहयोगस्वरुप प्राप्त भएका कारण म धेरै खुसी छु। मेरो ब्लग सहभागितामूलक पत्रकारितातर्फ अग्रसर भइरहेको प्रमाण हो। सहभागितामूलक पत्रकारिता अर्थात् पाठक वा दर्शक सहभागी हुन पाउने। दोहोरो संवाद, सहयोग हुने। मेरो संसार कुनै व्यापारीको पैसामा चलेको पत्रिका वा सञ्चार माध्यम हैन। यो व्यक्तिगत प्रयासमा पाठकलाई सूचना र मनोरञ्जनका साथ आफ्ना व्यक्तिगत भावना साट्न बनाइएको मञ्च हो। त्यसैले यसलाई पाठकको सहयोगको सदा खाँचो रहन्छ। मलाई थाहा छ, मेरो संसारले छोटो समयमा पाएको लोकप्रियता देखेर इर्ष्या गर्नेहरु धेरै छन्। कतिले कमेन्टमार्फत् त्यसलाई पोखेका छन्। कति कमेन्ट त राख्नै नमिल्ने गरी गालीले भरिएका हुन्छन्। ममाथि व्यक्तिगत आक्रमण हुने ईमेलहरु लगातार आइरहेका छन्। यो सहयोगको कुरा सार्वजनिक भएपछि त्यस्तो क्रम अझ बढ्ने मैले अनुमान लगाएको छु। तर म त्यतिबेलासम्म विचलित हुन्न, जबसम्म मलाई पाठकहरुले साथ दिनुहुनेछ। मलाई त्यतिबेला सन्तोष लाग्छ जब मलाई कमेन्टमार्फत् लगाइएका आरोपको जवाफ पाठकले कमेन्टबाट नै दिन्छन्। (more…)
२०६२ कात्तिक ३, बिहीबार
यो दोस्रो लट भनेको डीभीको हैन नि फेरि। डीभी भर्ने कार्य त धमाधम हुँदैछ। मैले कुरा गरेको चाहिँ च्यानल नेपाल कै हो। बिना काम अफिसमा गएर हल्लिएर बस्ने जस्तो झ्याउ काम अरु नहुने रहेछ। गफैगफमा सुनिए अनुसार फेरि १८ जनालाई अवकाश दिने पत्र आउँदैछ रे दोस्रो लटमा। अनि शान्तिनगरको हेडअफिस पनि पुनः मिनभवनमा नै सर्दैछ रे तिहारपछि। आज आर्काइभ र स्टोरको क्लियरेन्स र परिचय पत्र पनि बुझाइदिएँ। अब यहाँबाट हिसाब हेरेर स्पेसटाइम नेटवर्कको लेखाशाखामा यति पैसा लिन बाँकी छ दिनू भनी सिफारिश पठाउन बाँकी रहेछ। पैसा बुझ्न चाहिँ उतै जानु पर्ने रे। त्यत्रो पैसा कसरी दिन्छ होला अफिसले ? हरेकको ६०-७० हजार बाँकी छ भन्ने सुनिन्छ। आफ्नो त त्योभन्दा बढी छ। आज काठमाडौंमा जाडो निकै बढेको छ। पानी पनि असार साउनमा भन्दा बेसीसँग परेको पर्यै छ। ब्लगरहरुको अनौपचारिक एकताको परिचय स्वरुप मैले “समवेदना” सन्देश पाइरहेको छु, हिजो ब्लगर नेपालका केपीले र आज युडब्लुबीका उज्ज्वलजीको समवेदना पाएँ। असत्ती एनटीसी मोबाइलको नेटवर्कले गर्दा उज्ज्वल जीको पुरुष आवाज त माघ १९ का दिनपछि सर्टवेभ रेडियोमा बीबीसी सुन्दा क्याथी र्याम्सको आवाज जस्तै पो सुनिएको ! मैले ल्यान्डलाइनमा फोन गर्न नम्बर टिपाएको थिएँ तर पानी परिरहेको बेला भिजेर मेटिएछ कि के हो, रिङ बजेन फेरि। नेपाल इन्फोका ब्लगर साथीले पनि हिजै च्याटबाट “समवेदना” सन्देश दिइसके। यसबीच, केही दिनदेखि ब्लग हेर्नेको संख्या ह्वात्तै बढेको रहेछ। कमेन्टहरुमा मलाई व्यक्तिगत लाञ्छना लगाउन पनि थालिएछन्। मलाई भने त्यसको वास्ता छैन। वर्डप्रेसका संस्थापक निर्माता म्याथ्यु मुलेनवेगको विचारलाई म आदर्श मानी हिँडिरहेको छु। उनी भन्छन्, ब्लग लेख्दा अरुले के सोच्लान्, त्यसको वास्ता नगर, आफूलाई के लेख्दा खुसी लाग्छ त्यही लेख। स्वयंप्रति इमान्दार भयौ भने पाठक आफसेआफ जोडिनेछन्…।
२०६२ कात्तिक २ मंगलबार
पैसा नदिएसम्म अवकाश पत्र नबुझ्ने भनेर हिजो सोचेको भए पनि हरहिसाब मिलानको लागि सबै प्रक्रिया अगाडि बढाउन नियमअनुसार गर्नुपर्ने काम गर्नैपर्यो। त्यसैले अवकाश पत्र बुझेँ। अवकाश पत्र नबुझ्नुको अर्थ निकाल्न खोज्दा पनि निस्कन नचाहने जस्तो हुने थियो। त्यसमाथि त्यो “दलदल”मा फँसेर अझै आफ्नो पैसा डुबाउनुको सट्टा खुरुक्क बाँकी रकम उठाउनु र मेरा एक पुराना सहकर्मी मित्र दीपेन्द्र लामाको शब्दमा “कुवा” बाहिर निस्कनु नै श्रेयस्कर हुन्थ्यो। मलाई अहिले सबैभन्दा बढी डर लागेको चाहिँ त्यहाँ रहेको बाँकी पैसा उठाउन नसकिएला कि भन्ने हो। सोझालाई पायो भने त जहाँ पनि हेपिने रहेछ। फेरि यसअघि छाडेका कति साथीहरुको रकम अझै पनि भुक्तान भएको छैन रे। आज सहकर्मी बालचन्द्र मिश्रको सहयोगमा कति पैसा उठाउन बाँकी रहेछ भनी हिसाब गरी हेर्दा लिन बाँकी रकम झण्डै एक लाख रहेछ। हिसाब हेर्न यहाँ क्लिक गर्नुस् बाँकी (more…)
२०६२ कात्तिक १, मंगलबार
च्यानल नेपालको मेरो जागिर आजैका मितिदेखि लागू हुने गरी “चट” भएछ। सुनेको त थिएँ १ गतेदेखि व्यापक म्यानपावर कटौति हुँदैछ भनी। तर मलाई त थाहा पनि थिएन। बिहानको सिफ्टमा मजाले आफ्नो र अरुको पनि (मेरो काम अन्तर्राष्ट्रिय समाचारको डेस्कमा हो, समाचार बनाउने, त्यस अनुसारको भिजुअल खोज्ने अनि एडिटिङमा मिलाउने। तर अरु मान्छे नभएकोले बिहानी डेस्कका शम्भु पोखरेलले सहयोग गर्न आग्रह गरे बमोजिम अरु समाचार टाइप गरेर मिलाइदिई पावरप्वाइन्टमा स्लाइड मिलाएर पढाउन समेत सहयोग गरिरहेको थिएँ केही दिनदेखि) काम सकाएर घर फर्किसकेको थिएँ। साँझ सहकर्मी बालचन्द्र मिश्रले फोन गरेर हाजिरकपीमा मैले बिहान गरेको हाजिरलाई समेत केरेर “लेफ्ट” भनी लेखिएको छ भनेपछि मात्र थाहा पाएँ। उहाँका अनुसार “कू”मा पर्ने न्युजका अरु सहकर्मीहरुमा राधेश्याम दाहाल, मणी दाहाल, रञ्जन झा, कोमल शेरचन पनि रहेछन्। इन्टरटेनमेण्टका प्रायः सबै पनि निकालिनेमा परेका छन् रे। निकालिएकोमा भन्दा पनि अब गरिसकेको कामको पैसा कसरी उठाउने भन्ने चिन्ताले पो सताउन थाल्यो त मलाई। हिसाब गरी हेर्दा त पोहोरको असोज, कात्तिक, मंसिर, पुस, माघ, फागुन, चैत र यस वर्षको भदौ र असोज अनि स्पेसटाइममा काम गर्दाखेरीको असार, साउन र भदौ गरी एक वर्ष बराबरको तलब रकम पो उठाउन बाँकी रहेछ त। पैसा नलिई अवकाश पत्र बुझ्ने कुरा त आउँदैन। खै, कसरी, के पो गर्ने हो, म त सार्है दुविधामा पो परेँ त। बाँकी (more…)
२०६२ असोज २५, मंगलबार
[सावधानः ताजा समाचार र विचारका लागि तपाईँ यस ब्लगमा आउनुभएको हो भने यो पोस्ट तपाईँका लागि रुचिकर नहुन सक्छ। किनकि यसमा मेरा नितान्त निजी अनुभवहरु र तस्वीरहरु छन्। समाचार र विचारका लागि यस ब्लगमा रहेका अरु पोस्टहरु हेर्नुहोला। यो पोस्ट मैले आफू र आफ्नो परिवार अनि इच्छुक अरु पाठकका लागि मात्रै लेखेको हुँ]

अन्तिम सत्यः जीवन भर लोभ-मोह, पाप, घृणा गरेपनि अन्तिम सत्य त यसरी नै खरानी हुनु न हो। तर खै त यो जीवन दर्शनलाई बुझेका मानिसहरुले ? हजुरबुबा आफ्नो अन्तिम यात्रा तय गर्दै। फोटोः उमेश
दसैँको आठौं दिन महाअष्टमीमा आज बिहानैदेखि मेरो दिन ठीक रहेन। हिजो राति अबेरसम्म ब्लग लेख्दै बिहानको २ बजेतिर सुतेको थिएँ। एकाबिहानै पाँच बजे फोनको घण्टी बज्यो- हजुरबुबा बित्नुभएछ ! ६ बजेतिर घरबाट निस्केर त्यतातर्फ लागेँ तर दशैँको बेला शव वाहन नपाएर अन्तिम संस्कार कार्य ढिला भयो। पशुपति आर्यघाटबाट फर्कँदै गर्दा दिउँसो हामी चढेको माइक्रोबस भद्रकालीमा दुर्घटना भयो। देख्दादेख्दै दुई जना मान्छेलाई ड्राइभरले डरलाग्दोसँग ठक्कर दियो। शायद एकजना त मर्यो नै कि ! माइक्रोको फुटेको शिशा मेरो शरीरमा पनि परेछ। यसरी आजको दिन त्यति राम्रो भएन मेरो लागि। त्यसै पनि दिक्कलाग्दो बनेको यसपालिको दसैं अब झनै खल्लो हुने भयो। बाँकी (more…)
२०६२ असोज २१ शुक्रबार
मेरो संसार सरकारी अधिकारीहरुको नजरमा पनि परेको छ भन्ने सुनेको मात्र थिएँ। तर आज प्रत्यक्ष प्रमाण देखियो। मंगलबार मैले राजाको निर्माण हुँदैछ भनी एउटा ब्लग लेखेको थिएँ। त्यसमा मैले राजाको व्यक्तिगत विवरण अपडेट गर्न ढिलाइ भइरहेको विषयमा कुरा उठाएको थिएँ। मेरो संसारले उठाएको कुरा तत्काल सम्बन्धित पक्षकहाँ पुगेछ र हिजो बिहीबार नै “निर्माण भइरहेको ” राजाको प्रोफाइल पूरा भएछ। यी हेर्नुस् न यहाँ क्लिक गरेर। गएको मंगलबारसम्म यो साइटमा यस्तो देखिएको थियो। राजा र रानीको प्रोफाइल हतार-हतार तयार पारेर राखिए पनि मैले त्यो ब्लगमा उल्लेख गरेका व्याकरणीय गल्ती भने अझै कायमै छन्। अनि रोचक कुरा, संसद अझै गायब नै छ।
२०६२ असोज १९ बुधबार

अहिले नेपालीहरुमा शुभकामना दिने लहर चलेको छ। नेपालीहरुको महान चाड दशैं मंगलबार घटस्थापनापछि अौपचारिक रुपमा सुरु भइसकेको छ। वातावरण दशैंमय हुन थालिसकेको छ। त्यसैले शुभकामना आदानप्रदानको क्रम पनि बढेको छ। तर, मैले एसएमएस, फोन र इमेलबाट पाएका ९० प्रतिशत शुभकामनामा विजयादशमीको शुभकामना दिइएको हुन्छ। हुनत शुभकामना भनेको दिनेको खुशी हो, यही शुभकामना ले भनेर भन्ने कुरा आएन। तर पनि मलाई लाग्छ मान्छेले नबुझेर विजयादशमी एक दिनको मात्र शुभकामना दिइरहेका छन्। जबकि पूरै दशैंको “थोक” शुभकामना दिन मिल्छ त्यही पाँच छ शब्दको प्रयोगबाट। फेरि हामी नेपालीहरु भारतीयहरु जस्तो विजयादशमीको दिनलाई मात्र चाडका रुपमा मान्दैनौं। हाम्रो लागि त पूरै दशैं चाड हो। हाम्रो लागि दशैं धर्मभन्दा पनि संस्कृति हो। घटस्थापनादेखि पूर्णिमासम्मको दिनलाई हामी दशैंका रुपमा मनाउँछौं। त्यसैले विजयादशमी एक दिनको लागि मात्र शुभकामना दिनुको सट्टा समग्र दशैंको शुभकामना दिन किन कञ्जुस्याइँ गर्ने, कि कसो साथी हो ? (तस्वीर साभारः परेवा डट कम)
२०६२ असोज १५ शनिबार

केटिभीमा प्रसारण हुँदै गरेको आफ्नो दृश्य आफैले खिच्दा…..
नेपालको पहिलो ब्लग साइट युनाइटेड वी ब्लगको पहिलो वार्षिकोत्सवका अवसरमा आज काठमाडौंमा रहेका सञ्चारमाध्यममा कार्यरत ब्लगरहरुको भेला नयाँ बानेश्वरस्थित एउटा रेस्टुरेण्टमा भयो। कान्तिपुर टेलिभिजनले आफ्नो प्राइम टाइम न्युज बुलेटिनमा यससम्बन्धी समाचार प्रसारण गरेको थियो। समाचारका क्रममा नेपाली भाषाको पहिलो ब्लगका रुपमा मेरो संसार साइटको होमपेज टेलिभिजन स्क्रिनमा देखाइएको थियो भने मेरो बाइट (छोटो अन्तर्वार्ता) पनि प्रसारण भएको थियो। नेपालको टेलिभिजनले ब्लग सम्बन्धी समाचार प्रसारण गरेको यो पहिलो अवसर थियो। समाचारका लागि केटिभीका दुई “सेलिब्रिटी” पत्रकारहरु दीपक भट्टराई तथा क्यामेराम्यान श्याम श्रेष्ठ भेलामा सहभागी भएका थिए। भट्टराई र श्रेष्ठलाई मैले यसकारण सेलिब्रिटी पत्रकार भनेको हुँ- दीपक भट्टराई होर्डिङ बोर्ड र प्रेस विज्ञापनमा मोडलिङ गर्ने नेपालका पहिला रिपोर्टर हुन् भने श्याम श्रेष्ठ, त्यही भेलामा अरुले सुनाए अनुसार, कतिपय चलचित्रहरुमा अभिनय गरिसकेका कलाकार हुन्। (more…)
२०६२ असोज १४ शुक्रबार
अहा…आज पहिलो पटक ब्लग गरेको स्वाद पाउँदैछु। आलोचना सुन्न पनि रमाइलो नै हुने रहेछ। आज कमेन्ट लेख्ने एक मित्रले मलाई बहुलाएको आरोपमात्र लगाएनन्, देश बिग्रनुको कारण नै म जस्तो व्यक्तिहरुले गर्दा हो रे। अनि अन्त्यमा अझै यस्तै कुरा लेख्न जारी राखे स्वर्गमा भेटौंला भनी धम्की पनि दिएका छन्। आईपी एड्रेस ट्र्याक गरी हेर्दा उनले कुबेतबाट यो पठाएका रहेछन्। मलाई यो बारेमा स्पष्टिकरण दिने रहर छैन। बरु विरोधी विचारकाहरुले पनि मेरो ब्लग पढ्न थालेकोमा उल्टै खुसि लागेको छ। (more…)
२०६२ भदौ ३० बिहीबार
ब्लग अझै पनि केही नेपाली पाठकहरुका लागि नौलो विषय भइरहेको छ। वास्तवमा ब्लगमा पाठक र लेखकको नजिकको सम्बन्ध हुन्छ। त्यसैले यो लोकप्रिय बन्दै गएको हो। ब्लग सूचना दिने निजी प्रयास हो। त्यसैले यसलाई लाखौंको लगानी भएको अन्य समाचार पत्रिका, साइटसित तुलना गर्न मिल्दैन। तर पनि विश्वका केही ब्लग साइटहरुदेखि चलेका भनिएका वेबसाइटहरु इर्ष्या गर्छन्। नेपालमा त्यस्तो भइसकेको त छैन, तर बिना सेन्सर, बिना कसैको दबाब जे देख्यो, त्यही लेख्ने ब्लग साइटहरु लोकप्रिय भइरहेका छन्। विदेशमा ब्लगिङलाई नै पेशा बनाएका व्यावसायिक ब्लगरहरु पनि थुप्रै छन्। उनीहरु पाठकबाट आफ्नो खर्च उठाउँछन्। नेपालमा त्यतिसम्मको कल्पना हामी गरिनहालौं तर पछिल्ला केही ब्लगहरुमा मैले आफ्नो क्यामेरामा मेमोरी कार्ड नभएर समस्या भइरहेको उल्लेख गरेपछि केही पाठकले प्रतिक्रिया लेखी र केहीले इमेलमा सम्पर्क गरी सहयोग गर्ने प्रतिवध्दता देखाएकोले म उत्साहित भएको छु। त्यसैले मैले आजदेखि 512 MB को SD Memory Card खरिद गर्न $ 100 (7000 नेरु) तपाईँहरुसित संकलन गर्ने अभियान सुरु गरेको छु। बाँकी (more…)
२०६२ भदौ २९ बुधबार
आन्दोलनरत दलहरुले हिजो ठूलो साहस देखाए। उनीहरुले माघ १९ पछि कै सबैभन्दा विशाल प्रदर्शन गरी सरकारी निषेधाज्ञा तोडे। तर यस क्रममा केही डरछेरुवा भ्रष्ट नेताहरुलाई पनि मैले आफ्नै आँखाले देखेँ जो अग्रपंक्तिमा नभई डराएर पछाडि बसिरहेका थिए। आफ्नै कार्यकर्ताहरुले चुरा लगाएर घरमा बस नेताहरु भनी भन्दासमेत अगाडि नआई उनीहरु लुसुक्क त्यहाँबाट बेपत्ता भए। बाँकी (more…)