January 23, 2006

कर्फ्यु र निषेधाज्ञा हटाइयो, मोबाइल सुचारु

Filed under: Breaking News

अपडेट@9pm NST: मोबाइल सेटमा टावर देखाउँदैमा मोबाइल खुल्यो भनेर मख्ख परेको त के खाएर हुनु नि, मेरो प्रिपेड त अझै खुलेको छैन रहेछ। पोस्टपेडमात्रै खुलेको रहेछ। अब प्रिपेड खोल्न नानाथरिका नाटक गर्ने हुन् कि खुरुक्क खोल्ने हुन्, त्यो भने कथित “विष्णुका अवतार”लाई नै थाहा होला।

अपडेट@8pm NST: दूरसञ्चारको मोबाइल फोन सुचारु भएको छ। निजी क्षेत्रको मेरो मोबाइल र युटिएल भने अहिलेसम्म सुचारु भएको छैन।

२०६२ माघ १० सोमबार @ 7 pm NST
थानकोटमा माअ‍ोवादीहरुले आक्रमण गरेपछि माघ ३ गतेदेखि चक‌्रपथभित्र लगाइएको कर्फ्यु र शान्तिपूर्ण सभा र जुलुसमाथि लाग्दै आएको प्रतिबन्ध निषेधाज्ञा आज सोमबारदेखि हटाइएको छ। काठमाडौं र ललितपुरका प्रजिअहरुले यससम्बन्धी सूचना जारी गरेका हुन्। रत्नपार्कजस्ता प्रमुख स्थानहरुमा लाग्दै आएको निषेधाज्ञा भने कायमै छ। त्यसैगरी गिरफ्तार कयौं नेता, कार्यकर्ता र मानवअधिकारवादीहरु पनि थुनामा नै छन्। मोबाइल र वायरलेस टेलिफोन पनि खोलिएको छैन।

January 21, 2006

काठमाडौंमा अकल्पनीय तनाव

(EXCLUSIVE Video Footage inside)
२०६२ माघ ८, शनिबार
अपडेटः सात दलले माघ १३ गते नेपाल बन्दको अ‍ौपचारिक घोषणा गरेका छन्। आज कर्फ्यु एक घण्टा घटाएर राति १० बजेदेखि गरिएको छ।
हिजोको शान्तिपूर्ण प्रदर्शनदेखि डराएर कर्फ्यु लगाउने निरंकुश सरकारले आज जनताको शक्ति देखिरहेको छ। काठमाडौं अकल्पनीय रुपमा तनावग्रस्त छ- विशेष गरी सात दलले सभा गर्ने भनेको स्थल बसन्तपुर र त्यस वरपर। बसन्तपुरलाई सेना, सशस्त्र र जनपद प्रहरीको संयुक्त टोली लागेर नियन्त्रण गर्न खोज्दा पनि असफल भइरहेको छ। त्यसैगरी न्युरोड, इन्द्रचोक, खिचापोखरी क्षेत्रहरु पनि तनावग्रस्त छन्। बसन्तपुरमा सयौं अश्रुग्यास प्रहार गर्दा पनि नियन्त्रणमा लिन सकिएको छैन। बसन्तपुरको अश्रुग्यासले जीवित देवी कुमारीको आँखामा पनि आँसु बगेको हुनुपर्छ। हामी पत्रकार लगायत सर्वसाधारणलाई त्यता जान दिइएको छैन। ठाउँठाउँमा प्रहरी-प्रदर्शनकारी भिडन्त भइरहेको छ। ६० कटिसकेका वृध्दाहरु सडकमा गणतन्त्रका नारा लगाउँदैछन्। मानवअधिकारवादी र पत्रकारहरुलाई पनि चुटिएको छ। त्यसको विरोधमा पत्रकार र मानवअधिकारवादीहरुले प्रहरीलाई घेरिरहेका छन्। टायर बालिएका छन्। ढुंगा हानेर प्रहरीलाई टाढाटाढासम्म खेदिएका छन्। म आफ्नो क्यामेराको मेमोरी कार्ड सकिएर मात्रै घर फर्केको हुँ। अझै पनि त्यहाँको स्थिति तनावपूर्ण नै छ। संयुक्त सुरक्षाफौजलाई त्यहाँको स्थिति नियन्त्रणमा लिन धौधौ भइरहेको छ। यससम्बन्धी केही EXCLUSIVE VIDEO FOOTAGE हरु राखेर म फेरि त्यहाँ जाने विचारमा छु। भिडियो हेर्न भित्र आउनुहोला। (more…)

January 19, 2006

शाही सरकारद्वारा भोलि दिनभर कर्फ्यु घोषणा

Filed under: Breaking News

२०६२ माघ ६, बिहीबार @ 915 pm NST
भर्खरै नेपाल टेलिभिजनमा दिइएको सूचना अनुसार माघ ७ गते बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म कर्फ्यु घोषणा गरेर निरंकुश सरकारले शान्तिपूर्ण सभालाई बिथोल्न चरम कायरता प्रदर्शन गरेको छ। अब भोलि शुक्रबारको दिन रक्तपात चाहिँ नहोस्, यही कामना गर्नुपर्छ। कर्फ्यु चक्रपथभित्र घोषणा गरिएको हो। यसैबीच अपुष्ट समाचार अनुसार सात दलले ८, ९ र १० गते तीन दिन बन्दको घोषणा गरेका छन्। यसैगरी भोलि दिल्लीमा लोकतन्त्रको पक्षमा प्रदर्शन हुने भएको छ।

राजधानीमा बिहानैदेखि प्रदर्शन

Filed under: Breaking News

चोकचोक र गल्लीगल्लीमा शाही नेपाली सेना र सुरक्षाकर्मीहरुको बाक्लो उपस्थितिका बीच राजधानीमा बिहीबार बिहानैदेखि प्रदर्शनहरु भइरहेका छन । विभिन्न चोक, गल्लीहरु र क्याम्पसहरुमा प्रदर्शन जारी रहेको छ । सुरक्षाकर्मीको आँखा छल्दै प्रदर्शन भइरहेको जानकारी प्राप्त भएको छ । (more…)

कम्तीमा दुई सय नेता पक्राउ

२०६२ माघ ६ बिहीबार
सरकारले बिहीबार बिहानैदेखि राजनीतिक दलका नेता, कार्यकर्ता एवं नागरिक अधिकारकर्मीहरुलाई व्यापक घरपकड गरेको छ । राजनीतिक दलका केन्द्रीय नेतालगायत दर्ुइ सय भन्दा बढीलाई गिरफ्तार गरिसकिएको बुझिएको छ । पक्राउ परेकाहरुलाई सशस्त्र प्रहरी मुख्यालय हल्चोक, २ नम्बर सशस्त्र प्रहरी गण महाराजगंज र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा राखिएको छ ।
text
एमाले नेता प्रदीप नेपाललाई दिइएको पूर्जी। फोटो साभारः नेपाल इन्फो
बाँकी पढ्न भित्र आउनुस्।
(more…)

पडकास्टः दर्जनौं नेता तथा कार्यकर्ता गिरफ्तार

२०६२ माघ ६ गते बिहीबार
निरंकुश सरकारले दर्जनौं नेता तथा कार्यकर्तालाई गिरफ्तार गरेको छ। एमाले महासचिव माधव नेपालको घरमा बिहान खानतलासी गरिएको छ। शीर्ष नेताहरुलाई पक्राउ, नजरबन्द गरिएको छैन। मानवअधिकारवादी नेता कृष्ण पहाडी, नागरिक आन्दोलनका अगुवा डा देवेन्द्र राज पाण्डे, श्याम श्रेष्ठ गिरफ्तार छन्। यो पडकास्टमा केही शीर्ष नेताहरुको प्रतिक्रिया सुन्न सक्नुहुनेछ। यसलाई सुन्न यहाँ क्लिक गर्नुस्। डाउनलोड गर्न यहाँ क्लिक गर्नुस्।

शाही सरकारको आतंकको पराकाष्ठा, टेलिफोन, मोबाइल बन्द

Filed under: Breaking News

२०६२ माघ ६, बिहीबार

शाही सरकारको आतंकले पराकाष्ठा नाघेको छ। टेलिफोन र मोबाइल फोनको सम्पर्क आज बिहानदेखि विच्छेद गरिएको छ। नेपालमा अधिकांशले डायल अपबाट इन्टरनेट चलाउने हुनाले इन्टरनेट पनि बन्द भएको जस्तो भएको छ।

(अपडेट बिहान सवा ८): टेलिफोन चल्न थालेको छ तर मोबाइल भने अझै बन्द नै छ। एनटीसी र मेरो मोबाइल दुवै बन्द छन्। एक पाठकले मूल्याङ्कन मासिकका सम्पादक श्याम श्रेष्ठ आज बिहान आफ्नै निवासबाट गिरफ्तार भएको कमेन्टमा लेखेका छन्, यद्यपि यसको पुष्टि मैले गर्न सकेको छैन। (more…)

January 16, 2006

चक्रपथभित्र शान्तिपूर्ण जुलुस, सभामा समेत रोक

अधिकाशं नगरपालिकामा अनिश्चितकालीन कर्फ्यु

कर्फ्युको घेराभित्रबाट पहिलो पडकास्टः सुन्नलाई यहाँ क्लिक गर्नुस्। यसमा काठमाडौं र ललितपुरको चक्रपथ क्षेत्रभित्र कुनै पनि किसिमका धर्ना, जुलुस, सभा गर्न नपाइने भनी नेपाल टेलिभिजनबाट प्रसारित सूचना पनि सुन्न सकिन्छ।

२०६२ माघ ३ सोमबार
(820 pm NST) काठमाडौं र ललितपुरको चक्रपथभित्रका क्षेत्रमा भोलिदेखि अर्को सूचना जारी नभएसम्म शान्तिपूर्ण सभा र जुलुस गर्न समेत रोक लगाइएको समाचार भर्खरै नेपाल टेलिभिजनबाट प्रसारण भएको छ। यसअघि अनिश्चित कालका लागि राति ११ बजेदेखि बिहान ४ बजेसम्म कर्फ्यु लाग्ने सूचना पनि जारी गरिएको थियो। त्यसैगरी गृह मन्त्रालयले माघ ७ गते हुन लागेको सात दलको सभामा भाग नलिनु भनेर सूचना जारी गरेको थियो। (more…)

January 14, 2006

माअ‍ोवादीद्वारा थानकोटमा आक्रमण

२०६२ माघ १, शनिबार
अपडेट (1251 am NST) भित्र भिडियो अपलोड गरिएको छ। थानकोटमा ११ र दधिकोटमा ३ प्रहरीको मृत्यु भएको भनिएको छ। माअ‍ोवादीको आधिकारिक साइटले कृष्णसेन अनलाइनले भने दधिकोटमा १० प्रहरीको मृत्यु भएको दावी गरेको छ। दुवै द्वन्द्वरत पक्ष प्रोपागण्डामा व्यस्त छन्। त्यसैले स्वतन्त्र पुष्टि नभएसम्म उनीहरुको दावीको अर्थ रहँदैन।

अपडेट (930pm NST) थानकोटमा एक प्रहरी निरीक्षकसहित ११ जना प्रहरीको मृत्यु भएको पुष्टि भएको छ। थानकोट र दधिकोटबाहेक काठमाडौंका बौध्द, कीर्तिपुर, ललितपुरमा पनि शृङ्खलावध्द विस्फोट भएको समाचार छ। लोडसेडिङका कारण बत्ती निभेको बेला रेकर्ड गरिएको यो अर्को पडकास्ट सुन्नुस्।

अपडेट (715 NST) थानकोटमा कम्तीमा ६ जना प्रहरीको मृत्यु भएको घटनास्थलमा रहेका कान्तिपुर टेलिभिजनका संवाददाता दीपक भट्टराईले जनाएका छन्। अडियो सुन्नुस्।

ढाडमा टेकेर टाउकोमा प्रहार गर्ने भन्ने नयाँ रणनीति बोकेका माअ‍ोवादीहरुले आज घाँटीमा आक्रमण गरेका छन्। तुलसी गिरीले ढाड भाँचिसक्यो भनेका माअ‍ोवादीहरुले काठमाडौँ प्रवेश गर्ने प्रमुख नाका थानकोटस्थित प्रहरी चौकीमा अहिले साँझ आक्रमण गरेका छन्। ईकान्तिपुरका अनुसार माअ‍ोवादीहरुले चेकपोस्टमा आक्रमण गर्नुअगाडि बम विस्फोट गराएका थिए। नेपालन्युजका अनुसार प्रहरीतर्फ केही हताहती भएको छ। नेपालन्युजले भक्तपुरको दधिकोटमा पनि माअ‍ोवादीहरुले अहिले साँझ आक्रमण गरेको जनाएको छ। (more…)

December 2, 2005

माअ‍ोवादीले एक महिना युध्दविराम बढाए

२०६२ मंसिर १७
माअ‍ोवादीहरुले एक महिनाका लागि युध्दविराम अवधि बढाएका छन्। प्रचण्डको विज्ञप्ति हेर्न भित्र आउनुहोला। (more…)

November 27, 2005

सरकारको तानाशाही चरित्र, रेडियो सगरमाथाको प्रसारण बन्द

Filed under: Breaking News

२०६२ मंसिर १२, आइतबार
अपडेट ३ हिरासतमा रहेका पत्रकारहरुलाई तुरुन्त रिहा गर्नु पर्ने माग राख्दै मंसिरको जाडोमा मध्यरातमा सयभन्दा बढी पत्रकार र मानवअधिकारवादीहरुको समूहले जिल्ला प्रहरी कार्यालय अगाडि नाराबाजी गरिरहेका छन्। हिरासतमा रहेका पत्रकारहरुलाई भेट्न दिइएको छैन। त्यहाँ कुनै नेताहरु भने हालसम्म देखिएका छैनन् रे। (1130pm)
अपडेट २ पक्राउमा परेका पाँच जनामध्ये एक जना पत्रकार दुर्गा कार्कीलाई छाडिएको छ। बाँकी तीन पत्रकार दीपकबाबु अर्याल, पुण्य भण्डारी, दीपकराज पाण्डे र एक जना टेक्निसियन राजेन्द्र रिजाल अझै जिल्ला प्रहरी कार्यालय, ललितपुरमा नै हिरासतमा रहेका छन्। (1030pm)
अपडेट १ रेडियो सगरमाथालाई तानाशाही सरकारले बन्द गराएको छ। उक्त रेडियोलाई दिइएका दुई पत्रमा एउटामा आतंककारी र आतंकवादलाई प्रोत्साहन पुग्ने गरी कार्यक्रम प्रसारण गरेकोले अर्को आदेश नहुञ्जेल प्रसारण रोक्का गर्न आदेश दिइएको छ भने अर्कोमा प्रसारण उपकरण अनुसन्धानका लागि लग्ने व्यहोरा उल्लेख छ। (10 pm)
सरकारले फेरि एकपटक आफ्नो तानाशाही चरित्र नाङ्गो रुपमा देखाएको छ। आज रेडियो सगरमाथा १०२.४ एफएममा सुरक्षाकर्मीले कारबाही गरी प्रसारण सामाग्री सबै जफत गरेका छन् र साथमा पाँच जनालाई पनि गिरफ्तार गरिएको छ। रेडियो सगरमाथामा बीबीसी नेपाली सेवा रिले प्रसारण हुने गर्छ। आज नेकपा माअ‍ोवादीका अध्यक्ष प्रचण्डको अन्तर्वार्ता प्रसारण हुनु ठीकअघि रेडियोको प्रसारण रोकेर धुन बज्न थालेको थियो। हाल रेडियो प्रसारण पूर्ण बन्द हुन पुगेको छ। बाँकी केही बेरपछि (930 pm NST) (more…)

October 18, 2005

सुशील कोइराला काँग्रेसका उपसभापति मनोनीत

Filed under: Breaking News

चुनाव हारेका भ्रष्टाचारी गोविन्दराज जोशी पनि केन्द्रीय सदस्यमा मनोनीत
२०६२ कात्तिक १, मंगलबार
नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालाले आफ्ना अनन्य भक्त तथा आफ्नै नातेदार सुशील कोइरालालाई उपसभापति मनोनीत गर्नुभएको रहेछ। आज उहाँले विधान अनुसार १८ केन्द्रीय समिति सदस्य पनि मनोनीत गर्नुभएको छ। मनोनीत सदस्यहरुको सूची हेर्दै जाँदा भ्रष्टाचारीका रुपमा बदनाम गोविन्दराज जोशीको पनि नाम देखियो। जोशी केन्द्रीय सदस्यको निर्वाचनमा हारेका थिए। काँग्रेसको विधानमा केन्द्रीय समितिमा आधा सदस्यमात्र निर्वाचित हुने र बाँकी सभापतिले मनोनयन गर्ने प्रावधान रहेको छ। सुशील कोइराला भने निर्वाचनमा सबैभन्दा बढी मत ल्याउने उम्मेदवार थिए। उनले आफूलाई रामचन्द्र पौडेलसँगै सह-महामन्त्री बनाइएकोमा घुर्की देखाउँदै राजीनामा दिएका थिए। आफ्नी छोरी सुजाता कोइरालालाई भने उहाँले अन्तर्राष्ट्रिय सम्बन्ध विभागको प्रमुख बनाउनुभएको छ। बाँकी (more…)

October 11, 2005

अर्को वर्षभित्र संसदीय निर्वाचन गर्न राजाको आदेश

Filed under: Breaking News

२०६२ असोज २५, मंगलबार

राजाले अर्को वर्ष अर्थात् २०६३ सालभित्र प्रतिनिधि सभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई आदेश दिएका छन्। विजया दशमीको उपलक्ष्यमा राजाबाट देशवासीका नाममा जारी भएको सन्देशमा उक्त कुरा उल्लेख छ। सन्देशमा अधिराज्यभरिका नगरपालिकाहरूको निर्वाचन सम्पन्न भएपछि स्वभावतः सिर्जना हुने उपयुक्त अवस्थालाई सुदृढ गरी २०६३ सालभित्र प्रतिनिधिसभाको निर्वाचन गराउन निर्वाचन आयोगलाई निर्देशन दिएको उल्लेख छ। राजाले निर्वाचनको सम्पूर्ण प्रक्रिया मर्यादित, स्वच्छ र धाँधलीरहित ढंगमा सम्पन्न गराउन प्रजातन्त्रमा निष्ठा राख्ने अन्तर्राष्ट्रिय समुदायलाई पनि सक्रिय सहयोग गर्न आह्वान गरेका छन्। दलहरुले माघमा घोषणा गरिएको नगर निर्वाचन बहिस्कार गर्ने बताइरहँदा राजाले भने सन्देशमा बालिग नेपालीहरूको सामूहिक विवेकलाई सम्मान गर्न बहुदलीय प्रजातन्त्रमा निष्ठा राख्ने सबैले घोषणा भइसकेको महानगरपालिका, उपमहानगरपालिका र नगरपालिकाहरूको निर्वाचनमा सहभागी भएर प्रजातन्त्रको हितमा योगदान दिनुपर्ने उल्लेख गरेका छन्।

राजाबाट विजयादशमी २०६२ को शुभउपलक्ष्यमा देशवासीका नाममा बक्सेको सन्देशको पूर्ण विवरणका लागि भित्र आउनुहोला- (more…)

October 9, 2005

नगर निर्वाचनको मिति घोषणा

Filed under: Breaking News

२०६२ असोज २३ आइतबार
दशैंको मौका छोपेर दलहरुले बहिस्कार गर्ने भन्दाभन्दै पनि निर्वाचन आयोगले आज नगरपालिका निर्वाचनको मिति घोषणा गरेको छ। नगरपालिकाको निर्वाचनका लागि मतदान यही माघ २६ गते हुने निर्वाचन आयोगले जनाएको छ। क्यालेन्डर पल्टाएर हेर्दा बुधबार, फेब्रुअरी ८ तारिखमा पर्ने रहेछ त्यो दिन। निर्वाचन कार्यक्रम भने माघ १३ गतेदेखि नै सुरु हुने रहेछ। राजाको नयाँ वर्षको शुभकामना सन्देशमा यसै वर्षभित्र नगरपालिका निर्वाचन गराउने कुरा उल्लेख थियो। आन्दोलनरत सात दलले भने निरंकुश सरकारले गराउने कुनै पनि निर्वाचनमा भाग नलिने बताउँदै आएका छन‌्।

सरकार भने भाग लिनेलाई खुला, नलिनेलाई भाग लिइदिनुपर्‍यो महाराज भनेर पछि नलाग्ने बताउँदै आएको थियो। अन्ततः निर्वाचन घोषणा भयो। दलहरुले निर्वाचन बहिस्कारमात्र नगरी बिथोल्ने नै भनी आन्तरिक तयारी गरिरहेको सुनिएको छ। उता, माअ‍ोवादीहरुले घोषणा गरेको तीन महिने युध्दविराम पनि मंसिर १८ गतेबाट अन्त्य हुनेछ। माअ‍ोवादीहरु त सुरुदेखि नै निर्वाचनको विरोधी रहँदै आएका छन्। तत्कालीन देउवा सरकारले माअ‍ोवादीकै कारण समयमा चुनाव गराउन नसक्ने भन्दै धारा १२७ लागू गर्न राजामा सिफारिश चढाएका थिए। निर्वाचनको घोषणा भएपछि दल र माअ‍ोवादी निर्वाचन बिथोल्नतिर र सरकार जसरी भए पनि निर्वाचन गराउनतिर लाग्ने भएकोले बीचमा पिल्सिने भनेका जनता नै भएका छन्।

September 28, 2005

भारतीय नेताहरुमाथि ढुंगामुढा

Filed under: Breaking News

२०६२ असोज १२ बुधबार
राजा र राजाका मन्त्रीहरुले देशमा विदेशी चलखेल बढेको आरोप लगाइरहेका बेला नेपालको लोकतान्त्रिक आन्दोलनमा ऐक्यवध्दता जनाउन आज काठमाडौं आएका भारतीय नेताहरुलाई सहायक मन्त्री निक्षशमशेर राणाको देशभक्त संघ नेपाल नामको मण्डलेहरुको जमातले ढुंगामुढा र कालो झण्डा देखाएको खबर छ। ढुंगामुढाबाट खासै क्षति भने भएन। भारतीय नेताहरु आएपछि देशमा वैदेशिक हस्तक्षेपको विषयमा लामै र चर्काचर्की बहस हुने निश्चित देखिएको छ। अझ ती नेताहरुले सात दलको विरोध प्रदर्शनमा सहभागी भई सम्बोधनसमेत गर्ने कार्यक्रम रहेको छ। विदेशी हस्तक्षेप र राष्ट्रियताको कुरा उठेपछि कुनै पनि पार्टीले भारतीय नेताहरु आफूहरुको निमन्त्रणामा नआएको, उनीहरु स्वेच्छिक रुपमा आएको बताउन थालेका छन्। तर प्राप्त जानकारी अनुसार नेपाली काँग्रेसका नेताहरुको पहलमा उनीहरु नेपाल आएका हुन्। यसैबीच भारतीय नेताहरुले आज साँझ साढे पाँच बजे ठमेलको होटल मनास्लुमा नेपाली काँग्रेसका सभापति गिरिजाप्रसाद कोइरालासित भेट गर्दैछन्। आज आएका भारतीय नेताहरुमा भारतीय कम्युनिष्ट पार्टी मार्क्सवादीका पोलिटव्युरो सदस्य सीताराम यचुरी ,काँग्रेस आईका सांसद रविशंकर साहु , भारतीय कम्युनिष्ट पार्टी केन्द्रीय कार्यकारी सचिव डी राजा, समाजवादी आन्दोलनका वरिष्ठ नेता तथा पूर्व सांसद सुरेन्द्र मोहन र भारतीय राष्ट्रिय काँग्रेसका महासचिव डी पी त्रिपाठी रहेका छन्। भारतीय सरकार र राजनीतिलाई प्रभावमा पार्न सक्ने यी नेताहरु सत्तासीन दल र विपक्षी दलसँग सम्बद्ध छन्।

September 5, 2005

राजा अमेरिका नजाने ?

Filed under: Breaking News

२०६२ भदौ २० सोमबार @ 1224 NST
संयुक्त राष्ट्रसंघको महासभामा भाग लिनका लागि राजा न्युयोर्क नजाने भएका छन्। तर यो समाचारलाई आधिकारिक रुपमा पुष्टि भने गरिएको छैन। (Update 4 pm NST: पुष्टि भइसक्यो, थप जानकारी का लागि यहाँ जानुस्)त्यसो त राजा जाने भनेर पनि घोषणा भएको थिएन। यद्यपि पछिल्ला घटनाक्रमलाई हेर्दा राजा अमेरिका नजाने कुरामा मलाई भने विश्वास लागेको छ। राजा अमेरिका जानुअघि देशमा राजनीतिक घटनाक्रम तीव्र रुपले विकास भइरहेका छन्। अमेरिकामा बस्ने नेपालीहरुले विशाल विरोध प्रदर्शनको तयारी गरिरहेका छन् भने नेपालमा पनि नागरिक समाजले राजा अमेरिका जाने दिन बाटोमा सुतेर भए पनि बाटो छेक्नुपर्छ भन्दै विरोध प्रदर्शनको तयारी गरिरहेका छन्। माअ‍ोवादीहरुले एकतर्फी युध्दविराम गरेका छन् र दलहरुले आन्दोलन चर्काएका छन्। अमेरिकी राष्ट्रपतिले पनि राजालाई नभेट्ने कुरा आएका छन्। राजा जाने भनिएको जर्मनीमा पनि नेपालीहरुले कालो झन्डा देखाउने तयारी गरेका छन्।
[Update: 6 Septmeber आज प्रकाशित कान्तिपुरले पनि यो समाचार प्रकाशित गरेको छ। मेरो संसारले पहिलो पटक यो समाचार सार्वजनिक गरेको हो]

September 3, 2005

माअ‍ोवादीद्वारा एकतर्फी युध्दविरामको घोषणा

Filed under: Breaking News

२०६२ भदौ १८ शनिबार @ 12:45 NST
नेकपा माओवादीले आज शनिवार भदौ १८ गतेदेखि तीन महिनासम्म एकतर्फी युद्धविरामको घोषणा गरेको छ। माओवादी अध्यक्ष प्रचण्डले आज एक वत्तव्य प्रकाशित गर्दै आफ्‍नो तफबाट एकतर्फी युद्धविरामको घोषणा गरेका हुन्। वक्तव्यको पूर्ण पाठका लागि भित्र आउनुस्। (more…)

September 1, 2005

गिरिजा काँग्रेसका सभापति निर्वाचित

Filed under: Breaking News

२०६२ भदौ १६, बिहीबार@ 715 pm NST
नेपाली काँग्रेसको हाल जारी ११ अ‍ौं महाधिवेशनमा गिरिजाप्रसाद कोइराला अत्यधिक बहुमतका साथ विजयी हुनुभएको छ। प्राप्त समाचार अनुसार कोइरालाले १२१५ मत प्राप्त गरेका छन् भने गणतन्त्रवादी नेताका रुपमा परिचय बनाएका नरहरी आचार्यले १६५ मत मात्र प्राप्त गरेका छन्। कोइरालाको विजय सुनिश्चित नै भए पनि नरहरी आचार्यले ५०० को हाराहारीमा मत ल्याउँछ भन्नेहरु हाम्रै अफिसमा धेरै थिए। तर मैले भने ५०० भन्दा कम नै ल्याउँछ भनिरहेको थिएँ। यति कम मत ल्याउलान् भन्ने त मैले पनि सोचेको थिइनँ। केन्द्रीय सदस्यका १८ स्थानका लागि भएको निर्वाचनको मतगणना भइरहेको छ। यसको परिणाम राति १० बजेसम्ममा आउने बताइएको छ। १८ सदस्यका लागि ७८ जनाले उम्मेदवारी दिएका थिए।

August 29, 2005

काँग्रेसले विधानबाट राजतन्त्र हटायो

Filed under: Breaking News

….तर गिरिजाले निर्णय उल्ट्याउन सक्ने

२०६२ भदौ १३ सोमबार
नेपाली काँग्रेसको हाल जारी केन्द्रीय कमिटीको बैठकले अहिले केही बेरअघि आफ्नो विधानबाट संवैधानिक राजतन्त्र शब्दलाई हटाउने अ‍ौपचारिक निर्णय गरेको छ। नेपालको राजनीतिमा काँग्रेसको यो निर्णयलाई निकै महत्त्वका साथ हेरिएको छ। काँग्रस स्थापना कालदेखि नै संवैधानिक राजतन्त्रको पक्षपाती रहँदै आएको थियो। प्रथम जननिर्वाचित वीपी कोइरालाको सरकारलाई राजा महेन्द्रले कू गर्दा पनि काँग्रेस राजतन्त्रको विरुध्दमा खनिएको थिएन।
काँग्रेसले हिजोदेखि बसेको केन्द्रीय कमिटीको बैठकमा यससम्बन्धी छलफल गर्न थालेको हो। बैठकमा अधिकांशले रामचन्द्र पौडेलद्वारा प्रस्तुत विधानबाट राजतन्त्र शब्द हटाउने प्रस्तावको समर्थन गरेका भए पनि शैलजा आचार्य र गिरिजा निकटका नेताहरुले यसको विरोध गरेका थिए। हिजो कुनै सहमतिमा पुग्न नसकेको बैठक आज बिहान पनि सहमतिमा पुग्न नसकेपछि एक पटक स्थगित भएको थियो र पुनः बसेको बैठकले यस्तो निर्णय गरेको हो। शैलजा आचार्यले निर्णयको विरोधमा नोट अफ डिसेन्ट लेख्दै बैठक बहिस्कार गरेकी छन्।
बैठकले गरेको निर्णयलाई पार्टी सभापति गिरिजाप्रसाद कोइरालाले उल्ट्याउन पाउने छन्। यसो गर्न पाउने गरी निर्णय गरिएको सूत्रहरुले बताएका छन्। यी पंक्ति लेख्दासम्म बैठक जारी छ। अहिले बैठकले राजतन्त्रको ठाउँमा उपयुक्त शब्द राख्नका लागि शब्दको खोजी भइरहेको बताइएको छ। सेरेमोनियल मोनार्कीलाई काँग्रेसले स्वीकार्ने संभावना बताइएको छ। महाधिवेशनबाट पारित भए पछि मात्र संवैधानिक राजतन्त्र हटाउने निर्णय कार्यान्वयन हुनेछ। (1230pm NST)

August 22, 2005

एम्बुस विस्फोटमा ४ प्रहरी र १ सर्वसाधारण मारिए

२०६२ भदौ ६ सोमबार
राजा सुदूरपश्चिमाञ्चल र मध्यपश्चिमाञ्चल विकास क्षेत्रको वस्तुस्थिति बुझ्न आज त्यसतर्फ सवारी हुने तयारी गरिरहँदा माअ‍ोवादीहरुले पश्चिमको बुटवलमा एम्बुस विस्फोट गराई चार प्रहरी र एक सर्वसाधारणको ज्यान लिएका छन्। घटना मणिग्रामस्थित राममणि बहुमुखी क्याम्पसनजिकै भएको र उनीहरु क्याम्पसमा हुन लागेको बीबीएसको परीक्षाको सुरक्षाका लागि त्यतातर्फ गएको बताइएको छ। उनीहरु सबै बुटवलस्थित इलाका प्रहरी कार्यालयमा कार्यरत थिए। मारिने एक सर्वसाधारणको सनाखत हुन सकेको छैन। एम्बुस विस्फोटका कारण प्रहरी भ्यान पूर्ण रुपमा क्षतिग्रस्त भएको छ। थप समाचारका लागि परेवामा जानुस्।

August 14, 2005

गगन थापालाई मुक्त गर्न विशेष अदालतको आदेश

Filed under: Breaking News

२०६२ साउन ३० आइतबार
नेपाल विद्यार्थी संगठनका पूर्व महामन्त्री गगन थापालाई साधारण तारेखमा रिहा गर्न अहिले साँझ विशेष अदालतले आदेश दिएको छ। दुई साताअघि राज्यविरुध्दको अभियोग लगाउन उनलाई प्रहरीले हिरासतमा लिएको थियो।

August 5, 2005

मोबाइल र टेलिफोन सेवा फेरि अवरुध्द

Filed under: Breaking News

२०६२ साउन २१, शुक्रबार
काठमाडौंका सबै मोबाइल टेलिफोन र केही ल्यान्डलाइन टेलिफोन सेवा आज बिहानदेखि अवरुध्द भएको छ। अवरुध्द हुनुको कारण केही बताइएको छैन।
आज बिहानै घरबाट टेलिफोन गर्न खोज्दा अचम्मैसँग टेलिफोनमा लाइन हुने तर डायल टोन नहुने भइरहेको थियो। पछि अफिसमा आएर टेलिकममा सोध्दा ३ को लाइन सबै बिग्रेको बताइयो। कारण भने बताइएन। त्यसैगरी काठमाडौंभरका मोबाइल टेलिफोनमा पनि नेटवर्क देखाउने तर कल गर्न र रिसिभ गर्न नहुने भइरहेको छ।
ल्यान्डलाइनमा ३ को बाहेक अरु नम्बरका लाइनहरु भने सुचारु नै छन्।
अपडेटः बन्द भएका मोबाइल र ल्यान्डलाइन टेलिफोन सुचारु भएका छन्। (बिहान १११५)

July 26, 2005

देउवालाई २ वर्ष कैद सजाय

Filed under: Breaking News

भ्रष्टाचार नियन्त्रण शाही आयोगले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन मन्त्री प्रकाशमान सिंहलाई मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै दुई वर्ष कैद र ४ करोड ५० लाख रुपैया जरिवानाको सजाय अहिले केही बेरअघि सुनाएको छ। (BREAKING NEWS on 3:43pm NST)
भ्रष्टाचार नियन्त्रण शाही आयोगले पूर्व प्रधानमन्त्री शेरबहादुर देउवा र तत्कालीन मन्त्री प्रकाशमान सिंहलाई मेलम्ची खानेपानी आयोजनामा भ्रष्टाचार गरेको ठहर गर्दै दुई वर्ष कैद र साढे ४ करोड रुपैयाँ जरिवाना र सोही बमोजिमको रकम बिगो असुल उपर गर्ने निर्णय अहिले केही बेरअघि सुनाएको छ।
तत्कालीन सचिव टीकादत्त निरौला र मेलम्ची आयोजनाका प्रमुख ध्रुवबहादुर श्रेष्ठलाई पनि सोही बराबरको रकम र बिगो असुल उपर गर्ने फैसला भएको छ।
फैसलाको विरोधमा प्रजातान्त्रिक काँग्रेसका कार्यकर्ताहरु आयोग परिसरमा भेला भएका छन्। त्यहाँ तनाव उत्पन्न भएको र झडप हुनसक्ने बताइएको छ। उहाँहरुलाई आजै जेल चलान गर्ने तयारी भइरहेको छ। देउवालाई गत वैशाख १४ गते मध्यरातमा उहाँकै निवासबाट र सिंहलाई पनि वैशाख ५ गते उहाँकै निवासबाट शाही आयोगले अनुसन्धानका लागि हिरासतमा लिएको हो। (Update: 415pm NST)
कुरा बुझ्दा शेरबहादुर देउवा, प्रकाशमान सिंह, टीकादत्त निरौला र ध्रुवबहादुर श्रेष्ठ प्रत्येकलाई कूल नौ करोड जरिवाना र दुई वर्ष कैदको फैसला भएको रहेछ। आयोजनाका इञ्जिनीयर दीपककुमार झा र ठेकेदार जीपछिरिङ लामालाई भने जनही एक वर्ष जेल सजाय र जरिवाना र बिगो गरी कूल साढे ४ करोड सजाय सुनाइएको रहेछ।

July 15, 2005

मन्त्रिपरिषद् पुनर्गठन

Filed under: Breaking News

राजावादी, मण्डले र दलका विद्रोही नेताहरु समावेश
२०६२ असार ३०, बिहीबार
अन्ततः बहुचर्चित मन्त्रिपरिषद् पुनर्गठन आज रातिको साइट पारेर घोषणा गरिएको छ। यसअघि चर्चामा आएसरह राजावादी, दलका विद्रोही नेताहरु र मण्डलेको रुपमा जनमानसमा छवि बनाएकाहरुलाई मन्त्रिपरिषद्‍मा समावेश गरिएको छ।
सबैभन्दा मोज भएको छ सद्‍भावना पार्टीका अध्यक्ष बद्रीप्रसाद मण्डललाई। असोज १८ को शाही घोषणादेखि पटक-पटक बनेका सरकारहरुमा उनलाई मन्त्री बन्ने सौभाग्य प्राप्त भएको छ। मंगलबारमात्रै जनआस्था साप्ताहिकमा राजाले उनलाई राजनीतिमा नाटक गर्नुपर्छ भनेर भनेको समाचार छापिएको थियो र अन्ततः नाटकै जस्तो गरी फेरि उनलाई मन्त्री बनाइयो। वरियताक्रममा उनलाई उपाध्यक्षद्वयपछिको ठाउँ दिइएको छ। दिनु पनि पर्‍यो नि, उपप्रधानमन्त्री भइसकेको मान्छे। बाँकी (more…)

July 11, 2005

माअ‍ोवादी वार्ताका लागि तयार

Filed under: Breaking News

माअ‍ोवादी अध्यक्ष प्रचण्डले सात राजनीतिक पार्टीलाई वार्ताका लागि आधिकारिक टोली गठन गरी आफूसित वार्ता गर्न आज जारी वक्तव्यमा आह्वान गर्नुभएको छ। वक्तव्यको पूर्ण पाठ भित्र छ। (more…)

June 29, 2005

सिंहदरबारभित्र शक्तिशाली विस्फोट

Filed under: Breaking News

२०६२ असार १५ बुधबार
काठमाडौँको मुटु मानिने सिंहदरबारनजिकै अहिले केही समयअघि दिउँसो १ ४२ मा ठूलो विस्फोटको आवाज सुनिएको प्रत्यक्षदर्शीहरुले बताएका छन्। विस्फोटको आवाज निकै टाढासम्म सुनिएको र धुँवाको मुस्लो पनि उठेको देखिएको बताइएको छ। विस्फोटका बारेमा विस्तृत विवरण आउन बाँकी छ। (13:50pm NST)
भर्खरै प्राप्त समाचार अनुसार विस्फोट सेनाको सिंहदरबारभित्र रहेको मध्य पृतनाको सशस्त्र भण्डारमा भएको र घटनामा सात जना घाइते भएको थाहा भएको छ। घाइते मध्ये दुई जनाको अवस्था चिन्ताजनक भएको बताइएको छ। घटनाको आधिकारिक पुष्टि हुन बाँकी छ। (14:07pm NST)
अन्तिम अपडेटः शाही सेनाको जनसम्पर्क निर्देशनालयका अनुसार घटनामा १० सैनिक सामान्य घाइते भएका छन्। सिंहदरवारभित्रको शाही सेनाको रासन स्टोरमा विद्युतीय सर्ट सर्किटका कारण भएको आगलागीबाट खाना पकाउने ग्यास विस्फोट भएको बताइएको छ।

June 24, 2005

नेपाली माअ‍ोवादीले भारतमा पनि आक्रमण गरे

Filed under: Breaking News

२०६२ असार १० शुक्रबार
नेपालका माअ‍ोवादीहरुले अब भारतमा पनि आक्रमण गर्न थालेका छन्। भारतको एक सीमावर्ती गाउँमा नेपाल र भारतका माअ‍ोवादीहरुले संयुक्त रुपमा नियोजित आक्रमण गरेको दाबी भारतीय प्रहरीले आज गरेको छ। बाँकी (more…)

June 22, 2005

नोबल एकेडेमीमा बम विस्फोट

Filed under: Breaking News

२०६२ असार ८ बुधबार
काठमाडौंको नयाँ बानेश्वरस्थित एभरेस्ट होटलपछाडि रहेको नोबल एकेडेमीमा अहिले एकैछिन अगाडि अर्थात् राति ८ बजे बम विस्फोट भएको छ। १० जोड दुईसम्मको अध्ययन हुने उक्त निजी शैक्षिक संस्थाको कम्पाउन्डबाहिरको सानो गल्लीबाट अज्ञात व्यक्तिहरुले सुतली बम प्रहार गरेका थिए। विस्फोटका कारण विद्यालय परिसरमा सानो खाल्डो परेको छ र त्यहाँ रहेका विद्यालयका केही गाडीका शिशा फुटेका छन्। साथमा वरपर रहेका घरका शिशा पनि फुटेका छन्। विस्फोट कसले, किन गराएको भन्ने बारेमा केही थाहा हुन सकेको छैन। माअ‍ोवादीहरुले तीन स बन्द भनी शैक्षिक संस्था बन्द अभियान चलाएका छन्। शायद उनीहरुले नै पो यसो गराएका हुन् कि !

June 20, 2005

खोटाङ सदरमुकाममा माअ‍ोवादी आक्रमण

Filed under: Breaking News

२०६२ असार ६ सोमबार
अपडेटः घटनास्थलमा १३ सुरक्षाकर्मी र ३ माअ‍ोवादीको शव बरामद भएको बताइएको छ तर संख्याको अ‍ौपचारिक पुष्टि भने हुन बाँकी छ। केही सरकारी कर्मचारीलाई पनि अपहरण गरी लगिएको थाहा भएको छ।
दोस्रो अपडेटः पाँच सुरक्षाकर्मी र दुई माअ‍ोवादीको मृत्यु भएको आधिकारिक रुपमा पुष्टि भएको छ। सैनिक जनसम्पर्क निर्देशनालयलाई उद्धृत गर्दै नेपाल टेलिभिजनले दिउँसो २ बजेको समाचारमा बताएअनुसार घटनामा दुई जनपद र तीन सशस्त्रका गरी पाँच प्रहरी र दुई माअ‍ोवादीको मृत्यु भएको छ। बेपत्ता हुनेहरुका बारेमा वक्तव्यमा कुनै उल्लेख छैन। वक्तव्यमा जिल्ला कारागारबाट ६३ बन्दी र उनीहरुका ३ बालबालिकालाई माअ‍ोवादीहरुले भगाएको पनि उल्लेख गरिएको छ। वक्तव्यमा माअ‍ोवादीहरुले गरेको आक्रमण प्रयासलाई सुरक्षाफौजले “विफल” पारेको र हाल त्यहाँ व्यापक सर्च अभियान थालिएको पनि उल्लेख छ।
मूल समाचारः माअ‍ोवादी छापामारहरुले खोटाङको सदरमुकाम दिक्तेलमा आइतबार राति आक्रमण गरेका छन्। सुरक्षाकर्मी र माअ‍ोवादीबीच राति साढे ११ बजेदेखि आज बिहानसम्म भिडन्त भएको बताइएको छ। घटनास्थलमा सात प्रहरीको शव बरामद भएको र करिब १२ प्रहरी बेपत्ता रहेको बताइएको छ। माअ‍ोवादीका दुई शव घटनास्थलमा फेला परेको बताइएको छ। माअ‍ोवादीहरुले सदरमुकामका विभिन्न सरकारी कार्यालयहरुमा आगजनी गरी जिल्लाका कारागारबाट करिब ६६ कैदीलाई छुटाएर लगेका छन्।
घटनास्थलतर्फ तप सुरक्षा बल पठाइसकिएको तर त्यहाँ सञ्चार सम्पर्क हुन नसकेको बताइएको छ। छिमेकी देश चीनको सिन्ह्‍वा समाचार समितिले यस सम्बन्धी समाचार सम्प्रेषण गरिसक्दा पनि सरकार नियन्त्रित नेपाल टेलिभिजनमा भने यससम्बन्धमा बिहान ११ बजेको समाचारमा कुनै समाचार दिइएको छैन। समाचारमा श्री ५ को भ्रमणलाई नै मुख्य समाचारका रुपमा प्रसारण गरिएको छ।
घटनास्थलतर्फ थप सुरक्षाबल पठाइसकिएको भए पनि सञ्चार सम्पर्क यी हरफ लेखिँदासम्म कायम हुननसकेकाले थप विवरण पाउन गार्‍हो भइरहेको बताइएको छ।
प्राप्त पछिल्लो समाचार अनुसार, माअ‍ोवादीहरुले जिल्ला प्रशासन कार्यालय, जिल्ला अदालत लगायत छ सरकारी भवनलाई बम विस्फोटन गराएर ध्वस्त पारेका छन्।
सात संसद्‍वादी दलहरुसित सहकार्य गर्न तयार रहेको र निशस्त्र व्यक्तिमाथि भौतिक आक्रमण नगर्ने भनी माअ‍ोवादी अध्यक्ष प्रचण्डले वक्तव्य जारी गरेकै दिन माअ‍ोवादीले यो आक्रमण गरेका हुन्। संसद्‍वादी दलहरुले माअ‍ोवादीलाई हिंसा त्यागी मूलधारको राजनीतिमा आउन आग्रह गरिरहेका छन्।

June 13, 2005

एसएलसीको नतिजा सार्वजनिक

Filed under: Breaking News

२०६२ जेठ ३0
बाजी ठोकेर भन्छु यो ब्रेकिङ न्युज हो। अहिले मेरो घडीमा रातिको साढे ११ मात्र बज्दैछ र मेरो हातमा एसएलीको पूरा नतिजा हात परिसक्यो। एसएलसीको नतिजा राखिने भनिएको एनटीसीको साइट हेर्दै थिएँ। पहिलो पृष्ठमा नै एसएलसीको नतिजा चाँडै आउने भन्दै सूचना राखिएको रहेछ। त्यहाँ गएर हेर्दा http://www.ntc.net.np/slc/slc2061_soon.php भन्ने ठेगाना रहेछ। मैले पनि अलि चलाखी गरेँ र त्यो soon लाई हटाएर http://www.ntc.net.np/slc/slc2061.php मात्र राखेर हेरेँ। अनि त के छ र पूरा नतिजा हात परिहाल्यो नि। बिचरा पत्रकारहरु नतिजा घोषणा होला भनी सानो ठिमीमा रुंगिरहेका होलान् रातभर। पोहोर त दुई तीन बजे घोषणा गरेको थियो रे। तर कसले टप ल्याएको भन्ने चाहिँ यसबाट हेर्न नमिल्ने रहेछ। त्यो चाहिँ सानो ठिमीबाटै घोषणा हुन्छ होला। म त सुतेँ। सुत्नुअघि आधिकारिक घोषणा हुनुअघि नै मैले कमनसेन्स युज गरेर पत्ता लगाएको नतिजाका लिंकहरु
डिस्टिङ्कसन
पहिलो डिभिजन
दोस्रो डिभिजन
तेस्रो डिभिजन