January 12, 2006

नयाँ दिल्लीमा गणतन्त्रको पक्षमा प्रदर्शन हुने

नेपालमा लोकतान्त्रिक गणतन्त्रको पक्षमा भारतको राजधानी नयाँ दिल्लीमा एक महिनापछि फेब्रुअरी १२ मा विशाल प्रदर्शन हुने भएको छ। तर, भारतका प्रवासी नेपालीहरुको विभिन्न संगठनबीच मतभिन्नता रहेकोले सबै मिलेर संयुक्त प्रदर्शन गर्न लागेका भने हैन रहेछन्। दुःखलाग्दो कुरा !

मेरो ईमेलमा प्राप्त भएको नेपाली जनअधिकार सुरक्षा समिति, भारतका अध्यक्ष लक्ष्मण पन्तले जारी गरेको प्रेस विज्ञप्ति पढ्न भित्र आउनुहोला। (more…)

November 9, 2005

सुगरिका लागिन् सान्यातर्फ

फिलिपिन्सबाट रित्तो हात मिस नेपाल फर्स्ट रनर अप शभोना फर्केको केही दिनपछि मिस नेपाल सुगरिका केसी सान्या, चीनतर्फ लागेकी छिन्- मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न। सान्या लाग्नुअघि मंगलबार सुगरिकाले प्रेससँग भेटघाट गरेकी थिइन्। हाम्री मिस नेपालको आधिकारिक उमेर १९ वर्षमात्रै हो। मिस वर्ल्डको आधिकारिक साइटमा पनि त्यही लेखिएको छ। अब अरुले हामीलाई कति फटाहा भन्ने होलान् ! ५५ अ‍ौं मिस वर्ल्ड प्रतियोगिताको फाइनल चीनको सान्यामा डिसेम्बर १० मा हुँदैछ। नौ नोभेम्बर अर्थात् आजदेखि विश्वभरका सुन्दरीहरु त्यहाँ भेला हुनेछन्। मिस वर्ल्डको आधिकारिक साइटलाई दिएको अन्तर्वार्तामा विश्वको कुन ठाउँमा जान मन लागेको छ भनेर सोध्दा उनले अफ्रिकाको सहारा मरुभूमिको नाम लिएकी छिन्। (more…)

October 26, 2005

नाम चाहियो रे !

२०६२ कात्तिक ९, बुधबार
नाममा के छ र ? भनी सेक्सपियरले जति नै फलाके पनि मान्छेलाई नाम नभई हुन्न क्या रे। नामको महत्त्व त ठूलो पो छ त। मान्छेलाई मात्र हैन सबैथोकलाई नामको आवश्यकता हुन्छ। पार्टीलाई त नामको आवश्यकता हुने नै भयो। दरबारनिकट भनेर चिनिने तर हालका दिनमा दरबारकै सरकारको चर्को विरोध गर्दै हिँड्ने अनि मन्त्रिमण्डल पुनर्गठन भएमा आफू पनि मन्त्री बन्न सक्ने कुरा खुल्लमखुल्ला बताउँदै हिँड्ने केशरबहादुर विष्टले पनि नयाँ पार्टी गठन गर्दैछन्। त्यसका लागि नाम खाँचो परेर उनले आजको कान्तिपुर दैनिकमा विज्ञापन छपाएका रहेछन्। हाल उनको समूहको नाम राष्ट्रिय समस्या समाधानका लागि समान विचार रहेको छ। मलाई अचम्म लाग्यो, पार्टीको नामसमेत आफै जुराउन नसक्नेले कसरी त्यत्रो राष्ट्रिय समस्याको समाधान गर्लान् त खै ? जे होस्, पत्रिकामा विज्ञापन छपाएर दलको न्वारन गर्ने रेकर्ड भने उनले नै बनाउलान् जस्तो छ। तपाईँसित पनि नाम छ भने सुझाव दिइहाल्ने कि ? तर उत्कृष्ट नाम पठाउनेलाई पुरस्कारको व्यवस्था भने रहेनछ नि फेरि।

October 16, 2005

सिरीमा सिरी नि माइला

२०६२ असोज ३० आइतबार
पाँच दिन विदा बसेर आज पहिलो दिन अफिस पुगेँ। दसैंको ह्याङअ‍ोभर अझै सकिएको छैन काठमाडौंमा। अझै पनि बाटो सुनसान नै देखिन्छ। यसपालिको दसैं यत्तिकै बित्यो। दिनभर र राति अबेरसम्म कम्प्युटरमा टाँस्सिएर बस्दा आँखा नै कमजोर भएको जस्तो अनुभव भएकोले कम्प्युटरमा बस्न अलि कम गर्नुपर्ने महसूस गरिरहेको छु। विगत केही दिनदेखि पडकास्टिङका बारेमा अलि खोजबिन गर्ने काम गरिरहेको छु। त्यसैले नयाँ ब्लगका लागि खासै विषय पाइरहेको छैन। त्यसो त अहिले दसैंपछिका दिनमा समाचारहरु पनि खासै छैनन्। यत्तिकैमा इमेलमा कुमार लामा नामका ब्लग पाठकको मेल आइपुग्यो। त्यसमा एउटा प्यारोडी रहेछ। उहाँलाई म व्यक्तिगत रुपमा चिन्दिनँ। तर सार्‍है हँसीमजाकिया स्वभावको हुनुहन्छ जस्तो लाग्छ। सुरुमा पठाउनुभएको एउटा फोटो हेर्दा खुबै हाँसो उठेको थियो। उहाँ आफ्नो नाम पनि इमेलमा लेख्दा नन कुमार लामा भनेर लेख्नुहुन्छ। शायद आफू कुमार छैन भनेर झ्याली पिट्न यसो गर्नुभएको होला। आज उही नन-कुमार लामाको प्यारोडी पढ्न चाहनुहुन्छ भने भित्र आउनुहोला…… (more…)

October 7, 2005

‘मेरो सं‍सार’ले सरकारको साइट हल्लायो

२०६२ असोज २१ शुक्रबार
मेरो संसार सरकारी अधिकारीहरुको नजरमा पनि परेको छ भन्ने सुनेको मात्र थिएँ। तर आज प्रत्यक्ष प्रमाण देखियो। मंगलबार मैले राजाको निर्माण हुँदैछ भनी एउटा ब्लग लेखेको थिएँ। त्यसमा मैले राजाको व्यक्तिगत विवरण अपडेट गर्न ढिलाइ भइरहेको विषयमा कुरा उठाएको थिएँ। मेरो संसारले उठाएको कुरा तत्काल सम्बन्धित पक्षकहाँ पुगेछ र हिजो बिहीबार नै “निर्माण भइरहेको ” राजाको प्रोफाइल पूरा भएछ। यी हेर्नुस् न यहाँ क्लिक गरेर। गएको मंगलबारसम्म यो साइटमा यस्तो देखिएको थियो। राजा र रानीको प्रोफाइल हतार-हतार तयार पारेर राखिए पनि मैले त्यो ब्लगमा उल्लेख गरेका व्याकरणीय गल्ती भने अझै कायमै छन्। अनि रोचक कुरा, संसद अझै गायब नै छ।

समाचारभित्र लुकेका समाचार

२०६२ असोज २१ शुक्रबार

आज सरकारी समाचार एजेन्सी राससका केही समाचार देख्दा जनताले यस्तो महसूस गरे-

समाचारः श्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर बिक्रम शाहदेव तथा श्री ५ बडामहारानी कोमल राज्य लक्ष्मी देवी शाह पश्चिमान्चल विकास क्षेत्रको वस्तुस्थिति बुझिबक्सने सिलसिलामा बिहीबार पश्चिम क्षेत्रीय प्रहरी तालीम केन्द्रबाट बुटवल बसपार्क अगाडि रहेको लुम्बिनी अन्चल प्रशासन कार्यालयसम्म करिब ६ घण्टा पैदल सवारी होइबक्स्यो।

विचारः ए…ठीकै हो नि, हाम्रा राजारानी स्लिम भएर ह्यान्डसम देखिनु राम्रै हो नि। यसले मुलुककै इज्जत बढ्ने छ।

समाचारःश्री ५ महाराजाधिराज ज्ञानेन्द्र वीर विक्रम शाहदेवबाट जनसेवालाई नै मूलमन्त्र बनाएर कार्य गर्न जिल्ला विकास समितका सभापति र उपसभापतिहरूलाई निर्देशन बक्स भएको छ।

विचारः आम्मामा….हन यी मनोनीत सभापति उपसभापतिहरुले यतिञ्जेलसम्म कसको सेवालाई मूलमन्त्र ठानिबसेका रहेछन् हँ ? छानबिन आयोग गठन गर्नु परेन र भन्या। बाँकी (more…)

October 5, 2005

शुभकामना…. विजया दशमीको कि दशैंको ?

२०६२ असोज १९ बुधबार
Image Hosted by The Image Hosting
अहिले नेपालीहरुमा शुभकामना दिने लहर चलेको छ। नेपालीहरुको महान चाड दशैं मंगलबार घटस्थापनापछि अ‍ौपचारिक रुपमा सुरु भइसकेको छ। वातावरण दशैंमय हुन थालिसकेको छ। त्यसैले शुभकामना आदानप्रदानको क्रम पनि बढेको छ। तर, मैले एसएमएस, फोन र इमेलबाट पाएका ९० प्रतिशत शुभकामनामा विजयादशमीको शुभकामना दिइएको हुन्छ। हुनत शुभकामना भनेको दिनेको खुशी हो, यही शुभकामना ले भनेर भन्ने कुरा आएन। तर पनि मलाई लाग्छ मान्छेले नबुझेर विजयादशमी एक दिनको मात्र शुभकामना दिइरहेका छन्। जबकि पूरै दशैंको “थोक” शुभकामना दिन मिल्छ त्यही पाँच छ शब्दको प्रयोगबाट। फेरि हामी नेपालीहरु भारतीयहरु जस्तो विजयादशमीको दिनलाई मात्र चाडका रुपमा मान्दैनौं। हाम्रो लागि त पूरै दशैं चाड हो। हाम्रो लागि दशैं धर्मभन्दा पनि संस्कृति हो। घटस्थापनादेखि पूर्णिमासम्मको दिनलाई हामी दशैंका रुपमा मनाउँछौं। त्यसैले विजयादशमी एक दिनको लागि मात्र शुभकामना दिनुको सट्टा समग्र दशैंको शुभकामना दिन किन कञ्जुस्याइँ गर्ने, कि कसो साथी हो ? (तस्वीर साभारः परेवा डट कम)

October 4, 2005

काठमाडौंकी पूर्णिमा मिस नेपाल हङकङ


काठमाडौंकी १९ वर्षीया सुन्दरी पूर्णिमा गुरुङ (तस्वीरमा) हङकङमा आयोजित मिस नेपाल हङकङ उपाधि जित्न सफल भएकी छिन्। आइतबार राति अबेरसम्म भएको मिस नेपाल हङकङ २००५ मा धरानकी दीपा विश्वकर्मा फस्ट रनरअप र काठमाडौंकी अर्की सुन्दरी सुनिता थापाले भने क्रमशः फस्ट र सेकेण्ड रनर अपको उपाधि जितिन्।
जम्मा दश सुन्दरीले भाग लिएको यो प्रतियोगितामा कसैले पनि खाली हात घर फर्कनु परेन। हङकङमा नेपाली सुन्दरीहरुबीच सौन्दर्य प्रतियोगितमा भएको यो चौथौ अवसर हो। तर पछिल्लो चार वर्षसम्म यो प्रतियोगिता हुन सकेको थिएन।

काठमाडौंको युनाइटेड एकेडेमीमा १० + २ पास गरेर हङकङ आएकी पूर्णिमा हाल त्यहाँको एक व्यापारिक कम्पनीमा एकाउण्टेन्टको रुपमा कार्यरत छिन्। हङकङमा नेपालीहरुको उल्लेख्य संख्या रहेको छ। नेपालबाहिर नेपाली युवतीहरुबीच सौन्दर्य प्रतियोगिता पनि हङकङबाहेक अन्यत्र भएको समाचार आउने गरेको छैन। (more…)

October 1, 2005

ह्यापी बर्थ डे !


एक वर्षमा देखिएको अन्तरः युवराज्ञी हिमानी ३० अ‍ौं वर्ष प्रवेशको उपलक्ष्यमा राजदरबारबाट जारी आधिकारिक तस्वीर (बायाँ) र पोहोर जारी गरिएको तस्वीर ( दायाँ)।

संयोग भन्ने कि के भन्ने, सडकमा तारो बन्दै आएको छ विपक्षीहरुबाट राजा र राजपरिवारका सदस्यहरु तर युवराज्ञी हिमानीका विषयमा हालसम्म कुनै त्यस्तो नकारात्मक टिप्पणी सुनिएको मलाई थाहा छैन। यसरी हेर्दा राजपरिवारका सदस्यमध्ये सबैभन्दा लोकप्रिय युवराज्ञी नै देखिन्छन्। त्यसो त वीरेन्द्रको वंशनाशपछि राजपरिवारमा फोटोजेनिक, ग्ल्यामरस लुक भएका सदस्य नै युवराज्ञीमात्र बाँकी छन्। केही सदस्यको वजन त रामदेवको योगाले पनि घट्ला जस्तो देखिन्न। युवराज्ञीपछि अलि फोटोजेनिक देखिने भनेको राजा नै हुन् हँसिलो मुद्रामा हुँदा। तर आजभोलि त राजाको अनुहार देख्दा पनि कवि अर्जुन पराजुलीको एउटा कवितामा भनिएको पंक्ति “घोडाबाट लड्यौ कि क्या हो, मुण्टो पनि बाङ्गो बाङ्गो लाउँछौ” मात्र याद आउँछ….। आज युवराज्ञी ३० अ‍ौं वर्ष प्रवेशको उपलक्ष्यमा कति सय पो हो सदस्यीय जन्मोत्सव समिति बनाइएको छ र पैसाको खोलो बगाएर विभिन्न तडकभडकका कार्यक्रम गरिँदैछन्। त्यो आलोचनाको विषय होला तर पनि युवराज्ञीलाई शुभकामनाका दुई शब्द दिन कम्तीमा म कञ्जुस्याईँ गर्न चाहन्नः ह्यापी बर्थ डे !

September 23, 2005

राजाको ललितपुर भ्रमणमा यस्तो पनि भयो…

२०६२ असोज ७ शुक्रबार
राजाको हिजोको ललितपुर भ्रमणका क्रममा देखिएका केही रमाइला केही नरमाइला कुराहरुलाई यस ब्लगमा समेट्ने कोशिश मैले गरेको छु।
- बिहानैदेखि भ्रमणका कारण ललितपुर ठप्प थियो। सुरक्षा कडा थियो अनि सवारी साधन चलाउने अनुमति थिएन।

- भ्रमणमा सुरक्षा व्यवस्था मिलाउन कि किन हो, उपत्यकाका अधिकांश स्थानमा ल्यान्डलाइन टेलिफोनमा डायल टोनसमेत नआउने र मोबाइल वन वे भएको थियो। बाँकी (more…)

September 18, 2005

पद्मरत्न तुलाधर माअ‍ोवादी कमान्डर ?

२०६२ असोज २ आइतबार

भारतीय सञ्चारमाध्यमहरुले नेपालको विषयमा समाचार बनाउँदा कति हचुवाका भरमा बनाउँछन् भन्ने कुरा धेरै पटक देखिसकेको छ र भर्खरैको घटनाले त्यसलाई थप पुष्टि गर्ने काम गरेको छ। भयो के भने जी न्युजले बिहीबार र शुक्रबार गरी लगातार दुई दिनसम्म विहारको चुनावसम्बन्धी एउटा रिपोर्टमा नेपालका माअ‍ोवादीका कमान्डर प्रचण्ड भन्दै पद्मरत्न तुलाधरको तस्वीर देखायो। अ‍ोसामा बिन लादेनभन्दा बढी खोजी गरिएको व्यक्ति भनेर गफ हाँक्दै जी न्युजले धेरै अघि चुनाव प्रचारका क्रममा खिचेको रातो तारा भएको क्याप लगाएको तस्वीर (दायाँ राखिएको तस्वीर) देखाएको थियो। तुलाधरका अनुसार यसअघि भारतका तीन दैनिकले पनि प्रचण्ड भन्दै उहाँको तस्वीर छापिसकेको छ। तुलाधरले यस विषयमा भारतीय दूतावासलाई जानकारी दिएपछि दूतावासले जी न्युजलाई यसबारे स्पष्टिकरण मागेको भनी भारतीय सञ्चारमाध्यमहरुले नै लेखेका छन्।

यसअघि इन्डियन एयरलाइन्सको विमान अपहरण हुँदा पनि यसै च्यानलले गजेन्द्र ताम्राकार नामका एक नेपालीलाई अपहरणकारी भन्दै समाचार प्रसारण गरेको थियो। त्यतिबेलादेखि नै नेपालमा जी न्युज प्रतिबन्धित थियो। अहिले पनि काठमाडौंमा अधिकांश केबुल टेलिभिजनले यो च्यानल प्रसारण गर्ने गर्दैनन्। आउनुस् जी न्युजले गरेको गलत प्रचारका लागि उसलाई सचेत गराउँ यो इमेलमा विरोध पत्र पठाई inews@zeenetwork.com

September 16, 2005

कोफी अन्नानलाई मण्डलेहरुको ज्ञापन पत्र

२०६२ भदौ ३० बिहीबार
सात दलले संयुक्त राष्ट्रसंघका महासचिव कोफी अन्नानलाई वर्तमान सरकारका प्रतिनिधिलाई मान्यता नदिन ज्ञापन पत्र पठाएपछि तिल्मिलाएका मण्डलेहरुले आफ्नोतर्फबाट पनि एउटा ज्ञापन पत्र उहाँलाई पठाएको कुरा सरकारी समाचार एजेन्सी राससले आजको बुलेटिनमा दिएको छ। भन्नचाहिँ नेपालका १८ राजनीतिक दल भनेर भनिएको छ तर नाम पढ्नुभयो भने चाहिँ हाँसो उठ्न सक्छ। राससका अनुसार उक्त ज्ञापनपत्रमा नेपाल देशभक्त पार्टी महासचिव हीराबहादुर चन्द, नेपाल शान्तिक्षेत्र परिषद् पार्टी अध्यक्ष श्रीमती सुषमा शर्मा, बहुदलीय गठबन्धनका अध्यक्ष भीमनारायण शर्मा पौडेल, नेपाल राष्ट्रवादी प्रजातन्त्र पार्टी केन्द्रीय समिति सदस्य राजेन्द्रकुमार राई, नेपाल पञ्चायत प्रजातन्त्र पार्टी केन्द्रीय समिति सदस्य गोपालबहादुर कमली, नेपाली राष्ट्रिय कांग्रेसका अध्यक्ष नरेशजङ्ग राणा र जनमुक्ति पार्टी नेपालका उपाध्यक्ष श्रीमती लक्ष्मीदेवी तुलाधर, शिवसेना नेपालका अध्यक्ष अरुण सुवेदी, राष्ट्रवादी मिलन केन्द्र नेपालका अध्यक्ष गणेशबहादुर पाण्डे, नेपाल पार्टी अध्यक्ष लेखनाथ पौडेल, नेपाल बुद्धिजीवी परिषद्का केन्द्रीय समिति सदस्य खगेन्द्रराज ढकाल, मातृभूमि जनमोर्चाका केन्द्रीय समिति सदस्य टेकबहादुर थापा, समाजवादी प्रजातान्त्रिक पार्टी अध्यक्ष शान्ता चित्रकार, नेपाल सनातन पार्टी अध्यक्ष सुरेशप्रसाद पराजुली, दलित जनजाति पार्टी अध्यक्ष विश्वेन्द्र पासवान, राष्ट्रवादी मिलन केन्द्रका अध्यक्ष जयबहादुर खत्री, नेपाल राष्ट्रवादी सङ्घका मुख्य सल्लाहकार हेमबहादुर गुरुङ र राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ क्षेत्रीय सदस्य राजकुमार के.सी.ले हस्ताक्षर गरेका रे। जनाधार नभएका यस्ता दलहरुले कस्तो ज्ञापन पत्र बुझाएछन् त ? राससले पठाएको पूर्ण विवरण भित्र छ- (more…)

August 25, 2005

अहिले नै गणतन्त्रको नारा लगाइहाल्नु उचित हुँदैनः काँग्रेस

२०६२ भदौ ९ बिहीबार
नेपाली काँग्रेसको ११ अ‍ौं महाधिवेशन सुरु हुन अब ६ दिनमात्र बाँकी छ। यसक्रममा पार्टीबीच नयाँ नीति र कार्यक्रमका बारेमा बहस सुरु भएको छ। विधान संशोधनका लागि विधान संशोधन समितिका बैठकहरु पनि भइरहेका छन्। यसै सन्दर्भमा काँग्रेसभित्रका कुरा बुझ्न सजिलो होस् भन्ने अभिप्रायका साथ विधान संशोधन समितिमा महासमिति सदस्य लोकेश ढकालले प्रस्तुत गरेको सुझावका केही अंश यहाँ जस्ताको तस्तै प्रस्तुत गरिएको छ। यसमा उल्लेख विचारसँग मेरो संसारको सहमति-असहमतिको अर्थ छैन। न यसले मेरो संसार कुनै पार्टी विशेषसित नजिकिएको अर्थ नै निकाल्न मिल्छ। बाँकी (more…)

August 21, 2005

मूल्यवृध्दिको आन्दोलन चर्कियो

२०६२ भदौ ५ आइतबार

पेट्रोलियम पदार्थको मूल्यवृध्दिको विरोधमा अमृत साइन्स क्याम्पस र शंकरदेव क्याम्पस बाहिर भएको विरोध प्रदर्शनमा प्रहरी हस्तक्षेप हुँदा ३० विद्यार्थी घाइते भएका छन्। प्रहरीतर्फ पनि आधा दर्जन जति घाइते भएका छन्। विद्यार्थीले टायर र पुत्ला जलाएका थिए। प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार गरेको थियो। घाइते विद्यार्थीमध्ये ५ को अवस्था चिन्ताजनक भएको बताइएको छ। आज बसेको सात दलको बैठकले पनि प्रहरी हस्तक्षेपको विरोध गर्दै आन्दोलन चर्काउने निर्णय गरेको छ। (more…)

यसरी मनाइयो गाइजात्रा

२०६२ भदौ ४ शनिबार

गाइजात्रामा मैले राखेका गाइजात्रे समाचारलाई धेरैले साँच्चिकै समाचार ठानेछन्। हुन पनि यस्तो हुने अनुमान धेरैले गरेका थिए। तर मैले समाचार गाइजात्रे होलान् भनी चाल पाउन् भनी मास्टहेड उल्टो राखेको थिएँ र समाचार सूत्र पनि त्राजाइगा भनेर उल्लेख गरेको थिएँ। त्राजाइगा अर्थात् उल्टोबाट गाइजात्रा। एक मित्रले राजाबाट त्यस्तो घोषणा भएकोले विरोधस्वरुप लोगो उल्ट्याएको होला भन्ने ठानेछन् भने अर्का मित्रले चाहिँ ब्यान होला भन्ने डरले लोगो नबुझिने बनाएको होला भन्ने ठानेछन्। त्यसो त आज काठमाडौंमा प्रचण्डलाई गोली ठोकी मारियो भनी गाइजात्रे समाचार छापिएका पत्रिका साँच्चिकैको समाचार भन्ठानी खुब बिके। पत्रिका बेच्ने ठाउँमा मान्छेको भीड बढेको थियो। हकरहरु पनि उस्तै फेरि। आज काठमाडौंमा समलिङ्गीहरुले जुलुस निकाले। यसको फोटो फिचरका लागि भित्र आउनुस्। (more…)

August 14, 2005

पशुपतिमा विस्फोटका कारण आतंक

२०६२ साउन ३० आइतबार
पशुपतिमा आज एकाएक विस्फोट हुँदा आतंक मच्चियो। सुरुमा त के भयो भनी धेरैले थाहा पनि पाएनन्। भागाभाग भयो, तनावग्रस्त भयो पूरै क्षेत्र। पछि थाहा भयो, कालिकोटमा माअ‍ोवादी आक्रमणमा मारिएका धनबहादुर नामका एक सैनिकको दाहसंस्कार हुँदै गर्दा चितामा नै शव पड्किएको रहेछ। यसरी विस्फोट भएपछि आफन्त, मलामी र त्यहाँ उपस्थित अरुहरुमा भागदौड मच्चिएको रहेछ।
मृतकको शवको पेटभित्र ग्रिनेड राखिएका कारण त्यसरी विस्फोट भएको रहेछ। त्यो ग्रिनेड माअ‍ोवादीले नै शव लाँदा पडकियोस् भन्ने उद्देश्यले राखेको हुनसक्ने अनुमान गरिएको छ।

विदेश पुगेको नेपाली धरोहर

नेपाली कलाकृतिका यी अनुपम नमूना हाल विदेशी म्युजियमको शोभा बढाउन प्रयोग भइरहेका छन्। नेपालका ठूलै प्रभावशाली व्यक्तित्त्वहरु शामेल रहेको यो मूर्तिचोरी धन्दाले कति अमूल्य कृतिहरु विदेश पुर्‍यायो, त्यसको कुनै लेखाजोखा नै छैन। आजभोलि त आन्दोलन गर्ने नेताहरुले पनि मञ्चबाट मूर्तिचोर को? भनी हाकाहाकी प्रश्न सोध्न थालेका छन् र त्यसो गर्दा दर्शकहरुले पनि नामै किट्न थालेका छन्। हाम्रा एक पाठकले पठाउनुभएको यी तस्वीरहरु चाहिँ अमेरिकाको सन फ्रान्सिस्को एसियन आर्ट म्युजियममा राखिएको नेपालबाट चोरिएका मूर्तिहरुको हो। (more…)

August 12, 2005

भारतीय हतियारका कारण सेनाले क्षति भोग्नुपरेको

२०६२ साउन २८ शुक्रबार
कुरा सुरु गर्नु भन्दा पहिले केही भनाई जस्ताको तस्तै राख्ने अनुमति चाहन्छु

“माअ‍ोवादीविरुध्दको कारबाहीमा शाही नेपाली सेना प्रभावकारी हुन सकेको छैन। माअ‍ोवादीलाई तुरुन्तै नियन्त्रणमा लिन नसकिए त्यो दुर्भाग्यपूर्ण हुनसक्छ”
भारतीय रक्षामन्त्री प्रणव मुखर्जी, शनिबार
“भारतले उपलब्ध गराएको इन्सास हतियार छिट्टै तातेका कारण नै सैनिकहरुले बेस क्याम्प छाड्नु पर्ने स्थिति आएको हो”
शाही नेपाली सेनाका प्रवक्ता दीपक गुरुङ, आज आयोजित पत्रकार सम्मेलनमा (more…)

इन्टरनेटमा नेपाली यौन भिडियो

इन्टरनेटमा आजभोलि एउटा यौन भिडियोलाई नेपाली नाम दिएर खुबसित प्रचार गर्ने काम भइरहेको छ। अहिले विशेषतः भारतमा मोबाइलबाट आदानप्रदान हुने भिडियो अर्थात् एमएमएसको बाढी नै आएको छ। यसै क्रममा यो एमएमएसलाई नेपाली भिडियो भन्दै प्रचार भइरहेको छ। (भित्रका लिंक र तस्वीर वयस्कहरुले मात्र हेर्ने किसिमको भएकोले तपाईँलाई सुरु मै सचेत गराइन्छ) (more…)

August 11, 2005

गगन थापाको समर्थनमा जुलुस

२०६२ साउन २७ बिहीबार
Motorcycle
सरकारले राज्यविरुध्दको अभियोग लगाउन हिरासतमा राखिरहेका नेपाल विद्यार्थी संगठनका पूर्व महामन्त्री गगन थापाको रिहाइको माग गर्दै आज अपराह्न साढे ३ बजे नयाँ बानेश्वरबाट मोटरसाइकल र्‍याली निकालियो। थापाले हिरासतबाटै नेविसंघको आसन्न महाधिवेशनका लागि अध्यक्ष पदको उम्मेदवारीको घोषणा गरिसकेका छन्। तस्वीरः उमेश
थप तस्वीर (more…)

August 9, 2005

अमेरिकी राजदूतको कडा टिप्पणी

२०६२ साउन २५ मंगलबार
सरकारका माइक अर्थात् प्रवक्ताले आन्तरिक मामलामा बढी भएर बोल्ने हैन है भनेर बेलायती राजदूतलाई देश निकाला हुनसक्ने चेतावनी दिएको दुई दिन पनि बित्न नपाउँदै अमेरिकी राजदूत जेम्स एफ मोरिआर्टीले आज सरकारको विरोधमा कडा टिप्पणी गर्नुभएको छ। नेपाल-अमेरिका सम्बन्धका बारेमा आज राजधानीमा आयोजित संवाद कार्यक्रममा उहाँले गर्नुभएको भाषणको प्रमुख अंशका लागि भित्र आउनुहोला। (more…)

August 6, 2005

अडियो ब्लगः नागरिक समाजको भेला

२०६२ साउन २१ शुक्रबार
यो अडियो ब्लग पहिलेको भन्दा फरक छ। पहिलेका अडियो ब्लग अरु स्रोतबाट संकलित हुन्थे भने यसमा मैले आफैले कार्यक्रमस्थलमा रेकर्ड गरी आफैले उद्‍घोषण गरेर सम्पादनसहित प्रस्तुत गरेको छु। वास्तवमा मैले यसरी नै अडियो ब्लग गर्ने सोचाइ राखेको हुँ। कृपया यसलाई सुनेर आफ्नो प्रतिक्रिया लेखी पठाउन नभुल्नु होला। अडियो ब्लग डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्। (707kb)

August 5, 2005

सत्र साल भाग दुई

अर्जुन पराजुलीका चोटिला कविता
२०६२ साउन २१ शुक्रबार
आज आयोजित नागरिक भेलामा नागरिकबाट सबैभन्दा बढी वाहवाही पाएको कवि अर्जुन पराजुलीका केही चोटिला व्यङ्ग्य कविता…….अडियो सुन्न यहाँ क्लिक गर्नुस् (517 kb, wma format)

कुनै घरको भित्तो फोरिएन
कुनै मन्दिरको मूर्ति चोरिएन
कुनै बैंक लुटिएन
कुनै कालो सूचिमा परिएन
कुनै पुरुषलाई गोली ठोकिएन
कुनै महिलालाई बलात्कार गरिएन
अनि कसरी परिन्थ्यो मन्त्रिमण्डलमा ?
परिएन !
(वन्स मोर आएर दोहोर्‍याएर पढ्नु परेको कविता) बाँकी (more…)

August 4, 2005

महारानीले युवराजलाई चड्कन लगाउँदा…..

कति राजनीतिका मात्र कुरा गर्नु । त्यसो त आज पनि राजनीतिका कुरा कम छैनन्। प्रजातान्त्रिक काँग्रेसको भ्रातृ संगठन नेवि संघले साउन ३२ गतेसम्मका लागि नयाँ आन्दोलनको घोषणा गरेको छ। जसअन्तर्गत भोलि बिहीबार साढे नौ बजेदेखि आधा घण्टा चक्काजाम गरिँदैछ। यस क्रममा भोलि पक्कै प्रहरीसित भिडन्त हुनेछ होला। जेभए पनि भोलि भने छिट्टै अफिस जान निस्कनु पर्नेछ। नत्र बाटो जाम भएर कायल हुनसक्छ। बाँकी (more…)

August 1, 2005

नेपाली ब्लग जगतमा पहिलो आक्रमणः युडब्लुबी ह्याक

अपडेटः युडब्लुबी आज बिहानदेखि पुनः सुचारु भएको छ। (साउन १७)
नेपालको बहुचर्चित ब्लग साइट युनाइटेड वी ब्लगलाई अज्ञात समूहले आइतबार ह्याक गरेका छन्। आज एक फोरम साइटमा युडब्लुबीको साइट नखुलेको जानकारी बिहानै पाएको थिएँ। त्यतिबेला हेर्दा साइट खुलेको थिएन। अहिले राति हेर्दा भने युडब्लुबीका संस्थापकद्वय उज्ज्वल आचार्य र दिनेश वाग्लेले एउटा सूचना राखेका रहेछन् जसमा ब्राजिलका अन रुट क्र्यु नामको एक समूहले ह्याक गरेको हुनसक्ने आशंका व्यक्त गरिएको रहेछ। उनीहरुले ह्याक हुनुअघि आफूहरुलाई कुनै चेतावनी वा पूर्वसूचना नदिइएको दावी गरेका छन्। ह्याक गरिनुको पछाडि राजनीतिक कारण भएनभएको बारेमा आफूहरुलाई थाहा नभएको उनीहरुको दावी छ। लोकतन्त्रको आन्दोलनका लागि आफ्नो पक्षबाट महत्त्वपूर्ण योगदान दिइरहेको युडब्लुबीमाथिको आक्रमणको ‘मेरो संसार’ घोर निन्दा गर्छ र सर्वसाधारणलाई सत्य तथ्य सूचना दिने युडब्लुबीको प्रयासको सराहना गर्दै नेपाली ब्लग जगतमा भएको संभवतः यो पहिलो आक्रमणको विरोधमा आवाज राख्न सबै सहकर्मी ब्लगरहरुलाई पनि अनुरोध गर्दछ। (more…)

July 31, 2005

अडियो ब्लगः गगन थापा के भन्छन्?

२०६२ साउन १६ आइतबार
राज्यविरुध्द अपराध गरेको अभियोगमा विद्यार्थी नेता गगन थापालाई आज बयानका लागि सरकारी वकीलको कार्यालयमा उपस्थित गराइयो। उहाँलाई जिल्ला न्यायाधिवक्ताले बयान लिएका थिए। कार्यालय परिसरमा कुरा गर्दै गगन थापाले के भने? सुन्नका लागि यहाँ क्लिक गर्नुहोला। उनले आफूलाई आस्थाको बन्दीको त कुरै छाडौं, अरु बन्दीसरह पनि सुविधा नदिइएको बताए। (more…)

July 28, 2005

चर्कँदैछ विद्यार्थीको आन्दोलन

२०६२ साउन १३ बिहीबार
shoutingलाग्छ, गगन थापालाई गिरफ्तार गरेर सरकारले अरिङ्गालको गोलामा हात राखेको छ। आज बिहानैदेखि काठमाडौंका प्रमुख क्याम्पसहरु अगाडिको वातावरण तनावग्रस्त भएको थियो। ढुंगामुढा, टायर बाल्ने अनि राजतन्त्रविरोधी चर्का नाराबाजी। यो क्रम अब दिनहुँ जारी रहने जस्तो देखिएको छ।

आन्दोलनरत आठ विद्यार्थी संगठनले घोषणा गरेको अ‍ौपचारिक कार्यक्रम अनुसार शुक्रबार त्रिभुवन विश्वविद्यालयका भाइस चान्सलरकहाँ डेलिगेसन जाने, आइतबार देशभर कालो झन्डासहित विरोध र्‍याली गर्ने, सोमबार देशभरका शैक्षिक संस्थामा कालो झन्डा फहराउने र शुक्रबार पुत्ला जलाइनेछ। बाँकी (more…)

July 27, 2005

अडियो ब्लग

२०६२ साउन १२ बुधबार
नेपालबाहिरका पाठकहरुका लागि नेपालका अडियो समाचार पनि ब्लगमार्फत् दिन परीक्षणस्वरुप मैले आज यी केही अडियो क्लिपहरु राखेको छु। यसमा सुझावको अपेक्षा राखेको छु। यी क्लिप म आफैले स्थलगत रुपमा संकलन गरेको भने हैन। विभिन्न स्रोतहरु (च्यानल नेपाल, कान्तिपुर टेलिभिजन, इमेज मेट्रो, नेपाल वन आदि) बाट यसलाई संकलन र सम्पादन गरेर मैले प्रस्तुत गरेको हुँ। बाँकी (more…)

July 14, 2005

अनौठो बालकः टाउको मानवको शरीर सर्पको

२०६२ असार ३०, बिहीबार
अनौठो बालकः टाउको मानवको शरीर सर्पको
- एउटा अनौठो बालक जन्मिएछ।
- जन्मनेबित्तिकै बोल्न थालेछ।
- उसको टाउको मानवको र शरीर सर्पको रहेछ।
- गाउँलेहरुले त्यसलाई मार्न खोजेछन् तर उसले मलाई नमार म कसैलाई हानी गर्दिनँ। बरु मातापितालाई धनी बनाएर जान्छु भनेछन्। छ महिनामा म आफै मर्छु भनेछन्। म रानीपोखरीमा गएर बस्छु भनेछन्।
- युवराज पारसले उनलाई गएर भेटिसकेछन् तर उनले भने राजालाई भेटने माग गरिरहेका रहेछन्………………..
तपाईँहरुलाई थाहै होला, नेपाललाई हल्लैहल्लाको देश भनेर चिनिन्छ। हल्लाका कारण यहाँ ऋतिक रोशन कान्ड मच्चिन्छ। हल्लैका कारण राजपरिवारलाई दरबारबाट बाहिर आएर जनतालाई “दर्शन” दिन बाध्य बनाइन्छ। महिलाले पाइन्ट लगाउन नपाउनेदेखि लिएर पुरुषले लामो कपाल पाल्न नपाउनेसम्मका हल्ला फैलिन्छ यहाँ। यस्तै हल्लाका क्रममा हाल काठमाडौंमा तीब्र रुपमा फैलिरहेको हल्लाका केही अंश हुन् माथिका वाक्य। बाँकी (more…)

July 11, 2005

नेपालमा छुट्टी मनाउँदै हुनुहुन्छ ? छापामारदेखि सावधान

२०६२ असार २७, सोमबार
यो शीर्षक छापेको छ आज प्रकाशित प्रतिष्ठित पत्रिका इन्टरनेसनल हेराल्ड ट्रिब्युनले। न्युयोर्क टाइम्सका सोमिनी सेन गुप्ताद्वारा लिखित उक्त समाचार फिचरको शीर्षकले नेपालमा पर्यटक आगमनमा असर पार्ने जस्तो देखिए पनि वास्तवमा फिचर भने त्यस्तो एकपक्षीय पनि छैन। सन्तुलित रुपमा यसले सकारात्मक नकारात्मक दुवै कुरा उजागर गरेको छ।
फिचरको सुरुवात २३ वर्षीया अस्ट्रेलियाली पर्यटक आम्बर म्यानर्सको नेपाल भ्रमणको अनुभवबाट गरिएको छ। काठमाडौं उपत्यका बाहिर जानुअघि उनलाई खुबसित तर्साइएछ, बाटोमा कतै माअ‍ोवादी छापामार भेटिए उनीहरुले जे भन्छन् त्यसै गर्नू। उनीहरुले बसबाट अ‍ोर्लन भने पनि अ‍ोर्लनू। किनकि उनीहरुले बस जलाए भने पनि तिमीलाई पहिला झर्न भन्नेछन्। यात्राका क्रममा उनले बाटोमा पाँचवटा बस जलेको अवस्थामा पनि देखिछिन्। ट्रेकिङको तेस्रो दिन उनले छापामारहरुलाई पनि भेट्छिन् तर उनले सोचेको जस्तै गरी हैन। बाँकी (more…)






















Get free blog up and running in minutes with Blogsome | Theme designs available here

hit counters
Domestications
Advertisement text: credit card, device used to obtain consumer credit at the time of purchasing an article or service. Credit cards may be issued by a business, such as a department store or an oil company, to make it easier for consumers to buy their products. Alternatively credit cards may be issued by third parties, such as a bank or a financial services company, and used by consumers to purchase goods and services from other companies. There are two types of cards—credit cards and charge cards. Credit cards such as Visa and MasterCard allow the consumer to pay a monthly minimum on their purchases with an interest charge on the unpaid balance.