February 27, 2006

मेरो संसारको नयाँ ठेगाना याद राख्नुस्

यदि तपाईँ झुक्किएर वा डुल्दाडुल्दै यहाँ आइपुग्नु भएको भए नयाँ ठेगाना याद राख्नुस्- www.merosansar.com.np

February 1, 2006

‘मेरो संसार’ अब निजी सर्भरमा

२०६२ माघ १९, बुधबार
एक वर्षअगाडि आज कै दिन राजाले प्रतिगमनकारी कदम चालेका थिए, सञ्चार माध्यममा समेत हतियार बोकेका सैनिक पठाएर समाचार सेन्सर गराउने धृष्टता गरेको थियो। आज त्यही दिन ‘मेरो संसार’ ले निजी सर्भरमा जाने निधो गरेको छ। अर्थात् हामी निःशुल्क बस्न पाइने धर्मशालालाई त्यागेर भाडा तिरेर बस्ने राम्रो कोठामा आइपुगेका छौं। कसैलाई लाग्ला, किन यही दिन रोज्नु पर्‍यो ? किनभने यही दिनबाट नै नेपालीहरुमाझ वैकल्पिक समाचारको स्रोतका रुपमा ब्लग अगाडि आउन सुरु गरेको हो। ब्लगका लागि यो दिनको महत्त्व राजाका लागि शाही घोषणा भन्दा पनि महत्त्वपूर्ण छ।

मेरो संसारले गत वर्ष अप्रिल महिनामा अर्थात् २०६१ को चैत महिनामा ब्लग सुरु गरेदेखि नै ब्लगसमको निःशुल्क स्थानको उपयोग गर्दै आएको थियो। यसबीच मेरो संसारको सफलताबाट इर्ष्या गर्नेहरुले विभिन्न बहाना बनाएर ब्लगसममा उजुरी हालेर झण्डै २४ घण्टा साइट सस्पेन्ड समेत गराउन सफल भएका थिए। निजी सर्भरमा गइसकेपछि उनीहरुलाई यस्तो गर्न गार्‍है पर्नेछ।

www.merosansar.com.np टाइप गरी यो ब्लग हेरिरहनुभएकाहरुले कुनै परिवर्तन गर्नुपर्ने छैन। ज-जसले merosansar.blogsome.com टाइप गरी हेरिरहेका हुन्, उनीहरुले अबदेखि www.merosansar.com.np मा गए मात्र ताजा ब्लगहरु हेर्न पाउने छन्। पुराना ब्लग र त्यसमा भएका कमेन्टहरु यहीँ रहनेछन्। नयाँ घरमा त्यसलाई सार्ने क्रम जारी रहनेछ।

यो साइटबाट RSS फिड लिइरहेकाहरुलाई परिवर्तित ठेगानाबाट RSS फिड लिन हुन अनुरोध छ।

आजैबाट मेरो संसारले Interact System Pvt. Ltd. सितको सहकार्यमा www.merosansar.info पनि सञ्चालन गर्ने घोषणा गर्दछ। यसमा ब्लगबाहेक अन्य सेवाहरु सञ्चालन हुनेछन्। हामीले हाल विश्वमा लोकप्रिय भइरहेको सिटिजन जर्नलिज्म अर्थात् नागरिक पत्रकारितामा आधारित रहेर एउटा सेवा सुरु गर्ने विचार गरेका छौं। त्यस्तै फोरम पनि सञ्चालन गर्ने हाम्रो सोच रहेको छ।

आज कै दिन मेरो संसारले आफ्ना केही ऐतिहासिक भिडियो ब्लग समेटिएको भिसिडीको पहिलो भाग सार्वजनिक गर्ने जमर्को गरेको छ। यसको विमोचन तपाईँ पाठक कै हातबाट गरिनेछ। कृपया यहाँ क्लिक गरी यो भिसीडीको विमोचन गर्नुका साथै एक झलक हेरिदिनु हुन अनुरोध छ। माथि क्लिक गर्दा भिडियो नखुलेमा भित्र आउनुहुन अनुरोध छ। भिसिडीको बारेमा थप जानकारी पनि भित्र (more…)

January 20, 2006

निरंकुश सत्ताको कडा दमनका बावजुद प्रदर्शन

भिडियो हेर्नका लागि तलको प्लेयरमा क्लिक गर्नुहोला। टिप्सः यदि तपाईँको इन्टरनेट कनेक्सन स्लो छ भने पहिला बायाँ छेउको पज बटन थिचेर एक छिन पछि पुनः सोही बटन थिचेर हेर्नुभएमा आरामसित हेर्न सकिन्छ।


…त्यहाँ भेटिएका एक विद्यार्थी नेताले पाटनको कृष्ण मन्दिरमा ४ बजे कार्यक्रम छ रे भनेर सुनायो। त्यति जानकारी हामीलाई पर्याप्त थियो। तर जुलुस निस्कन्छ नै भन्ने ग्यारेण्टी भने थिएन। किनभने गगन थापा, रामकुमारी झाँक्री जस्ता सशक्त विद्यर्थी नेताहरु गिरफ्तार भइसकेका थिए। अनि अरु विद्यार्थी नेताहरु पनि भूमिगत भइसकेका थिए। चार घण्टामात्र सुतेको हुनाले एक त निद्रा नपुगेको, त्यसमाथि हिँडेर त्यत्रो बाटो जाँदा थाकेर लखतरान भइसकेको थिएँ म। अलि परतिर अरु विद्यार्थीहरु पनि भेटिए। यहाँ पनि अनेरास्ववियु कै आकस्मिक कार्यक्रम रहेछ। गिरफ्तारी नदिनू भन्ने निर्देशन रहेछ, त्यसैले बचेर छापामार शैलिमा कार्यक्रम गर्न लागेका रहेछन्। क्युरियो सामान बेच्ने स्थानमा उभिरहेका एक विद्यार्थी नेताले हामीलाई “सामान किन्न आउनु भएको हो ?” भनेर भने। बिस्तारै-बिस्तारै त्यहाँ विद्यार्थीहरु जम्मा भइरहेका थिए। तर सबै विद्यार्थी एकै ठाउँमा हैन, छुट्टाछुट्टै छरिएर बसेका थिए। इशाराबाट कुरा भइरहेको थियो। भिडियो खिच्दाको अनुभव पढ्न भित्र आउनुहोला। (more…)

बधाई छ शाही सरकार !

२०६२ माघ ७, शुक्रबार
DSCI0058
आउनुस्, हामी सबै मिलेर शाही सरकारलाई बधाई दिउँ। आखिर उसले बल प्रयोग गरेरै भए पनि आजको शान्तिपूर्ण सभालाई असफल पारेरै छाड्यो। मोबाइल बन्द अनि कर्फ्युका कारण घरमा बन्दी अवस्थामा मात्र हैन, आज दिनभर विद्युत आपूर्ति पनि बन्द गरेर हामीलाई कम मानसिक यातना दिइएन। विद्युत प्राधिकरणमा सोध्दा सुरक्षाकर्मीहरुले कर्फ्युमा निस्कने अनुमति नदिएको बताए। केही भिडियो ब्लगहरु खिचेको छु, त्यसलाई अहिले म अपडेट गर्ने प्रयास गर्नेछु।

January 19, 2006

उफ् ! बल्ल खुल्यो मेरो ब्लग

२०६२ माघ ६ बिहीबार @ 1035 pm NST
फोकटमा पाइएको सुविधा प्रयोग गर्दा पनि कहिलेकाहीँ निकै दुःख पाइने रहेछ। ब्लगसमले सर्भर परिवर्तन गर्ने भन्दै हिजोदेखि झण्डै २४ घण्टा ब्लगमा नयाँ पोस्ट राख्ने सुविधा नदिँदा रुनु न हाँस्नु भइयो। तै साथी ताजिमले उपलब्ध गराएको अस्थायी ठेगानामा केही पोस्ट गर्न पाएँ। यसका लागि ताजिमलाई धन्यवाद। अब माथि म त्यहीँ राखिएका पोस्टहरु कपी-पेस्ट गर्दै नयाँ पोस्ट पनि राख्न थाल्नेछु।

January 10, 2006

भिडियो ब्लगः पोखरामा नयाँ वर्ष

आजभोलि सार्‍है अल्छी भएको छु। खै किन हो कुन्नि। ब्लग गर्नका लागि खासै कुनै विषय पनि छैन। २८ गते जनकपुरमा सात दलको शक्ति प्रदर्शन हुँदैछ। त्यसअघि आज नेमकिपाले भक्तपुर-काठमाडौं जुलुस गर्न लागेको छ क्यारे। सँधै राजनीतिका कुरा लेख्न पनि झण्झट लाग्छ। फेरि आफूलाई राजनीति त्यति मन पनि नपर्ने। कतै कार्यक्रम भयो भने जे देख्यो त्यो लेख्ने र देखाउने मात्र हो मेरो काम। पोखरा यात्राका संस्मरण लेख्छु भनेको पनि यत्तिकै रहेको छ। बरु आज मैले पोखराको भिडियो ब्लग लिएर आएको छु। यसमा फेवातालमा बोटिङ गर्दाका दृश्य, लेकसाइडमा स्ट्रिट फेस्टिभलका क्रममा घैँटो फुटाउने प्रतियोगिता, लेकसाइडमा नयाँ वर्ष मनाउँको क्षण आदि समावेश गरिएको छ। भिडियो हेर्न भित्र आउनु होला। (more…)

January 8, 2006

गुरुजीको माया सम्झिने तरिका

पोखरा यात्राको संस्मरण- १

pokhara
यो गुरुजी उपन्यासकार सम्राट उपाध्यायको गुरु अफ लभका गुरुजी हैनन्। थाहा छैन, कहाँबाट चलन आएको हो यो- गाडी चालकलाई गुरुजी भन्ने ! यी गुरुजी थिए हामीलाई पोखराको गन्तव्य पुर्‍याउने अभिभारा लिएका ट्याक्सीचालकको। उनको माया सम्झिने तरिका पनि अनौठो नै रहेछ। त्यसो त उनको मायाप्रितिको कथा पनि कम रोचक छैन रहेछ। यात्राका क्रममा ती अपरिचित गुरुजीले हामी यात्रुहरुलाई आफ्नो कथा सुनाएका थिए। तपाईँको कथामा त फिल्म नै बनाउनु पर्छ कि क्या हो भनी मैले भन्दा उनी मुस्कुराए अनि यस्तो प्रतिक्रिया दिए मानौँ साँच्चिकै फिल्म बनाउन लागेको हुँ मैले। (more…)

January 3, 2006

म फर्किएँ: नयाँ वर्षको शुभकामना !

DSCI0130
कसैलाई खबरसम्म नगरी यसपालि इस्वी संवतको नयाँ वर्ष मनाउन म सुटुक्क उपत्यकाबाहिर लागेँ। एकदिन अगाडिसम्म म आफैलाई पनि बाहिर जान्छु भन्ने थाहा थिएन ! कहाँ गएको हुँ भनेर त माथिको फोटो हेरेर नै थाहा पाइहाल्नुभयो होला। डिसेम्बर ३० मा गएर आज बल्ल फर्किएको हुँ। यात्राका अनुभवहरु म पक्कै बाँड्ने नै छु। (more…)

December 18, 2005

कमिटी टु प्रोटेक्ट ब्लगर्समा “मेरो संसार”

२०६२ पुस ३ आइतबार

ब्लगरहरुको विश्वव्यापी सञ्जाल कति व्यापक छ भन्ने कुरा आज मैले बुझेँ। आज मेल चेक गर्दै जाँदा कमिटी टु प्रोटेक्ट ब्लगर्सका डाइरेक्टर कर्ट हप्किन्सको मेल देखेँ। झण्डै स्पाम मेल भनेर डिलिट गर्न लागेको थिएँ। उनले भर्खरै ममाथि भएको आक्रमणको बारेमा कहाँबाट हो खबर पाएछन् र त्यसका बारेमा जानकारी दिन अनुरोध गरेका थिए। मैले केही कुरा लेखेर पठाएँ। त्यसको केही घण्टामा नै कमिटी टु प्रोटेक्ट ब्लगर्सको वेबसाइटमा मेरो संसारमाथि भएको आक्रमणको बारेमा Nepali Blogger Attacked By Royalists शीर्षकमा समाचार प्रकाशित भइसकेछ। उनले मलाई निरन्तर सम्पर्कमा रहन र भएका कुनै पनि दुर्व्यवहारका बारेमा तत्काल खबर गर्न पनि भनेका छन्। यो नैतिक समर्थनका लागि मेरो संसार कमिटी टु प्रोटेक्ट ब्लगर्सप्रति कृतज्ञ छ।

भिडियो ब्लगः सात दलको सभा

२०६२ पुस ३ आइतबार
हिजोको चुटाइले होला, जिउ निकै दुखेको छ। त्यसैले शनिबार दिनभर सुतेर बसेँ। टाउकोमा दुखेको भने केही कम भएको छ। अहिले छुँदामात्र दुख्छ। पूरा जिउ र खुट्टा पनि दुखिरहेको छ। खुट्टामा पनि उनीहरुले हानेको अहिले आएर सम्झिरहेको छु। हिजो राति सुत्नै सकिनँ- त्यही चारैतिरबाट घेरिएर कुटिएको र आफू निरीह बनेकोमात्र आँखामा आइरह्यो। बिगारिएको क्यामेरा देख्दा पनि मन चसक्क हुने गर्छ। मेरो दुःखमा साथ दिनुभएकोमा र नैतिक र आर्थिक सहयोग गर्ने, गर्ने प्रतिवध्दता जनाउने सबैलाई धन्यवाद छ। केहीले भने तैँले चुटाइ-सुटाइ केही खाएको हैन, पैसा कमाउन नाटक गरेको हो भनेर समेत लेखे। त्यस्तो लेख्नेहरुमा विद्वान भनाउँदा पाठकहरुसमेत थिए। मानवीय संवेदनाको समेत ख्याल राख्न नसक्ने उनीहरुलाई म धन्यवाद बाहेक अरु के भनौं होला ! अहिले म यहाँ सात दलको आमसभाका दुई वटा भिडियो ब्लग प्रस्तुत गर्दैछु। हुन त यी भिडियो ब्लग यसअघि नै गर्नु पर्ने हो। तर समय र परिस्थिति नै त्यस्तै पर्‍यो। भिडियो हेर्न भित्र आउनुहोला। (more…)

December 16, 2005

मण्डलेहरुको आक्रमणबाट जसोतसो जोगिएँ (भिडियो ब्लगहरुसहित)

२०६२ पुस १ शुक्रबार
[अपडेटः आज खिचेका भिडियोबाट बनाइएका तीन भिडियो ब्लगहरु भित्र राखेको छु]
आज एउटा डरलाग्दो अनुभवबाट गुज्रिएँ। उफ् …..! सोच्दै डरलाग्छ…..चारैतिर मण्डले र गुण्डाहरुले मलाई घेरिरहेका अनि जथाभावी बोल्दै क्यामेरा खोस्न खोजिरहेका…! बीचमा म एक्लै ! उनीहरुले मलाई टाउकोमा काठले प्रहार गरे…कञ्चटमा हाने….भूइँमा लडाएर लात्तिले दिए….उफ्…! ज्यादै डरलाग्दो अनुभव थियो त्यो। अहिले यी शब्द लेखिरहँदा पनि टाउको र कञ्चटमा पीडा भइरहेको छ।

….चर्का नारा लगाउँदै गएका आन्दोलनकारीहरुमाथि उनीहरुले एक्कासी ढुंगाले आक्रमण गरे। त्यसपछि आन्दोलनकारीहरु तितरबितर भए। तितरबितर भएपछि ती मण्डले गुण्डाहरुले छानी-छानी उनीहरुलाई कुट्न थाले। कुटाइ पनि निकै डरलाग्दो। काठको ठूलो क्रिकेट ब्याट जस्तोले भूइँमा लडाएर ड्याम्म ड्याम्म। अनि एक जनाले त बडेमानको ढुंगा बजारेको पनि देखियो। दुई जनालाई त मेरै अगाडि ढालेका थिए। (more…)

December 13, 2005

मेट्रो एफएममा ‘मेरो संसार’

२०६२ मंसिर २८, मंगलबार
नेपाली सञ्चार माध्यमहरुमा पनि ब्लगको विषयमा बिस्तारै चर्चा हुन थालेको छ। सूचनाको वैकल्पिक स्रोतका रुपमा ब्लग साइटहरुलाई स्वीकार गर्न थालिएको छ। यसै क्रममा आज मेट्रो एफएमको आईटी सम्बन्धी एउटा कार्यक्रममा ब्लग साइटहरुलाई मुख्य विषयवस्तु बनाई कार्यक्रम प्रसारण भएको थियो। त्यसमा मेरो संसारको बारेमा पनि चर्चा भएको थियो र मेरो पनि टेलिफोनबाट प्रत्यक्ष अन्तर्वार्ता लिइएको थियो। यो मेरो दोस्रो अन्तर्वार्ता थियो। यसअघि कान्तिपुर टेलिभिजनमा मेरो सानो बाइट प्रसारण भएको थियो।
बिहान अचानक ब्लगसम्बन्धी इन्टरभ्यु दिनुपर्‍यो भनेर फोन आउँदा पहिला त छक्कै परेँ। कस्तो खालको इन्टरभ्यु भनेर सोध्दा इन्फर्मल कुरा हो भने पछि कुरा गर्न राजी भएँ। उसले सवा १२ मा कल गर्छु भनेर फोन राख्यो। म भने कस्तो कार्यक्रम रहेछ यो भन्दै रेडियोमा मेट्रो एफएम ट्युन गर्न थालेँ। एफएम सुन्ने बानी हराइसकेको छ आजभोलि मेरो। यसमा शाही सरकारको पनि कृपा छ। एफएममा सुन्ने भनेकै न्युज हो मैले। त्यो पनि कहिले बन्द हुने, कहिले खुला हुने भएपछि एफएममा समाचार सुन्ने बानी पनि हराइसकेको छ। त्यसैले मेट्रो एफएम खोज्नै गार्‍हो पर्‍यो। बल्ल बल्ल भेट्टाएँ। (more…)

November 25, 2005

च्याने अपडेटः फेरि पनि झुलाए पैसाको लागि

२०६२ मंसिर ५, आइतबार
केही दिनदेखि केही गर्नै मन लागेको छैन र झन्-झन् निराशावादी सोचले मनमा डेरा जमाउँदैछ। यस्तो अवस्थामा दिमागमा केही नभएकोले ब्लग पनि लेख्न विषय पाइरहेको छैन। आज भूतपूर्व अफिस च्यानल नेपालमा आफैले गरेको कामको पैसा लिन गएको थिएँ। यो आफ्नो बाँकी पारिश्रमिक लिने काम पनि अदालतमा तारिख धाउने काम जस्तो भएको छ। अवकाश दिइसकेपछि बाँकी रकम एकमुष्ट दिनुपर्ने हो तर हाम्रो त कतै नभएको चलन ! दुई हप्तामा एक चोटी पैसा दिने रे त्यही पनि ५ हजारमात्र। यो हिसाबले त मेरो बाँकी 66 हजार चानचुन उठाउन त महिनौं लाग्ने भयो….। त्यही ५ हजार भए पनि पाएको भए सभागृहमा भइरहेको पुस्तक प्रदर्शनीबाट केही पुस्तक किनी आनन्दले पढ्ने विचार थियो। तर त्यति पैसा पनि बाँड्दाबाँड्दै सकियो रे…! के भन्ने, के नभन्ने ? रित्तै फर्किनु पर्‍यो। च्यानल नेपालले अवकाश दिएको एक महिना नाघिसकेको छ। यी दिनहरु कसरी बिताएँ भनीसाध्य छैन। निकै गार्‍हो हुँदो रहेछ खाली समय बिताउन। साँझतिर च्याटमा भेटिएका एक साथीलाई मैले आफ्नो बारेमा बताएँ र लौ न यसको बारेमा एउटा डकुमेन्ट्री बनाउ भनेर जिस्किएँ। तर उ त गम्भीर पो भयो। अरु नेपाली पत्रकारहरुको दयनीय स्थितिलाई पनि समेटेर एउटा डकुमेन्ट्री बनाउने इच्छा मेरा ती पत्रकार साथीले देखाए। (more…)

November 11, 2005

“मेरो संसार”ले १ लाखको संख्या कटायो

२०६२ कात्तिक २५, शुक्रबार
चैतको अन्तिम सातातिर आफ्नै गन्थन आफ्नै लागि लेख्न थालेको मेरो संसार ब्लगले सात महिनामा नै एक लाख भिजिटर पाउँछ भनेर मैले त्यतिबेला कल्पना पनि नगरेको कुरा आज सुखद सत्यका रुपमा मेरो सामु आएको छ। प्रतिगमनलाई सघाउने गरी सर्वोच्चको फैसला आएकै दिन जुरेको यो स‍ंयोगको प्रतिकात्मक महत्त्वलाई आत्मसात गर्दै म नभएको कुरा लेख्दैन, देखेको कुरा छाड्दैन भन्ने मेरो आफ‌्नै ब्लगको सिध्दान्तलाई पालन गर्ने प्रतिवध्दता व्यक्त गर्दछु। (more…)

November 6, 2005

च्याने अपडेटः दिनभर पैसाको लागि झुलाए

२०६२ कात्तिक २० आइतबार
अपडेटः आज १० बजे एकाउन्टमा जाँदा १ बजे आउन भनियो। १ बजे जाँदा स्पेसटाइम नेटवर्कका टाउके हाकिम माथेमा बूढोले जमिम शाहसँग कुरा गर्दैछु २ बजे आउनु भनी भने। हामी बाहेक स्पेसटाइम नेटवर्कका निकालिएका कर्मचारीहरु पनि थिए त्यहाँ। उनीहरुमध्ये एक जना ११ वर्ष काम गर्दा पनि गोलाप्रथा भनेर निकालियो, तर त्यसमा दुःख लागेको छैन, पैसा चाहिँ हामीले पाउनु पर्ने पाउनु पर्‍यो भनी कराउँदै थिए। झुलाउने पारा हो भन्ने थाहा थियो तर पनि २ बजे गयौं। २ बजे जाँदा त बूढो बेपत्ता भइसकेको रहेछ। नेटवर्कका साथीहरुलाई सोध्दा उनीहरुले कारै रोकेका थिए रे पैसा नदिई जान पाउन्नौ भनेर। पछि बूढोले तिमीहरुकै काममा जान लागेको हो, लिस्ट बोकेको छु, पैसाको जोहो गर्नु परेन भनेर भन्दै थिए रे। अब उनी आउन्नन् भनेर हामी (मणी र मलाई) थाहा थियो। त्यसैले हामी कुर्ने मूडमा थिएनौं बरु भोलि आउने मूडमा थियौं। भोलि बिहान अर्का साथीहरु राधेश्याम र चिरञ्जीवी पनि साथै हुनेछन्। एकछिन त्यहाँ कुरा गरेर बस्यौं। नेटवर्ककाहरु पनि रिसाउँदै थिए, त्यत्रो २० दिन भइसक्दा पनि पैसा दिनुपर्छ भनेर मिलाएर राख्न सक्दैनन्, भिख मागे जत्तिकै गर्ने भयो ….हरुले। उनीहरुका त धेरै बाँकी छैन रहेछ लिन बाँकी १५-२० हजार मात्रै हो रे। एकछिन त्यहाँ कुरा गरेर हामी फेरि माथि एकाउन्टमा कति पैसा बाँकी रहेछ लिन भनेर हेर्न गयौं। बुझ्दा कर-सर काटेर कूल ७६ हजार ६ सय २५ रुपैया लिन बाँकी रहेछ उनीहरुको हिसाबमा। हाजिरीको हिसाब पठाउँदा दशैं तिहारमा गरेको अ‍ोभरटाइमको हिसाब पठाएनछन् सदीपमान सिंह भन्ने एउटा कर्मचारीले। भैगो, यत्ति पैसा उठाउन पाए त्यो दशैं तिहारमा गरेको अ‍ोभरटाइम दान भयो च्यानल नेपाललाई नै। अर्को स्पेसटाइमको २२५०० को त हिसाब नै छैन रहेछ। स्पेसटाइमको त लेखाशाखा पनि छैन अहिले त। त्यो पैसा उठाउन त झन गार्‍हो हुने भइसक्यो। मणीको भने हाजिरै कम पठाएछ, कराउनु पर्छ भन्दै रिसाउँदै अफिसतिर लागेको थियो। म भने घरतर्फ हिँडेँ। हेरौं, अब भोलि के हुन्छ ? भोलि पनि झुलाउने पारा निकाल्यो भने अलि गतिलै पाठ सिकाउनु पर्ला जस्तो छ। (815 pm NST)
मूल ब्लग केही दिनदेखि केही गर्ने मूड चलेको छैन। च्याने (च्यानल नेपाल)को जागीर चयट भएपछि दिन बिताउन गार्‍हो हुँदैछ। साथीले सानै उमेरमा अवकाश पाएर बोर भयो भनेर गरेको जोकको मर्म अहिले बुझिरहेको छु। खाली समय कटाउन मस्तसँग पडकास्टिङको परीक्षण र ब्लग गरियो। अब यो समयलाई जागिर खोज्न र अलि पैसा आउने कामतिर पनि लगाउनु पर्ने भएको छ। १५ दिनपछि हरहिसाब बुझ्न लेखाशाखामा सम्पर्क राख्नु भनेर अवकाश पत्रमा लेखिएको थियो। तर १५ दिनमा ठ्याक्कै तिहार पर्‍यो। तिहारमा दिदीबहिनीलाई दक्षिणा दिन पनि त्यो तलब काम आउन सकेन। तिहारपछिको अफिस खुल्ने दिन आज हामी अवकाशप्राप्तहरु बिहान साढे १० बजे लेखाशाखामा जाँदैछौं। हेरौं के हुन्छ ?






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.